दैलेख पेट्रोल अन्वेषण रिग हाउस निर्माण तीव्र १० ट्रक आउन बाँकी

दैलेखः दैलेखमा सुरु हुन लागेको पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम ड्रिलिङका लागि रिग हाउस निर्माणको काम तीव्र पारिएको छ । जलजले आइपुगेका १ सय ४० ट्रकमा आएका सामानहरूको व्यवस्थापन सँगै रिग हाउस निर्माणको कामले तीव्रता पाएको हो । रुपैडिया नाकाबाट आउनुपर्ने १ सय ५० ट्रकहरू मध्ये १४० ट्रक जलजले आई पुगेका छन् । बाँकी दश वटा ट्रक आएसँग सामान जडानको काम लगत्तै मुख्य ड्रिलिङ कार्य सुरु हुने खानी तथा भू भर्व विभागका पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेश नापीतले जानकारी दिएका छन् ।

दैलेखको भू–भागमा रहेको पेट्रोलियम पदार्थ कति परिमाणमा छ भनेर पत्ता लगाउन अन्तिम अन्वेषणको कामका लागि जलजलेमा ४ किलोमिटर ड्रिलिङ गर्न रिग हाउस निर्माणको काम सुरु गरिएको छ । निकै ठुला र धेरै तौल भएका सामानहरूको व्यवस्थापनका लागि जलजलेमा तीन वटा क्रेनको प्रयोग गरेर निर्माण कार्य सुरु गरिएको छ । मुख्य केन्द्र मानिएको जलजलेमा करिब ३० मिटर उचाइमा बन्ने रिग हाउसको मध्य भाग भाग निर्माण कार्य सम्पन्न भइसकेको छ ।
वैशाख अन्तिम सम्म सामान जडानको काम सकिने र जेठबाटै ड्रिलिङको काम सुरु भएर चार महिनामा काम सकिने नापीतको भनाई छ ।

अहिले चिनिया प्राविधिक र नेपाली प्राविधिकको टोली जलजलेमा काम सुरु गरिरहेको छ । अन्वेषणको कार्यका लागि आवश्यक पर्ने सवै खाले सुरक्षा व्यवस्था मिलाइएको र नेपालको आर्थिक अवस्था सुधारको महत्त्वपूर्ण पाटो हुन सक्ने दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिएका छन् ।

तत्कालीन प्रधानमन्त्री के.पी. शर्मा ओलीको पालामा नेपाल सरकार र चीन सरकारसँग २०७५ सालमा भएको जुटी जी सम्झौता अनुसार चीन सरकारको करिब २ अर्ब ५० करोड लागतमा दैलेखको भू भागमा पेट्रोलियम अन्वेषणका विभिन्न कामहरू सम्पन्न भएका छन् । नेपाल सरकारका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत आयोजना स्थलको अध्ययन र अनुसन्धान सँगै कामले थप तीव्रता पाएको हो ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको अधिवेशनका लागि आएका दैलेखका दश जिल्लाका पत्रकार लगायत नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको बैठक अन्वेषण स्थल जलजलेमा बसेको छ । प्रदेश अध्यक्ष देवीराम देवकोटा, महासचिव खगेन्द्र भट्टराई लगायतको टोलीले अन्वेषण स्थलको अनुगमन सँगै प्रदेश बैठक बसेर देशको समृद्धिका लागि सुरु भएको आयोजना प्रभावकारी रूपमा अगाडी बढाउन सकारात्मक सन्देश प्रवाह गर्ने निष्कर्ष निकालेको छ ।

नेपालमा पहिलो पटक पेट्रोल अन्वेषण परियोजना सुरु हुन लागेकोमा सबै नेपालीमा खुसी छाएको र कर्णालीका पत्रकारहरूले कर्णाली प्रदेशका समृद्धिका अन्य ठुला आयोजनाहरूको बारेमा पनि रचनात्मक र सकारात्मक समाचार सम्प्रेषण गर्न सबै श्रमजीवी पत्रकारलाई आग्रह गरेको नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष देवीराम देवकोटाले बताएका छन् ।

नेपालको विकासको सम्भावना देखाउने र देश समृद्धिमा जाने बाटो खुल्ने महत्वपूर्ण अवसर नेपाल र नेपालीले प्राप्त गर्न सक्ने सम्भावना भएको भन्दै सबैले परियोजना सफल पार्न साथ दिनुपर्ने भैरवी गाउँपालिकाका अध्यक्ष रिता शाहीले जानकारी दिएकी छन् ।

दैलेखको भैरवी गाउँपालिका १ जलजलेमा नेपाल सरकारले ४५ रोपनी जग्गा अधिग्रहणका बेला देखिनै यहाँका स्थानीय बासिन्दाहरूसँग बारम्बार छलफल र बहस गरेर सहजता गरेको, स्थानीयले रोजगारी पाएको र अझै धेरै रोजगारीका अवसरहरू प्राप्त हुने शाहीको भनाई छ ।

प्रभावित क्षेत्र जलजलेका १७ र अन्य पालिकाका १७ जना गरेर ३४ जना स्थानीयले रोजगारी प्राप्त गरेको र यो परियोजना सफल भए दैलेख, कर्णाली र समग्र नेपालको आर्थिक अवस्था सुधार हुने जिल्लाका बासिन्दाहरूले आशा गरेको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिएका छन् ।

अन्वेषण स्थलमै पत्रकारको बैठक
दश जिल्लाका पत्रकारहरूले नेपालकै भविष्य सुधार हुने परियोजना स्थलमै पुगेर अध्ययन अवलोकन र बैठक गरिदिएकोमा पत्रकार महासंघ दैलेख र कर्णाली प्रदेशलाई भुसालले धन्यवाद दिएका छन् ।

नेपाल पत्रकार महासङ्घको कर्णाली प्रदेशको तेस्रो प्रदेश अधिवेशन आज दैलेख सदरमुकाममा ¥याली सहित ऐतिहासिक कोत गडीमा उद्घाटन गरिने र बन्द सत्र जिल्ला समन्वय समितिको हलमा हुने दैलेख शाखाका अध्यक्ष यज्ञराज थापाले जानकारी दिएका छन् । जिल्ला शाखा दैलेखले अतिथि व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी लिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार