दैलेख : दैलेखका ११ वटा स्थानीय तहमध्ये स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा भगवतिमाई गाउँपालिका पहिलो भएको छ । जिल्ला समन्वय समितिको कार्यालय दैलेखले सार्वजनिक गरेको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा भगवतिमाई गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा ९५ अंकप्राप्तगर्दै पहिलो भएको हो ।
स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा महाबु गाउँपालिका दोस्रो भएको छ । महाबुले आर्थिक वर्ष २०७९/०८० को सुशासन जोखिम मूल्यांकनमा ९१.५ अंकप्राप्त गरी दोस्रो भएको छ भने डुंगेश्वर गाउँपालिकाले ९० अंकप्राप्त गरी तेस्रो भएको जिल्ला समन्वय अधिकारी रेशमबहादुर बुढाले जानकारी दिए ।
स्थानीयतह संस्थागत क्षमता स्वमूल्यांकनमा भने दुल्लु नगरपालिका पहिलो भएको छ । प्राप्त विवरण अनुसार दुल्लुले आर्थिक वर्ष २०७९/०८० को संस्थागत क्षमता स्वमूल्यांकनमा ९२.५ अंकप्राप्तगर्दै पहिलो भएको हो । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा डुंगेश्वर गाउँपालिका ९१.५ अंक सहित दोस्रो र भगवतिमाई गाउँपालिका ८९.५ अंक सहित तेस्रो भएको हो ।
विवरण अनुसार स्थानीय तह संस्थागतक्षमता स्वमूल्यांकनमा नारायण नगरपालिकाले ७२.७५ अंकप्राप्त गरेको छ भने स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा ८८.५ अंकप्राप्त गरेको हो । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा पहिलो भएको दुल्लु नगरपालिका सुशासन कायममा कमजोर देखिएको छ । दुल्लुले वित्तीय सुशासन जोखिम मूल्यांकनमा ८२ अंक मात्र प्राप्त गरेको छ ।
यसै गरी, चामुण्डाविन्द्रासैनी नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा ६८ अंक प्राप्त गरेको छ भने स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा ६१ अंक मात्र प्राप्त गरेको समन्वय अधिकारी बुढाले बताए । आठबीस नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा ५५.७५ र वित्तीय सुशासन जोखिम मूल्यांकनमा ७० अंक पाएको जनाइएको छ ।
भैरवी गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा कमजोर रहेको विवरणमा देखिन्छ । भैरवी गाउँपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा ५३.७५ र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा ५३ अंकमात्र प्राप्त गरेको छ । वित्तीय सुशासन जोखिममा दोस्रो रहेको महाबुले संस्थागत क्षमता स्वमूल्यांकनमा ८२.७५ अंक प्राप्त गरेको छ ।
नौमूले गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा ६७ अंक प्राप्त गरेको छ भने स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा ६२.५ अंक प्राप्त गरेको जनाइएको छ । गुराँस गाउँपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा७५.५ र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा ८२.५ अंकप्राप्त गरेको विवरणमा उल्लेख गरिएको छ ।
दैलेखका ११ स्थानीय तह मध्ये ठाटिकाँध गाउँपालिले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा ५० र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा ५३ अंक ल्याउँदै सबै भन्दा कमजोर देखिएको छ । सिंहदरबारको केन्द्रिकृत अधिकार गाउँ पु¥याउने भन्दै स्थानीय सरकार सञ्चालनमा पुगेका जनप्रतिनिधि र कर्मचारीले ऐन, विपरीत काम गर्दा गाउँका सरकारमावर्षेनी सुशासनको जोखिम बढ्दै गएको छ ।
स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन कार्यविधि, २०७७ अनुसार स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन स्थानीय वित्त व्यवस्थापनको सम्भावित जोखिमका क्षेत्रहरूको पहिचान गरी त्यसको लेखा जोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई संस्थागत गर्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन गरिँदै आइएको छ ।











