नेपालमा देखिएका धेरै समस्या मध्ये धेरै चुनौतीको रूपमा रहेको एउटा समस्या हो,लागु औषध ओसार पसार र यसको प्रयोग । नेपालको पहाडी जिल्लाहरूमा समेत लागु औषधको प्रयोगमा युवायुवतीहरूको संख्या तीब्रबन्दै गएको छ । भविष्यका कर्णधार मानिएका युवायुवती मध्ये कतिपय नेपालमा रोजगारी प्राप्त भएन भन्दै विदेश धाउने गरेका छन् । नेपालमा रहेका युवायुवती मध्ये केहीउमेर बढेसँगै विभिन्न कारणले लागु औषधको सेवनमा फस्दै विभिन्न जघन्य अपराधमा संलग्नता देखिने क्रम पनि उत्तिकै मात्रामा बढिरहेको छ । अर्कोतर्फ नेपालमा बसेर केही गरौँ भन्ने सकारात्मक सोच राखेका युवाहरूका लागि राज्यले प्रदान गर्नुपर्ने सुविधाहरूको मात्रा निकै न्यूनदेखिन्छ । राज्यबाट प्राप्त हुनुपर्ने कतिपय सहयोग, तालिम र सुविधाहरू पनिपहुँचको आधारमा वितरण हुन थालेपछि नेपालमै बसेर केही गरौँ भन्नेहरूको मनस्थिति समेत बदलिँदै गएको अवस्था छ ।
अल्पविकसित मुलुक भएकै कारण भने जस्तो विकासका प्रक्रियाहरू अगाडि बढ्न नसकेका होलान् तर विगत १५ वर्ष अघि देखिको अवस्था र वर्तमान अवस्थाको मात्रै तुलना गर्ने हो भने पनि धेरै परिवर्तनहरू भएका छन् । केहीयुवाहरूमा निराशा भरिएको भान हुन्छ । बढ्दै गरेको सामाजिक सञ्जालको सदुपयोग सँगै त्यसको दुरुपयोग समेत अत्यधिक मात्रामा बढिरहेको छ । वास्तविक तत्थ्य के हो भनेर सोच्ने समय नै नपाएर कतिपयको व्यक्तिगत चरित्रमाथि दाग लगाउने र अनावश्यक फण्डाहरु बनाउने क्रम नेपालमा बढ्दै गएको छ । यस्ता विषयहरूमा नेपालका राजनीतिक दलका कतिपय नेताहरू, अधिकारकर्मीहरू समेत मुछिएको अवस्था छ । क्षणिक स्वार्थलाई मात्र केन्द्रमा राखेर गरिने कामहरूका कारण युवाहरूमा निराशाको विषय बढ्दै गएको छ ।
अर्को तर्फ कमउमेरमाहुने बालविवाह, बालविवाह पछि उमेर नपुग्दै हुने गर्भवतीे, उमेर पुगिसकेपछि त्यो जोडिको बिछोड हुने र उनीहरूबाट जन्मिएका बालबच्चाको लालनपालन लगायतका समस्याले पनि युवा अवस्था हुँदै गर्दाउनीहरूमा मानसिक समस्याहरू बढ्ने गरेको पाइएको छ । सामाजिक रूपमा विभिन्न खाले असमझदारीहरू पैदा भएपछि युवा र युवतीहरू कुलतमाफस्ने जस्ता गतिविधिहरू समाजमा बढ्दै गएका छन् । बढ्दो सहरीकरण र बढ्दो सामाजिक सञ्जालका कारण विभिन्न सुविधाहरूसँगै चुनौतीहरू पनि सँग सँगै पालिकास्तरका सदरमुकामहरू सम्म पुगेका छन्। लागु औषधको जालो पनि सोहीअनुसार गाउँका सदरमुकामहरू सम्म पुग्न थालेका छन् । कतिपय आर्थिक समस्याका कारण, कतिपय पारिवारिक समस्याका कारण त कतिपयनिकै मेहनत गर्दा पनि सफलता प्राप्त गर्न नसकेका कारण मानसिक तनाब बढ्ने र लागु औषधको प्रयोगमा फस्ने समस्याहरू समाजमा बढ्दै गएका छन् ।
अब हरेक परिवारले आफ्नो बालबच्चाको उठबस, रहनसहन, बानी व्यवहारलाई सुक्ष्म रूपमा अध्ययन र अनुसन्धान गर्नु जरुरी छ । कुनै पनि युवा कुलतमा फस्न खोजेको अवस्था वा फसिसकेको अवस्था थाहा पाउने वित्तिकै मानसिक रूपमा कसरी उपचार गर्न सकिन्छ भन्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ । तीनतहका सरकारले कुन स्थानबाट लागुऔषधको कारोबार हुन्छ भनेर निकै सुक्ष्म रूपमा अध्ययन गरेर प्रभावकारी रूपमा निराकरणका उपायहरू अपनाउनुपर्ने आवश्यकता देखिएको छ । युवायुवतीको भविष्यसँगै परिवार र समाजको भविष्य बरबादपार्ने लागू औषधको विरुद्धमा सरकारले थालेको महान् अभियानमा सबैले साथ दिँदै युवायुवतीको भविष्य जोगाउने बारेमा काम गर्नुपर्ने आजको आवश्यकता हो ।





