काठमाडौँ : त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंख्लाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ । जितका लागि नामिबियाले प्रस्तुत गरेको दुई सय सात रनको लक्ष्य पच्छाउने क्रममा नेपाल १८ दशमलव पाँच ओभरमा सवै विकेट गुमाउदै एक सय ८६ रनमा समेटियो ।
सुरुआती ब्याटिङ कमजोर रहेको नेपालले मध्यक्रममा भने केही सम्हालिएर ब्याटिङ गरे पनि जित निकाल्न भने सकेन । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३२ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ४८ रन बनाए ।
त्यसैगरी कप्तान रोहितकुमार पौडेलले ४२ रन बनाए । उनले तीन चौका र तीन छक्का प्रहार गरे ।
तेस्रो विकेटका लागि कप्तान पौडेल र कुशल मल्लले २८ बलमा ५७ रनको उत्कृष्ट साझेदारी गरेका थिए । मल्लले ३२ रन बनाए । त्यस्तै गुलशन झाले १२ रन बनाए भने आसिफ शेख र विवेक यादवले समानले छ÷छ रन जोडे । सन्दीप जोराले पाँच रन बनाए ।
नामिबियाका रुबेन ट्रम्पलम्यानले चार विकेट लिए भने बर्नार्ड स्कोलज, निकोल लोपफटी इटन र जान फ्रिलिङकले समान दुई÷दुई विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ राजेको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाउदै दुई सय ६ रनको योगफल बनाएको थियो ।









