जनताको जितको उत्सव

आज फागुन ७ गते । नेपालमा प्रजातन्त्र दिवसको रूपमा मनाइन्छ । वि.सं. २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक फागुन ७ गते यो दिवस मनाउने गरिन्छ । यो दिवस नेपाली जनताको बलिदान, संघर्ष र विजयी इतिहासको प्रतीकको रुपमा लिइन्छ । सात दशकअघिको यो दिनले निरंकुश जहानियाँ राणाशासनको अन्त्य गर्दै लोकतान्त्रिक शासन व्यवस्थाको ढोका खोलेको थियो । प्रजातन्त्र दिवस केवल एक ऐतिहासिक सम्झना मात्र होइन ।

यो नागरिक अधिकार, स्वतन्त्रता, र उत्तरदायित्वको पुनःस्वीकृति पनि हो । नेपालमा १०४ वर्षसम्म जहाँनियाँ राणा शासन कायम रह्यो । राणाशासनको समयमा जनता स्वतन्त्र थिएनन् । मौलिक हक र स्वतन्त्र अभिव्यक्तिको अवसर थिएन । तर २००७ साल फागुन ७ गते नेपाली जनताको संघर्ष सफल भयो । जनक्रान्तिका माध्यमबाट १०४ वर्षको राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको स्मरणमा सरकारले औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ ।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।
प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरुलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो । जहाँनियाँ राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको घोषणा गरियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो । प्रजातन्त्र स्थापनापछिको यस सात दशकको अवधिमा नेपालले महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ । नागरिक अधिकारको प्रत्याभूति गर्दै विभिन्न सुधारहरू भएका छन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकारको सुनिश्चितता, कानूनी राज्यको स्थापना, र समावेशी शासन प्रणाली प्रजातन्त्रका उपलब्धिहरू हुन् ।

यो अवधिमा प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्दै मुलुकको विकास र समृद्धिमा नेपालको प्रजातान्त्रिक यात्रा सहज भने छैन । संविधान कार्यान्वयन, कानूनी शासनको प्रत्याभूति, सुशासन, भ्रष्टाचार नियन्त्रण, आर्थिक समृद्धि र सामाजिक न्यायका क्षेत्रमा अझै धेरै सुधार आवश्यक छ । नागरिकहरूलाई लोकतन्त्रको सार्थक अनुभव दिलाउन सरकार र नीति–निर्माताहरू उत्तरदायी हुनुपर्छ । प्रजातन्त्र केवल शासन व्यवस्था होइन, यो एक निरन्तर सुधार र सहभागिताको प्रक्रिया हो । प्रजातन्त्र दिवसले हामीलाई हाम्रो अधिकार र कर्तव्यको स्मरण गराउँछ । यो दिनले स्वतन्त्रता, समानता, र न्यायका मूल्यहरूलाई अझ सशक्त बनाउने प्रेरणा दिनुपर्छ । यस अवसरमा सबैले प्रजातन्त्रलाई अझ बलियो बनाउन प्रतिबद्ध हुनुपर्छ । अर्कोतर्फ प्रजातन्त्रमा केही अत्यावश्यक विशेषताहरू अनिवार्य हुनुपर्छ । जनतालाई शासन गर्न जनताबाटै निर्वाचित पदाधिकारीहरू, स्वतन्त्र, निष्पक्ष र नियमितरुपमा आवधिक निर्वाचनहरू, अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकारको प्रत्याभूति, सूचनाको हक र सूचनाका जानकारीका लागि वैकल्पिक स्रोतहरू, संघसंस्थाहरू खोल्न पाउने र उनीहरूको निरन्तरताको प्रत्याभूति र सबै नागरिकहरूको समावेशीतामा शासन प्रणालीले दिने विकास र समानताको सामाजिक न्यायको प्रत्याभूति अहिलेको आवश्यकता हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार