दैलेख : दैलेखमा बेरोजगारीको सङ्ख्या भयावह रहेको पाइएको छ । यहाँका ११ वटा स्थानीय तहमा रहेका रोजगार शाखाले सङ्कलन गरेको तथ्याङ्कलाई हेर्ने हो भने जिल्लामा बेरोजगारीको सङ्ख्या थपिँदै गएको देखिन्छ । स्थानीयस्तरमा उद्योगहरूको विकास नहुनु, क्षमता अनुसारको पारिश्रमिक नपाउनु, स्थानीय सरकारको माग अनुसार सूचिकृत भएकाले समेत काम नपाउनु लगायतका समस्याले दैलेखमावर्षेनी बेरोजगार युवा÷युवती लगायतको सङ्ख्यामा वृद्धि हुँदै गएको हो ।
गाउँको विकाससँगै कामको खोजीमा अन्य मुलुक जानेलाई स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने भन्दै घरेलु सरकार सञ्चालनमा पुगेका स्थानीय तहका जनप्रतिनिधिले डोजरको प्रयोग मार्फत भौतिक विकासका नाममा सडक निर्माणको काममा मात्र अग्रसर भई स्थानीयलाई विकासे काममा रोजगारीमा नलगाउनुले ग्रामीण वस्तिमावर्षेनी ठुलो मात्रामा बेरोजगारीको सङ्ख्या वृद्धि हुँदा कामको खोजीमा स्थानीयलाई भारत लगायतका बाहिरी मुलुक धाउनुपर्ने बाध्यता छ ।
यहाँका ११ वटा स्थानीय तहमा रहेका रोजगार शाखाले सङ्कलन गरेको सूचिकृत बेरोजगारको तथ्याङ्कलाई हेर्ने हो भने आर्थिक वर्ष २०७९÷०८० मा बेरोजगारको सङ्ख्या २६हजार ४ सय ३० रहेको रहेको थियो । तर, आर्थिक वर्ष २०८०÷०८१ मा भने स्थानीय तहमा रहेका बेरोजगारको सङ्ख्या वृद्धि हुँदै एक वर्षको अन्तरालमा ३३ हजार ५२ जना पुगेको देखिन्छ । सूचिकृत भएका बेरोजगारले रोजगारी पाउने गरेका छैनन् ।
स्थानीय तहले जारी गरेको सूचना अनुसार आफ्नै ठाउँमा उपयुक्त रोजगारी पाइने भन्दै एक आर्थिक वर्षमा सूचिकृत भएका तीन हजार बेरोजगार मध्ये बजेट विनियोजनका आधारमा बडीमा दुई सय ६० जनाले मात्र एक सय दिनको रोजगारी पाउने गरेका छन् । सूचिकृत भएका मध्ये स्थानीय सरकारमा रहेको बेरोजगारी मापदण्डका आधारमा विनियोजित बजेटमा रही एक सय दिनको रोजगारी पाउने गरेका छन् ।
यहाँको डुंगेश्वर गाउँपालिकामा आर्थिक वर्ष २०७९÷०८० मा सूचिकृत तीन हजार ३ सय ६२ जना बेरोजगारमध्ये एक हजार ७ सय १० जना महिला छन् भने एक हजार ६ सय ५२ जना पुरुष रहेका छन् । आर्थिक वर्ष २०८०÷०८१ मा दुई हजार ६ सय ५१ जना बेरोजगार सूचिकृत भएका थिए । जसमा महिला एक हजार ४ सय ५ छन् भने पुरुष एक हजार २ सय ४६ छन् । डुंगेश्वरमा सूचिकृत बेरोजगारमध्ये वर्षमा बढीमा दुई यस ६० जनाले मात्र वर्षमा एक सय दिन रोजगारी पाउने गरेका हुन् ।
सङ्घीय सरकारको मापदण्ड अनुसार सूचिकृत भएकामध्ये विनियोजित बजेटका आधारमा बढीमा एक सय ६० जना सम्मले एक सय दिनको रोजगारी पाउने गरेका डुंगेश्वर गाउँपालिका रोजगार शाखा संयोजक कर्ण शाहीले बताए । सूचिकृत भएका अन्य बेरोजगारलाई रोजगारी प्रदान गर्ने स्थानीय तहसँग स्रोत नहुने उनको भनाई छ । ‘सूचिकृत भएकाले प्राथमिकताको आधारमा एक सय दिनको रोजगारी पाउँछन् । अन्य सूचिकृतलाई रोजगार प्रदान गर्ने स्थानीय सरकारसँग स्रोत हुँदैन ।,’ संयोजक शाहीले भने ।
