फाउन्डेसनद्धारा भूकम्प प्रभावित छात्रालाई छात्रवृत्ति

सुर्खेत ः जाजरकोट, रुकुम पूर्व र पश्चिमका तीन वटा पालिकाका १५ जना छात्रालाई श्रीज्योती फाउण्डेसनद्धारा छात्रवृत्ति वितरण गरिएको छ । फाउन्डेसनले गैर आवासीय नेपाली सङ्घको सहयोगमा आइतबार जाजरकोटको भेरी नगरपालिका–१ रिम्नामा कार्यक्रम आयोजना गरेर छात्रवृत्ति वितरण गरिएको हो । जाजरकोटको बारेकोट गाउँपालिकाका ३, नलगाड नगरपालिकाका २ र भेरी नगरपालिकाका ४ बालिकालाई छात्रवृत्ति वितरण गरिएको अध्यक्ष ज्योति कटुवालले बताइन ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका २, सानी भेरी गाउँपालिकाका २ र चौरजहारी नगरपालिकाका २ छात्राहरूलाई वार्षिक छात्रवृत्ति वितरण गरिएको उनको भनाई छ । १५ जना छात्राहरूलाई स्कुल पोसाक, स्टेशनरी सामाग्री लगायत वितरण गरिएको थियो । छात्रवृत्ति वितरण कार्यक्रममा भेरी नगरपालिकाका उपमेयर सीता जैसीले भूकम्पमा अभिभावक गुमाएमा, अति विपन्न बालबालिकाहरूलाई छात्रवृत्ति वितरण गरिएको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरिन् ।

उनले फाउन्डेसनले छनोट गरेका बालिकाका अभिभावकहरूलाई नगरपालिकामार्फत आयआर्जनको कार्यक्रम दिइने बताइन् । अति आवश्यक ठाउँमा सहयोग पुगेको छ, यो सहयोग उच्च शिक्षा अध्ययनसम्म कायम रहोस्, उनले भनिन्, नगरपालिकाबाट हुने सहयोग गर्न हामी तयार छौँ ।

जनज्योति मावि आठवीसकोट रुकुम पश्चिमका प्रधानाध्यापक मन्जुदेवी खड्काले स्कुल पोसाक र लेख्नका लागि कापी र कलमसम्म नपाउँदा धेरै बालबालिका पढ्नबाट वञ्चित रहेको बताइन् । फाउन्डेसनका अध्यक्ष कटुवालले १० कक्षासम्म छात्राहरूलाई निरन्तर सहयोग गर्ने बताइन् । उनले छात्रवृत्ति दिइएका छात्राहरूको स्वास्थ्य बिमाको जिम्मेवारी पनि फाउन्डेसनले लिने बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार