हुम्ला : वषौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका हुम्लाको अदानचुली गाउँपालिका र मुगुको सोरु गाउँपालिकामा चौथो जेनेरसनको मोबाइल डाटा सेवा ‘फोरजी’ सेवा सञ्चालनमा आएपछि त्यहाँका नागरिक खुशी भएका छन् । विसं २०७३ पुस १७ गतेदेखि नेपाल टेलिकमले काठमाडौँ र पोखराबाट फोरजी सुरुवात गरेको जनाइएको छ ।
यसअघि हरेक वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा गएर भिडियो कलदेखि अन्य इन्टरनेट सम्बन्धी काम गरिरहेका त्यहाँका नागरिक शनिबारदेखि घरघरको कुनामै बसेर भिडियोकल गर्न पाएपछि खुशीको सीमा नै नरहेको हुम्ला अदानचुली गाउँपालिका–५ का सिंह बोहराले बताए ।
दुर्गम गाउँमा फोरजी सञ्चालनमा आएपछि हुम्लाको दक्षिणी क्षेत्र ताँजाकोट, अदानचुली र सर्केगाड गाउँपालिका तथा मुगुको सोरु गाउँपालिकासहित बाजुरा र मुगु आसपासका सबै गाउँमा फोर जी सेवा सञ्चालन भएको नेपाल टेलिकमले जनाएको छ । गाउँमै फोरजी सेवा सहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा आएपछि स्थानीयले राहत महसुस गर्नुका साथै स्थानीय तहको दैनिक कार्य सम्पादनमा समेत सहज भएको अदानचुली गाउँपालिका अध्यक्ष मोहनबिक्रम सिंहले बताए ।
गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले आजबाट आफ्नो गाउँपालिकाको केन्द्र नजिकै रहेको लामाकाँधमा राखिएको ‘फोरजी’को टावर सञ्चालनमा आएको र यसले गाउँपालिका भित्रका कुन–कुन बस्तीमा काम गरेको छ जानकारी दिन सबैलाई अनुरोध समेत गरेका छन् । उनका अनुसार फोरजी सेवा विस्तारले गाउँमा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मनोरन्जन तथा सूचना आदान प्रदानको कामसमेत सहज हुनेछ ।
सोरु गाउँपालिका वडा नम्बर ३ को लामाकाँधमा राखिएको टावरले सोरु गाउँपालिकाका केही बस्तीहरु र हुम्लाको ताँजाकोट, सर्केगाड, र अदानचुली गाउँपालिकाका अधिकांश बस्तीहरुमा शुक्रबार दिउँसोबाट सञ्चालन सुरु गरेको छ । अदानचुली च्याममा राखिएको टावर शनिबार दिउँसो १ बजेबाट सञ्चालनमा आउने टावर निर्माणको जिम्मा पाएका अदानचुली गाउँपालिका वडा नम्बर ५ का दीर्घ सिंहले जानकारी दिए ।
च्याममा राखिएको टावर शनिबार सञ्चालनमा आएपछि जिल्लाको तल्लो क्षेत्रका अधिकांश बस्तीहरुमा ‘फोरजी’ सेवा सञ्चालन हुने जनाइएको छ । अदानचुली र सर्केगाड गाउँपालिकाको बीच भाग अर्थात महतारा चौरमा निर्माणधीन टावर सञ्चालनमा आएपछि तल्लो क्षेत्रका सबै बस्तीमा इन्टरनेट सेवा सुचारु हुने नेपाल टेलिकम हुम्लाका रिन्जिन लामाले बताए ।
जिल्ला सदरमुकामबाट निकै दुर्गम गाउँमा फोरजी चल्न थालेपछि अहिले यहाँका स्थानीय निकै खुशी छन् । टावरको निर्माण पूरा भएसँगै यस क्षेत्रका घर–घरमा फोरजी चल्न थालेको अदानचुली गाउँपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत हंस महताराले बताए । ‘दुई वर्षदेखिको निरन्तर प्रयासका बाबजुत आजबाट सञ्चालनमा ल्याउन सफल भएकोमा निकै खुसी ब्यक्त गर्दै अब कदमकदाचित वर्डलिंक र एभरेष्टको टावर डाउन भए पनि आफूहरुको काम अवरोध नहुनेमा ढुक्क छाँै,’ अदानचुली गाउँपालिका–१ कल्खेका अम्मर रावल भन्छन् ‘यसअघि यहाँका बासिन्दा मोबाइलमा कुरा गर्न पनि कता अग्लो डाँडा छ भनेर खोज्दै हिँड्थे । अहिले भने घरमै बसेर आरामले कुरा गर्न सक्ने भएका छौँ । यसले निकै सेवा मिलेको अनुभव भइरहेको छ । अहिले देश तथा विदेशमा रहेका आफन्तसँग भिडियो कल गर्न पाएका छौँ । निकै खुशी लाग्यो ।’
गाउँमा फोरजीसम्मको सेवा पु¥याउन गाउँपालिकाले लामो समयदेखि प्रयास गरिरहेको थियो । गाउँबस्तीमा फोरजी चल्न थालेपछि अहिले यहाँका स्थानीयलाई स्थानीय सरकार घरमै पुगेको महशुस भएको पनि रावलले बताए । पालिकाले विगत दुई वर्षदेखि टेलिकमको केन्द्रीय कार्यालय काठमाडौँसँग निरन्तर पत्राचार, प्रत्यक्ष भेटघाट र अनुरोध तथा समन्वयपछि गत वर्षदेखि यस क्षेत्रमा टावर निर्माण सुरु भएको हुम्ला अदानचुली गाउँपालिकाका अध्यक्ष सिंहले बताए । ‘मैले निरन्तर दवाब दिएकाले यसले छिटो निकास पाई सञ्चालनमा आएको हो,’ उनले भने ।
यस्तै सोरु गाउँपालिकाको लामाकाँधमा राखिएको टावर सञ्चालनमा नआए हुम्लामा सञ्चालनमा नआउने भएपछि सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीलाई निकै छिटो सञ्चालनमा ल्याउनै पर्ने बाध्यता थियो सोही अनुसार आफू पनि भागेका ठेकदाहरुलाई ल्याउन र छिटो काम सञ्चालनमा ल्याउन दुई वर्ष लागेको बताए । ‘अब हरेक गाउँमा फोरजीसहितको टेलिफोन सेवा सञ्चालन भएसँगै सरकारी तथा गैरसरकारी कार्यालय, स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि निकै सहज भएको छ । अबदेखि यहाँका विद्यालय डिजिटल शिक्षा, अनलाइन शिक्षा र स्वास्थ्यमा पनि अनलाइन सेवा सुरु गर्न सकिनेछ,’ उनले भने ।










