जसले दैलेखमै उत्पादन गरिरहेका छन् १० जातको स्याउको बिरुवा

दैलेख : भगवतीमाई गाउँपालिका–३ सान्तडाका भगतबहादुर शाही उमेरले ३८ वर्ष पुगे । २०५७ मा एसएलसी उत्तीर्ण गरेका शाहीले गाउँमा सूर्य कृषि तथा पशुपंक्षी फर्म सञ्चालन गरिरहेका छन् । उनले फर्म सञ्चालन गरेको चार वर्ष पूरा भयो । शाही त्यसअघि भारतमा मजदुरको रुपमा काम गर्थे । ०५८ ताका तत्कालीन सशस्त्र द्वन्द्वकै कारण उनको परिवार गाउँबाट विस्थापित भयो । द्वन्द्वले विस्थापित बनेका शाहीको परिवार नै भारत गयो । शाहीले झण्डै १९ वर्ष भारतमा मजदुरी गरेर बिताए । भारतमा रहँदा उनले हिमाञ्चल प्रदेशको नौणी सोलनस्थित डा. यशवंत सिंह परमार औधोगिक एवं वानिकी विश्वविद्यालयमा मजदुरीको काम गरे । त्यहाँ उनले विभिन्न जातका स्याउको विरुवा काँटछाँट गर्ने, कलमी गर्ने, विषादी र भिटामिन छर्किने काम गरे । आफूसँगै काम गर्ने भारतीय मजदुरहरुले आफ्नै देशमा फर्किर काम गर्न सुझाएपछि उनी गाउँ फर्किए । २०७७ सालमा नेपाल फर्किएर शाहीले फर्म दर्ता गरेका हुन् ।

गाउँमा शाहीको नाममा ६ रोपनीमात्रै जग्गा थियो । त्यति जग्गाले व्यवसाय सञ्चालन गर्न नपुग्ने भएपछि उनले नातेदार आठ जना दाजुभाईको १६ रोपनी जग्गा भाडामा लिए । भाडामा लिएको जग्गा १५ वर्षभन्दा बढी समय बाँझैँ थिए । तितेपाती, वनमाराको झाँडी फाँडेर जोतखन गरेर व्यवसाय सुरु गरेको शाही बताउँछन् । सुरुमा १५ लाख रुपैयाँ लगानी गरेर स्याउका बिरुवा उत्पादन सुरु गरेको शाही बताउँछन् । स्याउका बिरुवा उत्पादन थालेको पहिलो वर्षमै नराम्ररी घाटा बेहोरेका शाहीले दोस्रो वर्ष राम्रो आम्दानी गरेको बताए । अघिल्लो वर्ष स्याउको बिरुवा बेचेरै ६ लाख पचास हजार रुपैयाँ आम्दानी गरेको उनको भनाई छ ।

हाल शाहीको नर्सरीमा आगामी पौषमा बेच्न सकिने गरी तयार पारिएका झण्डै १५ लाख रुपैयाँ बराबरका बिरुवा हुर्किइसकेका छन् । शाहीका अनुसार अहिले नर्सरीमा १० जातका स्याउका बिरुवा छन् । गालाट्रेक्स, गालामेमा, जोनापेन्सलेट, स्कारलेट सुपर २, पिंकलेडी, किङ्गफुयुजी किकु, गाला सनिका रेड, ग्रिनस्मिथ चेलेन्जर, डार्क ब्राउन गाला र रेडइलम गाला गरी १० जातका स्याउका बिरुवा हुर्काइरहेको शाहीले बताए । ‘नर्सरीमा दुई हजार पाँच सय बराबरको संख्यामा कलमी गरिसकेका स्याउका बिरुवा छन्, एक वर्षपछि कलमी गर्नका लागि झण्डै १० हजार बिरुवा छन्,’ उनले भने । कलमी गरेका स्याउका बिरुवाले दुई वर्षमै फल दिने शाही बताउँछन् ।

