दैलेख : दैलेखको दुल्लु नगरपालिका–८ चगत्राकी बिन्दु उपाध्याय ब्राह्मण परिवारकी छोरी हुन् । उनले सिलाई–कटाई सिक्दागाउँ भरी बाहुनकी छोरीले मेसिन छुन थाली भनेर चर्चा भयो । तालिम सिक्दा उनका परिवारका सदस्यहरु कोही पनि खुसी थिएनन् । सिलाई–कटाई दलित समुदायका मानिसहरूले मात्र गर्ने पेसा हो भन्ने अन्धविश्वासकै कारण बिन्दुले तालिम अवधिमा परिवारबाट अपेक्षित सहयोग पाइनन् ।
कक्षा १२ अध्ययनगर्दै गर्दा सानै उमेरमा विवाह गरेकी उनी आफू र श्रीमान् दुवैको आम्दानीको श्रोत नभएपछि केही गरौं भनेर विकल्प खोज्न थालिन । विकल्पका रूपमा बिन्दुले तीन महिने सिलाई–कटाई तालिम लिइन् । त्यसपछि उनले खोलिन्, टेलर्स । उनले सिलाई–कटाई व्यवसाय चलाएको एक दशक बित्यो । परिवार र समाजको अपेक्षित सहयोग बिना सामाजिक रूपमा बाहुन जातिले सिलाई–कटाई गर्नु हुँदैन भन्ने अन्धविश्वास चिर्न सफल पात्र हुन बिन्दु ।
सुरुमा सिलाई–कटाई ग्रामीण समाजमा कपडा सिलाउने कामदलित समुदायका मानिसहरूले मात्र गर्ने पेसा हो भन्ने अन्धविश्वास रहेकाले सुरुमा तालिम सिकेर खरिद गरिएको कपडा सिलाउने मेसिन परिवारले घरभित्र राख्न नदिएको बिन्दुको भनाई छ ।
विवाह पछि रोकिएको पढाइलाई बिन्दुले व्यवसाय सञ्चालन पछि निरन्तरता दिइन् । विवाहसँगै घरको काममा सीमित उनले अहिले स्नातक तहसम्मको अध्ययन पूरा गरेकी छन् । ‘रोकिएको पढाइलाई व्यवसाय सञ्चालन पछि अघि बढाएँ । उनले भनिन्, ‘अहिले छोरा आठ कक्षामा पढ्दै छन् । छोराको पढाइमा लाग्ने खर्चसँगै आफ्नो व्यवहार चलाउन यहीँ व्यवसाय मार्फत सहज भएको छ ।,’
सानै उमेरमा घरको खम्बा ‘बुवा’ को निधन पछि आमाले गर्नुभएको संघर्षका यात्रा बुझेकी बिन्दुलाई आफ्नै ठाउँमा केही गरौँ भन्ने जाँगर चलेको थियो । बुवाको निधनपछि माइतीमा अनेकौँ संघर्ष गरेको उनको मानस पटलमा ताजै छ । ‘परिवारमा अनेकौँ दुःखथिए । तीन भाइबहिनीको शिक्षा दीक्षासँगै पालन पोषणका लागि ‘आमा’ ले उठाउनु भएको दुःख मानस पटलमा ताजै छ,’ उनले भनिन् ।
पछिल्ला वर्षहरूमा बिन्दुले सिलाई–कटाई व्यवसाय मार्फत स्थानीयस्तरमा मनग्य आम्दानी गर्दै आएकी छन् । ‘काम खोज्न अन्यन्त्र जानु भन्दा आफ्नै ठाउँमा सिलाई–कटाई व्यवसाय गरे केही होला जस्तो लाग्यो । त्यसपछि तीन महिने तालिम लिएँ’ उनी भन्छिन् ‘पहिले त गाउँमा बाहुनकी छोरीले मेसिन चलाउने हो भन्दै गिज्याउँथे, अहिले सबैले सकारात्मक रूपमा लिएका छन् ।,’
उनले आफूले अझै पूर्ण रूपमा सिप नसिकेको अनुमान गरेर पुनः घरेलु तथा साना उद्योग विकास समिति दैलेख मार्फत सिलाई–कटाई सम्बन्धी स्तरोन्नति तालिम समेत लिइन् । दैलेख सदरमुकाम नारायण नगरपालिका–६ काडाँचौरमा उनको व्यवसाय विगत १० वर्षदेखि सञ्चालनमा छ । ‘सुरुमा घरका सबै परिवार खुसी थिएनन्, पछि राम्रो आम्दानी हुन थालेपछि घर परिवार समेत अहिले खुसी हुनुहुन्छ ।,’ बिन्दुले भनिन् ।
