दैलेख : दैलेखमा यस वर्ष पाँच हजार बढी विद्यार्थीले एसइई परीक्षामा सहभागिता जनाउने भएका छन् । यहीँ चैत १५ गतेदेखि सञ्चालन हुन लागेको एसइईमा यहाँका ११ वटा स्थानीय तहबाट पाँच हजार २ सय ५७ जना विद्यार्थीले सहभागिता जनाउने भएका हुन् ।
यस वर्ष दैलेखमा २५ वटा परीक्षा केन्द्रबाट एसइई सञ्चालन हुने जिल्ला शिक्षा विकास तथा समन्वय इकाई दैलेखका निमित्त कार्यालय प्रमुख रतन विष्टले बताए । उनका अनुसार यस वर्ष साधारणतर्फ चार हजार ८ सय ५५, प्राविधिकतर्फ एक सय ४६ र ग्रेड वृद्धितर्फ दुई सय ५६ गरी पाँच हजार २ सय ५७ जना विद्यार्थीको एसईई परीक्षामा सहभागिता रहने भएको हो ।
दैलेखमा यस वर्ष एसइई दिने पाँच हजार २ सय ५७ जना विद्यार्थी मध्ये पाँच हजार १ जना नियमित तर्फका छन् भने ग्रेड वृद्धितर्फका दुई सय ५६ जना रहेका छन् । साधारणतर्फ परीक्षामा सहभागी हुनेमा छात्र दुई हजार २ सय ४६ र छात्रा दुई हजार ६ सय ९ जना रहेका छन् । प्राविधिक धारतर्फ छात्र ८३ जना र छात्रा ६३ जना रहेका छन् ।
यस वर्षको एसइई परीक्षामा ग्रेड वृद्धितर्फ छात्र एक सय ३८ जना र छात्रा एक सय १८ जनाले परीक्षामा सहभागिता जनाउने निमित्त इकाई प्रमुख विष्टले जानकारी दिए । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष २५ जना, सहायक केन्द्राध्यक्ष ३४ जना, निरीक्षक २ सय ६२ जना, परीक्षा सायक ४९ जना र कार्यालय सहयोगी १ सय ३ जना गरी चार सय ७३ कर्मचारी खटिने जनाइएको छ ।
चैत १५ गतेदेखि २३ गतेसम्म साधारणतर्फको परीक्षा सञ्चालन हुने निमित्त इकाई प्रमुख विष्टले जनाए । उनले थप दुई दिन चैत २४ र २५ प्राविधिक धारतर्फको परीक्षा सञ्चालन हुने बताए । प्राविधिक धारतर्फको परीक्षा वसन्त माध्यमिक विद्यालय किमुगाँउ र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय दुल्लुमा सञ्चालन हुने छ ।
यस्तै, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी पूरा भएको जनाएको छ । यस वर्षको एसइई परीक्षाका लागि देशभर दुई हजार ५७ वटा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले जानकारी दिए ।
यस वर्ष देशभरबाट भन्डै पाँच लाख जना विद्यार्थी एसइईमा सहभागी हुनेछन् । परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र ७६ वटा जिल्लाका प्रहरी कार्यालयमा पठाइसकेको र काठमाण्डौ जिल्लामा परीक्षाको अघिल्लो दिन मात्रै पठाउने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।
नयाँ लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा आएकोले यस वर्षदेखि सबै बिषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याइकन कक्षा ११ मा भर्ना हुन पाइने छैन । प्रयोगात्मकतर्फ ४० प्रतिशत अंक ल्याउनैपर्छ । ३५ अंक ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने छन् ।