यहाँको नौमूले गाउँपालिकामा आर्थिक वर्ष २०७९÷०८० मा सूचिकृत बेरोजगारको सङ्ख्या चार हजार ४ सय १९ छ । जसमा महिला दुई हजार ८४ र पुरुष दुई हजार ३ सय ७१ छन् । आर्थिक वर्ष २०८०÷०८१ मा चार हजार १ सय ४५ रहेको छ । उक्त आर्थिक वर्षमा जम्मा सूचिकृत सङ्ख्या मध्ये महिला एक हजार ९ सय १० छन् भने पुरुष दुई हजार २ सय ३५ जना छन् । रोजगारी पाइने आशामा सूचिकृत भएका मध्ये नौमूलेमा न्यूनले मात्र काम पाउने गरेका गाउँपालिका रोजगार संयोजक सन्दीप विश्वकर्माले बताए ।
आफ्नै ठाउँमा रोजगारी पाइने अपेक्षामा महाबु गाउँपालिकामा आर्थिक वर्ष २०७९÷०८० मा एक हजार ६ सय ९८ जना सूचिकृत भएका थिए । उक्तआर्थिक वर्षमा सूचिकृत भएका मध्ये महिला ९ सय ३९ र पुरुष ७ सय ६१ हुन् । आर्थिक वर्ष २०८०÷०८१ मा महाबुमा दुई हजार ३ सय ३ जना बेरोजगार सूचिकृत भएका छन् जसमा महिला एक हजार ३ सय ५६ र पुरुष ९ सय ४७ हुन् । महाबुमा सूचिकृत भएका मध्य मापदण्डका आधारमा बजेट विनियोजनका आधारमा न्यून सङ्ख्याले पाउँदै आएका छन् ।
भगवतीमाई गाउँपालिकामाआर्थिक वर्ष २०७९÷०८० मा सूचिकृत भएका बेरोजगारको सङ्ख्या एक हजार ८ सय छ । जसमा ९ सय ९३ जना महिला र ८ सय७ जना पुरुष रहेका छन् । आर्थिक वर्ष २०८०÷०८१ माभगवतीमाइमा एक हजार ४५ जना बेरोजगार सूचिकृत भएका थिए । उक्त आर्थिक वर्षमा सूचिकृत भएका मध्ये महिला ७ सय ३४ र पुरुष ३ सय ११ रहेका थिए ।
यहाँको भैरवी गाउँपालिकामा आर्थिक वर्ष २०७९÷०८० मा एक हजार ५ सय ६० जना बेरोजगार सूचिकृत भएका थिए । जसमा महिला ८ सय २० र पुरुष ७ सय ४० छन् । भैरवीमा आर्थिक वर्ष २०८०÷०८१ मा जम्मा सूचिकृत बेरोजगारको सङ्ख्या २ हजार ८ सय ७६ रहेको छ । उक्तआर्थिक वर्ष सूचिकृत भएका बेरोजगार मध्ये महिला एक हजार ७ सय २४ र पुरुष १ हजार १ सय ५१ छन् ।
जनसङ्ख्याका हिसाबले यहाँका ११ वटा स्थानीय तहमध्ये यहाँको दुल्लु नगरपालिकामा आर्थिक वर्ष २०७९÷०८० मा १ सय ६९ मात्र बेरोजगार सूचिकृत भएका देखिन्छन् । जसमा महिला ६० जना र पुरुष १ सय ९ जना मात्र छन् । आर्थिक वर्ष २०८०÷०८१ मा दुल्लुमा तीन हजार ३ सय २२ जना बेरोजगार सूचिकृत भएका देखिन्छन्। जसमा महिला दुई हजार ३ सय ६५ र पुरुष ९ सय ६० रहेका छन् । सूचिकृत भएका मध्ये दुल्लुमा बढीमा दुई तीन सय जनाले मात्र बजेट विनियोजन आधारमा काम पाउने गरेका हुन् ।
चामुण्डाविन्द्रासैनी नगरपालिकामा आर्थिक वर्ष २०७९÷०८० मा दुई हजार ५ सय ८६ जना सूचिकृत बेरोजगार छन् । सूचिकृत भएका मध्ये महिला एक हजार ३ सय ७५ र पुरुष एक हजार २ सय ११ छन् ।आर्थिक वर्ष २०८०÷०८१ मा आठबीसमा सूचिकृत भएका बेरोजगारको सङ्ख्या तीन हजार १ सय ८४ छ । जसमा महिला एक हजार ७ सय ३५ र पुरुष एक हजार ४ सय ४९ रहेका छन् ।