उनले सिलाई–कटाई व्यवसाय मार्फत अहिले महिनामा राम्रो आम्दानी गर्दै आएकी छन् । बिन्दुले अहिले महिनामा ३० देखि ३५ हजार रुपैयाँसम्म कमाउने गरेको बताइन् । त्यतिमात्र नभएर उनी पछिल्ला वर्षहरूमा घरेलु तथा साना उद्योग विकास समितिसँगै यहाँ सञ्चालनमा रहेका विभिन्न परियोजनामार्फत सञ्चालनहुने सिलाइ–कटाइ सम्बन्धी आधारभूत र उच्चस्तरको तालिमको प्रशिक्षकका रूपमा काम गर्दै आएकी छन् ।
अर्काको मुलुकमा काम खोज्न जानु भन्दा आफ्नै ठाउँमा सिप सिकेर आम्दानी बढाउन सकिने बिन्दुको भनाई छ । ‘पछिल्ला वर्षहरूमा कामको खोजीमा युवायुवती अन्य मुलुकमा जाने क्रम बढ्दो छ । सिप सिकेर कामलाई निरन्तरता दिए आफ्नै ठाउँमा राम्रो आम्दानी हुन्छ । सिलाई–कटाई व्यवसायमा सुरुसुरुमा भन्दा निरन्तरता दिँदै गए यसमा मनग्य कमाई हुन्छ,’ बिन्दुले धमाका दैनिकसँग भनिन् ।
बालिघरे हुँदै ‘टेलर्स’
कपडा सिलाउने, हलो जोत्ने जस्ता कामहरू कुनै एउटा निश्चित व्यक्तिलाई दिएर बाली घरे बनाउने चलन विगतमा थियो । अहिले यो शब्द परिवर्तन भएको छ ‘टेलर्स’ । महिलाहरू आ–आफ्ना गाउँहरूमा सिप सिकेर सिलाई–कटाईको काममा लागेका छन् । पहिले बालिघरेकोमा सिलाउन जानेहरू अहिले ‘टेलर्स’ मा जान थालेका छन् ।
सिलाइ–कटाइ व्यवसाय महिलाका लागि मात्र नभई पछिल्ला वर्षहरूमा सबैका लागि राम्रो आम्दानीको स्रोत बन्दै गएको छ । दैलेखको नारायण नगरपालिका–६ मा पर्ने रामपुरकी मनिषा सुनारले उद्योग तथा उपभोक्ताहित संरक्षण कार्यालय दैलेखले सञ्चालन गरेको तीन महिना लगाएर सिलाई–कटाई प्रशिक्षण लिइन् । प्रशिक्षण पछि उनले सिलाइ–कटाइ व्यवसाय थालेको तीन वर्ष पुगेको छ ।
दैलेख सदरमुकाम नारायण नगरपालिकामा व्यवसाय थालेकी उनले सिलाई–कटाई, तरकारी र शृङ्गारको व्यवसाय सञ्चालन गरी महिनामा ५५ देखि ६० हजारसम्म आम्दानी गर्ने गरेको बताइन् । ‘सिप पछि सिलाई–कटाई व्यवसाय थाले अन्य केही गरौँ भन्ने जाँगर चल्यो अहिले सिलाइ–कटाइ, तरकारी पसल र शृङ्गारको व्यापार समेत छ । सबै व्यवसाय मार्फत महिनामा ५५ देखि ६० हजारसम्म आम्दानी हुन्छ,’ मनीषाले भनिन् ।
अहिले घरमा सबैलाई आवश्यक पर्ने खर्च यहीँबाट चलाउने गरेको मनीषाको भनाई छ । तीनजना छोरा छोरी सहित पाँच जनाको घर खर्च र बालबच्चालाई पढाउन व्यवसाय मार्फत पुग्ने गरेको उनले बताइन् । काम खोज्न बाहिरी मुलुक जानका लागिआफ्नै ठाउँमा सिप पछि राम्रो आम्दानी गर्न सकिने उनको भनाई छ । ‘काम खोज्न खाडी जानु भन्दा सिप सिकेपछि यहीँ राम्रो आम्दानी छ । लगनशिलता ठूलो कुरा हो,’मनीषाले भनिन् ।
केही वर्ष अघिसम्म रहेको बालीघरे प्रथा हटेको दैलेख सदरमुकाममा सिलाइ–कटाइ व्यवसाय सञ्चालन गर्दै आएका युवराज नेपालीले बताए । ३२ वर्ष अघि देखि व्यावसायिक सिलाई–कटाई थालेका उनले उति वेला घर–घरमा मेसिन बोकेर जानुपर्ने बाध्यताको अन्त्य भएको बताए । ‘३२ वर्ष अघि घर–घरमा मेसिन बोकेर बालीघरे गर्नुपर्ने बाध्यता थियो । अहिले ‘टेलर्स’ छन् । महिला दिदीबहिनीका लागि यो रोजाइको पेसा बनेको छ,’ युवराजले भने ।











