नेपालमा जसरी नेट इन्टरनेटमा सहज पहुँच विस्तार भएको छ । सोही अनुसारका राम्रा र सकारात्मक कामहरूको पनि सुरुवात भएको छ । विश्वमा फड्को मार्दै गएका विभिन्न प्रविधिहरुलाई नेपालले पनिआत्मसाथ गर्नुलाई कुनै अनौठो विषय मानिँदैन । तर ठुला र विकसित राष्ट्रहरुमा जसरी नीतिनियमलाई कडाइका साथ लागू गरिएको छ, सोहीअनुसार सामाजिक सञ्जालको प्रयोगलाई पनि उचित वा अनुचित रूपमा विश्लेषण गरेर त्यसको निश्चितदायरा निर्माण गरिएको छ । सामाजिक सञ्जालमा तत्थ्यहिन रूपमा अराजकता फैलाएको खण्डमा तत्कालै सरकारले कारबाहीको प्रक्रिया थालनी गर्ने गर्दछ । सोही अनुसार जुन–जुन व्यक्ति वा निकायहरू गलत प्रवृत्तिका विरुद्ध लागेका हुन्छन् तिनीहरूलाई कारबाही भएको छ ।
नेपाल जस्ता अल्पविकसित मुलुकहरूमा सामाजिक सञ्जालको प्रयोग सही भन्दा पनि गलत भाष्य निर्माणका लागि बढी प्रयोगमा आएका छन् । हिजोका नेताहरूले केहीपनि गरेनन् भनेर जसरी अनावश्यक मान्यता स्थापना गर्न खोजिएको छ,यसभित्र पक्कै पनि नेपालको समृद्धि हुननदिने, नेपालमा स्थायी शान्ति हुन नदिनेहरूको षडयन्त्र पनि कहीँ न कहीँ जोडिएको छ । फेक समाचारहरू, तत्थ्यहीन र आधार हीन विषयहरूलाई उचालेर एउटा दुईवटा राम्रा काम गरेझैँ गरेर रातारात भाइरल हुनेहरूले विधि, नीति, नियम मान्न नपर्ने हो त ? सामाजिक सञ्जालको अराजक भिडले मात्र निर्णय गर्ने हो भने, नेपाल जस्ता देशहरूमा किन कानुन चाहियो ? किन अदालत चाहियो ? किन प्रहरी प्रशासन चाहियो ? किन सरकार चाहियो ? यस्तो अराजकता जो कसैबाट सुरुवात गरिएको छ । त्यस्ता विषयहरूमा विशेष गरेर लामो समयदेखि सत्तामा बसेकाहरू, सत्ता चलाएकाहरू र देशको कानुन निर्माण गरेर कार्यान्वयन गर्ने निकायहरूले विशेष निगरानी बढाउनुपर्ने देखिन्छ ।
विकास जसरी हुनुपर्ने थियो सोही अनुसार हुन सकेको छैन । यसका लागि राजनीतिक प्रवृत्तिमा पनि निकै फेरबदल गर्नुपर्ने आवश्यकता देखिएको छ । जसरी समाजमा गलत भाष्यहरू स्थापित हुन थालेका छन् ती विषयहरूका लागि अब हरेक नागरिकहरूले देश के हो ? दल के हो ? नेपाल आमा किन चाहियो ? आफ्नो राष्ट्रियता किन जरुरी छ ?सीमानामा किन ज्यान गुमाउनुपर्छ ? यस्ता विषयहरूका बारेमा विद्यालय स्तरदेखि, सामाजिक जनचेतना अभिवृद्धि गर्ने विषयमा सबै निकायहरू चनाखो हुनुपर्ने आवश्यकता देखिएको छ ।
युवाहरूले आफ्नो भूमिमा भविष्य नदेख्ने तर विदेशमा गएर जस्तोसुकै काम पनि गर्न योग्य हुने, अनि विदेश गएको बहानामा नेपालका नेताहरूलाई तथा नाम गाली गलौज गर्ने, नेपाल र नेपालीहरूको आत्मसम्मानको खोजी विदेशको भूमिमा बसेर गर्दै गर्दा नेपालका सबैलाई गालीमात्रै गर्ने ? यस्ता खाले प्रवृत्तिहरूको अन्त्य नभएसम्म नेपालमा स्थायी शान्ति र दिगो विकाससँगै ठुला–ठुला विकासका खाका कोर्न कठिनाइ हुने अवस्था छ । जनताको जनमतबाट प्रधानमन्त्री बनेको व्यक्ति विदेशमा जाँदा अनावश्यक गाली गर्ने भिड जो कोही किन नहोस् त्यस्ता अराजकतामा संलग्न भएका व्यक्तिहरूलाई कानुनअनुसार देशमाहोस वा विदेशमा, जहाँ भए पनि कडा भन्दा कडा कारबाही गर्नुपर्छ ।पछिल्लो समय मौलाउँदै गएको सामाजिक सञ्जालको सरकारले कडा भन्दा कडा निगरानी गर्नुपर्ने र नियन्त्रण गर्नुपर्ने आजको आवश्यकता हो ।