आठबीस नगरपालिकामा आर्थिक वर्ष २०७९÷०८० मा सूचिकृत बेरोजगारको सङ्ख्या ९ सय ६५ रहेको छ । जसमा महिला ५ सय १३ छन् भने पुरुष ३ सय ५२ सूचिकृत भएका देखिन्छ । उक्त नगरपालिकामा आर्थिक वर्ष २०८०÷०८१ मा एक हजार २ सय २६ जना बेरोजगार सूचिकृत भएका छन् । सूचिकृत भएकामध्ये महिला ८ सय ९३ र पुरुष ३ सय ३० मात्र रहेका छन् । स्थानीय तहमा रोजगारी पाइने आशामा सूचिकृत भएका मध्ये न्यूनले मात्र निश्चित समय रोजगारी पाउने अन्य सूचिकृत भएका काम खोज्न बाहिरी मुलुक जान बाध्य रहेका हुन् ।
यहाँको नारायण नगरपालिकामा आर्थिक वर्ष २०७९÷०८० मा एक हजार ९ सय ८५ सूचिकृत भएका बेरोजगारी मध्ये महिला एक हजार ३ सय र पुरुष ६ सय ८५ जना रहेका थिए । सूचिकृत भएकामध्ये उक्तआर्थिक वर्षमा १ सय ६९ जनालाई मात्र बजेट विनियोजनका आधारमा वर्षमा एक सय दिन रोजगारी प्रदान गरिएको थियो । आर्थिक वर्ष २०८०÷०८१ मा नारायणमा सूचिकृत बेरोजगारको सङ्ख्या तीनहजार१ सय ९६ छ । जसमा महिला दुई हजार २ सय ५ र पुरुष ९ सय ९० छन् ।उक्तआर्थिक वर्ष नारायणमा ९१ जनाले मात्र काम पाएका थिए ।
ठाँटिकाँध गाउँपालिकामा आर्थिक वर्ष २०७९÷०८० मा सूचिकृत भएका बेरोजगारको सङ्ख्या तीन हजार ७ सय ३६ छ जसमा महिला दुई हजार १२ र पुरुष एक हजार ७ सय २४ छन् । उक्तआर्थिक वर्ष ठाँटिकाँधमा २ सय ८२ जनाले मात्र काम पाएका थिए । यस्तै, ठाँटिकाँधमा आर्थिक वर्ष २०७९÷०८० मा सूचिकृत बेरोजगारको सङ्ख्या तीन हजार ९ सय ७६ छ । जसमा महिला दुई हजार१ सय ५५ र पुरुष एक हजार ८ सय २१ छन् । उक्त आर्थिक वर्ष ठाँटिकाँधमा ९४ जनाले मात्र एक सय दिनको रोजगारी पाएका थिए ।
वर्षेनी करोडौँका विकासे गतिविधि सञ्चालन गर्दै आएका स्थानीय सरकार योजना विहीन तवरले अघि बढ्दा गाउँमा रोजगारीको अवसर गुम्दै गएको ठाँटिकाँध गाउँपालिका–४ का रामबहादुर धामीको भनाई छ । उनले भने, ‘गाउँमायुवा÷युवतीले रोजगारी पाउँदैनन् । अव्यवस्थित विकासे गति मौलाउँदै गएको छ । स्थानीय सरकारको योजना विहीन कार्यले कामको खोजीमा स्थानीय काला पहाड अर्थात् भारत लगायतका अन्य मुलुक जान बाध्य छन् ।,’
जिल्लामा रहेका उद्योगहरू बन्दअवस्थामा छन् । पहुँचका भरमा स्थापना गरिएका उद्योगहरूमा खरिद गरिएका लाखौँका उपकरण प्रयोग विहीन रहेका पाइन्छन् । पछिल्ला वर्षहरूमा बसाइँसराइका कारण पहाडी वस्ति खाली हुँदै जाँदा जमिनको उपयोग हुन छोडेको छ । बसाइसराइसँगै स्थानीय स्तरमा रोजगारी नहुनु, स्थानीय सरकारले बाझा जमिनको उपयोगका लागि रणनीतिक योजना नबनाउनुले गाउँका खेती योग्य जमिन बाझिँदै गएका हुन् ।