उनले उत्पादन गरेको स्याउको बिरुवा जाजरकोटसम्म निर्यात हुने गरेका छन् । ‘भगवतीमाई गाउँपालिकाकै वडा नम्बर १, ३ र ६, जाजरकोटको जुनिचाँदे गाउँपालिकामा बिक्री हुने गरेको छ,’ नर्सरी फस्टाउँदै गएको छ,’ उनले भने । शाहीले स्याउ तथा तरकारी बालीमा जैविक मल र विषादी प्रयोग गरिरहेका छन् । ‘रासायनिक मल र विषादी प्रयोगलाई पूर्ण रुपमा निषेध गरेका छौँ, गड्यौले मल र तितेपाती, वनमारा, टिमुर, लसुनलगायतका वनस्पतिको मिश्रणबाट तयार हुने झोल मल प्रयोग गर्छौ, नर्सरीलाई जलवायु अनुकुलित बनाएको छु,’ उनले भने ।

नर्सरीमा अभ्यासका लागि आउँछन् विद्यार्थी
स्याउको नर्सरीसहित शाहीले टनेलभित्र टमाटर लगायतका तरकारी खेती गरिरहेका छन् । स्टेबरीको बेर्ना उत्पादनदेखि फल बिक्री गरेको उनको भनाई छ । शाहीको बगैँचामा स्थानीयले रोजगारी समेत पाइरहेका छन् । नर्सरीमा आवश्यकता अनुसार कामदार खटाउने गरेको शाही बताउँछन् । ‘गाउँघरमा रोजगारीको अभाव छ, छरछिमेकीहरु काम खोज्दै आउँछन्, हरेक महिना १५ दिनसम्म त कामदारहरु नर्सरीको काममा खटाउने गरेको छु,’ उनले भने । शाहीको व्यवसायलाई श्रीमती मैनसरा शाहीले पनि सघाइरहेकी छन् ।

उनको फर्ममा विद्यार्थीहरु समेत प्रयोगात्मक अभ्यासका लागि पुग्ने गरेका छन् । २०८१ वैशाखमा गाउँपालिका भित्रकै विद्यालयका ६ जना विद्यार्थीहरु शाहीको नर्सरीमा अभ्यास गर्न पुगेका थिए । भगवतीमाई गाउँपालिका–१ बेस्तडास्थित ज्वाला माविका प्राविधिक धार बाली विज्ञानतर्फ कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले दुई महिनासम्म व्यवहारिक अभ्यास गरेको शाहीले बताए । आफ्नो नर्सरी अब सिकाई केन्द्रको रुपमा विस्तार हुँदै गएको शाहीको भनाई छ ।

सिंचाई सुविधा पुगेपछि बढ्यो हौसला
नर्सरी शुरु गर्दाको समयमा पर्याप्त सिंचाई सुविधा थिएन । फर्म सञ्चालनको सुरुवातमा सिंचाईको चरम अभाव झेल्नु परेको शाही बताउँछन् । अहिले स्याउलाई चाहिने जति सिंचाई पुगेको छ । सिंचाई सुविधा पुगेपछि हौसला बढाएको शाहीको भनाई छ । ‘सुरुवातमा सिंचाईको चरम अभाव झेल्नुप¥यो, अहिले सिंचाईको कुनै चिन्ता छैन,’ उनले भने ।

शाहीले फर्म सञ्चालन गरिरहेको स्थानबाट केही तल रुम खोला छ । त्यही खोलाको पानी सोलार लिफ्टमार्फत सान्तडा गाउँमा पु¥याईएको छ । ‘रुम खोलाबाट सोलार लिफ्टमार्फत सिंचाई पुगेको छ, अहिले त सिंचाईको पनि कुनै चिन्ता छैन, अबको आवश्यकता भनेकै थप मेहनत गर्ने हो, यही माटोमा परिश्रम गरेर राम्रो आम्दानी गर्न सक्छु भन्ने हौसला बढेको छ,’ उनले भने । स्याउको नर्सरीलाई कर्णाली प्रदेशकै नमूना र सिकाई केन्द्रको रुपमा विकास गर्ने उनको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार