विद्युत् आपूर्ति अनियमित हुँदा सेवा प्रवाह प्रभावित

हुम्ला : विद्युत् आपूर्ति नियमित नहुँदा जिल्ला अस्पतालको स्वास्थ्य सेवा प्रभावित बनेको छ । हिउँदयाममा दैनिक विद्युत् भारको कटौतीले जिल्ला अस्पतालको सेवा प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.प्रतीक्षा भारतीले बताइन् । अस्पतालमा एक्स–रे, प्रयोगशाला र दमका सेवाहरु सञ्चालनमा कठिनाइ भएको डा. भारतीको भनाई छ । दैनिक दर्जनौँ बिरामी मर्कामा परेका छन् । अस्पतालमै विद्युत् अनियमित भएपछि बिरामीहरुलाई दिनभर कुराउनाका साथै टाढाबाट आएकाहरु बढी समस्यामा परिरहेका छन् ।

तीन, चार दिनयता घाम नलागेर बाक्लो बादल लागेका कारण अस्पतालको सौर्य उर्जाले काम नगरेको र हेल्दुम वितरण केन्द्रले ‘लोडसेडिङ’ १४ घण्टासम्म गर्नुले थप समस्या भएको हो । अस्पतालका शय्यामा भर्ना भएका ६ जना दमका बिरामीलाई अक्सिजन दिन समस्या भएको छ । अधिकांश दमका बिरामीलाई फर्काउनुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ ।

विद्युत् कार्यालयले भने खोलामा पानी कम भएका कारण सदरमुकाम सिमकोटसहित आसपासमा विद्युत् भारको कटौती जनाएको छ । विद्यतु कार्यालय प्रमुख जीतेन्द्र शाहले अस्पतालमा नियमित विद्युत् उपलब्ध गराएको बताउँछन् । ‘अस्पतालको आन्तरिक समस्याले विद्युत् लाइन उपलब्ध नभएको हुनसक्छ, हामीले अस्पताललाई विद्युत कटौती गरेका छैनौँ,’ प्रमुख शाहले भने । अस्पताल मात्रै नभएर अन्य कार्यालय, स्थानीय उद्योग र स्थानीयसमेत विद्युत कटौतीको मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार