क्यान्सर रोग कसलाई लाग्छ, कुन समयमा लाग्छ थाहा पाउन कठिन छ । दिनप्रतिदिन नेपालमा क्यान्सरका बिरामीहरूको संख्या बढिरहेको तथ्यांकहरु सार्वजनिक हुने गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा हरेक वर्ष करिब ३० हजार नयाँ क्यान्सरका बिरामी दर्ता हुने गरेका छन् । यसमध्ये धूम्रपान, मादक पदार्थ सेवन, जंगफुड, असन्तुलित खानपान र जीवनशैलीसँग सम्बन्धित कारणहरूले क्यान्सरको जोखिम बढाएको तथ्य पाइन्छ । नेपालमा फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्राको क्यान्सर मुख्य रहेको छ । पुरुषमा फोक्सो, पेट, आन्द्रा, मुख र थाइराइडको क्यान्सर बढी देखिएको छ भने महिलामा पाठेघरको मुख, स्तन, फोक्सो, पित्तथैली र डिम्बाशयको क्यान्सर प्रमुख छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरी क्यान्सरले गराउने कुल मृत्युको करिब एक तिहाइ सुर्तीजन्य पदार्थको सेवन, मदिरा सेवन, असन्तुलित आहारका कारण र नियमित व्यायामको कमीले हुने गरेको छ । बाँकी क्यान्सरका कारणमा विकीरणको प्रभाव, वातावरणीय प्रदूषणका साथै अन्य सङ्क्रमणहरू रहेका छन् । विकासोन्मुख देशमा भने करिब ३० प्रतिशत क्यान्सर हेपाटाइटिस, ह्युमन प्यापिलोमाभाइरस सङ्क्रमणले हुने गरेको छ । पछिल्लो सन् २०२० को तथ्यांक अनुसार क्यान्सरले नेपालमा १६ हजार छ सय २९ जनाको मृत्यु भएको थियो ।
यद्यपि सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव छ । चिकित्सकहरुका अनुसार क्यान्सर लाग्दैमा डराउनु पर्दैन । प्रारम्भिक चरणमा पहिचान भएमा क्यान्सर निर्मुल हुन्छ । नियमित रूपमा स्वास्थ्यको जाँच गरी प्रारम्भिक चरणमा क्यान्सर पत्ता लागेमा उपचार गरेर रोकथाम गर्न सकिन्छ । क्यान्सर थाहा पाउने बित्तिकै उपचार भए जस्तोसुकै अवस्थाको रोग निको पार्न सकिने चिकित्सकहरु बताउँछन् । क्यान्सरको समयमा पहिचान भएर उपचार हुनसक्यो भने निर्मुल पार्न सकिन्छ । यो तथ्यलाई केलाई रहँदा चिकित्सा विज्ञानले रोकथाम र समयमै पहिचान गर्नका लागि जे जति उपाय निकालेको छ, त्यसबारे पनि धेरैलाई जानकारी छैन । त्यसकारण क्यान्सरका विरुद्ध जनचेतना फैलाउने, यसबाट हुने समस्याका बारेमा छलफल गर्ने र समाधानका उपायहरू खोज्नु सरकार र स्वास्थ्य क्षेत्रसँग सरोकार राख्ने निकायहरुको प्रमुख दायित्व हो ।
अर्कोतर्फ क्यान्सर रोकथामका उपायहरू अपनाउनु सबैभन्दा ठूलो बुद्धिमानी हो । क्यान्सर हुनै नदिनको लागि स्वस्थ जीवनशैली अपनाउन जरुरी छ । नेपालका हरेक व्यक्तिको स्वास्थ्यको पहिलो जिम्मेवारी व्यक्ति स्वयम् हो । त्यसपछिमात्रै सरकार र स्वास्थ्य क्षेत्रमा सरोकारवालाको हो । तसर्थ प्रत्येक व्यक्ति नै पहिला सजग र सतर्क रहन सके घातक क्यान्सरको समस्याबाट ग्रसित हुनुपर्ने अवस्था आउँदैन । मानिसको खानपान र जीवनशैली क्यान्सरको कारण बनेको हुनसक्छ । सन्तुलित भोजन र नियमित व्यायाम गर्ने, नियमित स्वास्थ्य परीक्षण गर्ने, धूम्रपान र मादक पदार्थ सेवन नगर्दा क्यान्सरबाट जोगिन सकिन्छ । अहिले सरकारले एचपीभीको खोप अभियान सञ्चालनमा ल्याएको छ । नेपालमा क्यान्सर रोगको बढ्दो चुनौतीलाई ध्यानमा राख्दै सरकारले पाठेघरको मुखको क्यान्सर रोक्न सुरु गरेको एचपीभी खोप अभियान अत्यन्तै सह्रानीय छ । यो कार्यले नेपाललाई क्यान्सरमुक्त समाज निर्माणतर्फ उन्मुख गराउनको लागि कोसेढुंगा सावित हुने आशा गर्न सकिन्छ ।








