दैलेख : लेखका प्रहरी प्रमुख डीएसपी सुनिल दाहालले अपराध पीडितले होस्टाइल हुन नपर्ने वातावरणका लागि नागरिक समाजको सहयोग प्रभावकारी हुने बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले दैलेखमा आयोजना गरेको मानव अधिकार वर्ष पुस्तकका लागि अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै दाहालले ‘डर, त्रास र प्रभावबाट मुक्त पार्न सके पीडितले न्याय पाउने बताएका छन् ।’
डीएसपी दाहालले आग्रह गरे ‘कसैलाई बदला लिन, दुख दिन वा कसैको भविष्य बरबाद पार्न बनावटी मुद्दा हाल्नु हुँदैन, अन्याय सहन पनि हुन्न ।’ ‘बास्तविक पीडितले मात्र मुद्दा दिए सबै मुद्दा सफल हुने उनको भनाई छ ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ दैलेखका सचिव राधा मल्लले मानव अधिकार वर्ष पुस्तकमा समावेश गरिएका घटनाहरुमा घरेलु हिंसा लगायत महिलाले भोगिरहेको लैंगिक हिंसाका घटनाहरु प्राथमिकताका साथ समेट्नुपर्ने सुझाव दिएकी छन् ।
सोसेक नेपालका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठले इन्सेकले अभिलेखीकरण गरेका घटनाहरु सार्वजनिक गरेबाट मानव अधिकार सचेतना उल्लेख्य सहयोग पुगेको बताउदै भाषागत शुद्धता, स्पष्ट सन्देश र मौलिक हुन सके अझैं राम्रो हुने बताए । इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले सन् २०२४ को जनवरीदेखि ६ महिना अवधिमा ३८ वटा घटना अभिलेखीकरण गरिएको जानकारी दिएका छन् ।











