विवाहको उमेर हदमा अलमल किन ?

केही समय अघि प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले गठन गरेको एक उपसमितिले नेपालको संविधान २०७२ मा तोकिएको विवाहको उमेर २० बाट घटाएर १८ वर्ष कायम गर्न सुझाव दिएछ । यो सुझाव दिएको समाचार बाहिर आएपछि बालअधिकारको क्षेत्रमा काम गर्ने संघसंस्थाहरु बीच यस विषयमा गहन छलफल र बहस चलिरेको छ । यस विषयमा नेपाली समाज दुई भागमा विभाजन भएको छ । एउटा पक्षले कहिलो उमेरमा विवाह भएका बालिका शारीरिक, मानसिक तथा सामाजिक रूपमा परिपक्व हुन नसक्नुका साथै उनीहरुको शिक्षामा सीमित पहुँच भएको भन्दै २० वर्षको उमेर हद ठिकै भएको भनेर वकालत गरिरहेका छन् भने अर्को पक्ष विवाहको उमेर घटाएमा बलात्कार जस्ता घटना रोकिन सक्ने आंकलन सहित विवाह गर्ने उमेर घटाउनुपर्ने तर्क गरिरहेका छन् ।

नेपाली समाज आज यसरी स्पष्टरुपमा दुई भागमा विभाजन भइरहँदा उमेर पुगेको युवा युवती भने अन्यौलमा परेका छन् । नेपाली समाजको अवस्थालाई अध्ययन गर्दा विवाह गर्ने उमेर कानुनी हिसाबले जे भए पनि यदि युवा र युवतीमा वैवाहिक जीवनका बारेमा स्पष्ट सचेतना हुन नसकेमा यो वहस निरर्थक हुने देखिन्छ । युवा, युवती र उनीहरुका अभिभावकहरुमा शैक्षिक चेतना वृद्धि भएर विवाह गर्ने उमेरलाई आफै निर्धारण गर्न सक्ने भएमा यस्ता वहसको खासै अर्थ हुने देखिदैन ।

समाजमा विभिन्न खालका घटनाहरु अपरिपक्व समाज र शिक्षित हुन नसकेका कारण भइरहेका हुन्छन् । समाजका हरेक व्यक्ति आफैमा परिपक्व र शिक्षित हुन सकेमा मात्र समाजमा भइरहेका विभिन्न अपराधिक घटनाहरु आफै न्यूनीकरण हुने गर्दछन् । तर हाम्रो समाज अहिले पनि शिक्षित हुन सकेको छैन । केही शिक्षित वर्ग पनि किताबी कुरामा शिक्षित भए पनि व्यवहारमा भने पुरै अशिक्षित भएका कारण समाजमा दिनप्रतिदिन अपराधिक घटना घटिरहेका हुन्छन् ।

वैवाहिक उमेरका बारेमा भएको यस खालको बहस र छलफलले हामी अहिले पनि कता गइरहेका छौ भन्ने कुराको छर्लङ्ग भइरहेको छ । अहिलेको २१औं शताब्दीमा पनि हामी वैवाहिक उमेरका बारेमा छलफल गरेर समय खर्च गरिरहेका छौं । बरु नेपाल सरकार र विभिन्न गैरसरकारी राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थाहरुले नेपाली समाजका हरेक व्यक्तिलाई व्यवहारिक रुपमा कसरी परिपक्व बनाउन सकिन्छ भन्ने बारेमा चासो र चिन्ता लिएर शैक्षिक जागरणका कार्यक्रमलाई प्रभावकारी रुपमा लैजाने तर्फ ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ ।

कलिलो उमेरमा विवाह गर्दा हुनसक्ने समस्याको विषयमा समाजलाई पहिला नै राम्रोसँग जानकारी दिनुपर्छ । यस्ता कुरामा जनतालाई राम्रोसँग जानकारी दिनुको अन्य विकल्प प्रभावकारी पनि हुन सक्दैनन् । यो विषयमा दुई चार जना व्यक्तिलाई लाग्दैमा उमेर घटबढ हुने पनि होइन । मुख्य कुरा उमेर घटबढ गर्नु होइन, मुख्य कुरा त समाजका सबै वर्गमा कसरी सचेतना भर्न सकिन्छ भन्ने हो । नेपालको कानुनमा २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाइने व्यवस्था छ । १८ वर्षमा बालिग हुने भएकाले विवाह गर्नका लागि थप दुई वर्षको समय राखिनु व्यवहारिक नहुने कतिपयको तर्क पनि छ । तर अब यस विषयमा बहस भन्दा पनि सचेतनामा बहस ल्याउन जरुरी छ ।

बरु कानुनमा नै दुई अर्थ लाग्ने विषय राख्नु भन्दा यसलाई स्पष्ट ब्याख्या गर्नु जरुरी देखिन्छ । अब १८ वर्षलाई साबालाक र २० वर्षलाई विवाह गर्ने उमेर होइन, दुवैलाई एउटै बनाउनु आवश्यक देखिन्छ । कानुनमा एउटा कुरा भए पनि व्यवहारमा समाजमा के छ भन्ने कुराले ठूलो अर्थ राख्दछ । समाज अहिले पनि पुरानै अवस्था र ढर्राबाट अघि बढेको छ । कानुन बनाउने भनेको समाजलाई हेरेर हो । समाजलाई सुहाउने कानुन बनाउनु आजको आवश्यकता हो । समाज एकातिर कानुन अर्कोतिर भयो भने त्यो प्रभावकारी हुन सक्दैन । तसर्थ कानुन बनाउने र वकालत र पैरवी गर्ने दुवै पक्षले यसका बारेमा बुझ्न जरुरी छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार