म्याद थप्दा पनि दैलेख–नौमूले सडकको कालोपत्रे सकिएन

दैलेख : दैलेख बजारदेखि नौमूले जोड्ने सडकखण्ड अन्र्तगत १३ किलोमिटर सडक कालोपत्रे गर्न बिरुवा सिद्धान्त सिगेश्वर जेभी जोरपाटी काठमाडौंसँग सम्झौता भयो । तीन वर्षको कार्यावधिसहित सो जेभीसँग २०७८ साउन २७ गते ठेक्का सम्झौता भयो । सम्झौतामा तोकिए अनुसार तीन वर्षको अवधिमा निर्माण कम्पनीले काम सम्पन्न गर्न सकेन् । तीन वर्षको अवधिमा काम सम्पन्न नहुँदा सडक कालोपत्रेका लागि २०८२ वैशाख २५ गतेसम्म म्याद थप भयो । तर, थप गरिएको समयावधि सकिनै लाग्दा समेत काम सकिने छाँटकाँट देखिदैन् । कम्पनीले १९ करोड ९४ लाख १७ हजार रुपैयाँमा तेह्र किलोमिटर सडक कालोपत्रे गर्ने गरी कामको जिम्मा पाएको थियो ।

सडक कालोपत्रेका लागि थपिएको म्याद सकिन अब करिब दुई महिना बाँकी छ । तर, सडक कालोपत्रेको भौतिक प्रगति करिब ३० प्रतिशत मात्रै छ । निर्माण कम्पनीको चरम लापरबाहीले सडक कालोपत्रे अलपत्र बन्न पुगेको छ । पछिल्लो केहिसातायता सडक कालोपत्रेको काम अलपत्र पारेर निर्माण कम्पनी सम्पर्कविहीन बनेको बताइएको छ ।

तोकिएको समयमा काम सम्पन्न गर्ने आग्रह गर्दा हेलचक्र्याइँ गर्दै आएको निर्माण कम्पनी हाल सम्पर्क विहीन रहेको पूर्वाधार विकास कार्यालय दैलेखका प्रमुख इन्जिनियर पदमप्रसाद देवकोटाले बताए । जेभीका कार्यकारी निर्देशक प्रविण शाही कार्यालयसँग सम्पर्कमा छैनन् । तीन वर्षमा सक्नुपर्ने सडकको काम चार वर्षसम्म ३० प्रतिशत मात्र हुनुले निर्माण कम्पनी र सम्बन्धित कार्यालयले विकासमा झेल गरेको प्रस्ट्याउँछ ।

सडक कालोपत्रेको कामले तीव्रता नलिनुमा मुख्य जिम्मेवार निर्माण कम्पनी रहेको कार्यालय प्रमुख देवकोटाको भनाई छ । हालसम्मको अवधिमा करिब ३० प्रतिशत मात्र काम गरेको निर्माण कम्पनीको नाममा पाँच करोड ३६ लाख ४३ हजार अर्थात (२६.९) प्रतिशत भुक्तानी भइसकेको पूर्वाधार विकास कार्यालय दैलेखले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
कार्यालयका तर्फबाट तोकिएको समयमा काम सम्पन्न गर्न पटक–पटक आग्रह गर्दा समेत कामले गति लिन नसकेको देवकोटाले बताए । ‘हामीले तोकिएको समयमा काम सम्पन्न गर्न पटक–पटक आग्रह गरेका हौँ । निर्माण कम्पनीले काम नगर्दा समस्या भएको हो । हाल निर्माण कम्पनीका कार्यकारी निर्देशक सम्पर्क विहीन हुनुहुन्छ ।,’ कार्यालय प्रमुख देवकोटाले भने ।

काम अलपत्र पार्ने निर्माण कम्पनीलाई नियम अनुसार कारबाही गर्न प्रक्रिया अघि बढाइएको देवकोटाले बताए । प्रतिस्पर्धामा घट्ने र फिल्ड अध्ययन नगरी ठेक्का हाल्ने परिपाटिका कारण विकासे संरचना निर्माण कम्पनीले अलपत्र पार्ने गरेका छन् ।


निर्माण कम्पनीले सम्झौता अनुसार सडक कालोपत्रेको काम नगर्दा नागरिकलाई यात्रा गर्न असहज हुँदै आएको नौमूले गाउँपालिकाका अध्यक्ष छविराम सुवेदीले बताए । चार वर्षको अवधिमा सडकको केही ठाउँमा मात्र ढलान भएको उनले बताए । ‘हुनुपर्ने गतिमा काम भएको छैन, यही गतिमा अघि बढे १३ किलोमिटर सडक कालोपत्रे गर्ने १५ वर्ष लाग्न सक्छ, काम छिटो गर्न आग्रह गर्न खोज्दा ठेकेदारको फोन उठ्दैन ।,’ अध्यक्ष सुवेदीले भने ।

लामो समयदेखि सडक कालोपत्रेको काम अलपत्र पारेको भन्दै गएको जेठ ३२ गते स्थानीयले रुखमा फोटो टाँसेर निमार्ण कम्पनीका सञ्चालक सीताराम शाहीको खोजी समेत गरेका थिए । दबाबपछि केही समय काम थालनी भएको सडक कालोपत्रेको भौतिक प्रगति हालसम्म निराशाजनक छ । जिल्लामा सञ्चालन भएका विकासे काम अलपत्र पर्नु सम्बन्धित निकायको हेलचक्र्याइँ देखिन्छ ।

‘बजेट अनुसार काम भएको देखिदैन’
दैलेखका प्रमुख जिल्ला अधिकारी नमराज जैसीले बजेट अनुसार दैलेखमा आयोजना÷योजनाको काम नभएको बताए । तीन तहका सरकारले यहाँ विनियोजन गरेको बजेट अनुसार काम नहुने गरेको उनको भनाई छ । जिल्ला प्रशासनले यहाँ सञ्चालित विकासे गतिको अवस्थाबारे चासो राख्दै आएको प्रमुख जिल्ला अधिकारी जैसीको भनाई छ ।

जिम्मा लिएको काम समयमा सम्पन्न गर्ने परिपाटिलाई समाधान गर्ने प्रशासनले निर्माण कम्पनी, स्थानीय सरकारका प्रमुख र सम्बन्धित कार्यालयसँग सहजीकरण बैठक गर्दै आएको छ । ‘विकासे गतिको अवस्थाबारे समन्वयात्मक बैठक गर्दै आएका छौँ, यसले जिल्लाको समग्र अवस्थाको प्ररिवर्तन आउने अपेक्षा हो ।,’ प्रमुख जिल्ला अधिकारी जैसीले भने ।

जिल्लाको समग्र विकासे गतिका विषयमा संघीय, प्रदेश र स्थानीय सरकार मार्फत यहाँ सञ्चालित विकासे आयोजना÷योजनाका विषयमा स्थानीय सरकारका प्रमुखसँगै सम्बन्धित कार्यालयका प्रतिनिधिसँग छलफल भएको प्रमुख जिल्ला अधिकारी जैसीले बताए । समन्वयात्मक बैठकका मुख्य उद्देश्य विकास निर्माणका विषयमा सहजीकरण गर्नु रहेको उनको भनाई छ ।

उनले भने, ‘दैलेखमा तीन तहका सरकारले थुप्रै विकासे योजनामा बजेट विनियोजन गरेको देखिन्छ । निर्माण व्यवसायीले जिम्मा पाएको काम तोकिएको समयमा सम्पन्न नगर्दा समस्या छ । काम गर्दा आइपरेका अवरोध र निर्माण कम्पनीले सम्झौता अनुसार किन काम गर्दैनन् भन्ने बारे अध्ययन गरिरहेका छौँ । विकासे गति अघि बढाउन सम्बन्धित कार्यालयको दायित्व हो ।,’

योजना समयमै सम्पन्न नहुनुमा निर्माण कम्पनी मुख्य जिम्मेवार
विकास निर्माणका काम तोकिएको समयमा सम्पन्न नहुनु निर्माण कम्पनी मुख्य जिम्मेवार रहने स्थानीय सरकारका प्रमुखहरू बताउँछन् । विकासे काममा स्थानीय सरकारका तर्फबाट कुनै पनि असहयोग नरहेको यहाँको गुराँस गाउँपालिकाका अध्यक्ष टोपवहादुर बिसीले बताउँछन् । टेन्डर प्रक्रियाबाट सुरु भएका विकासे काम अलपत्र पार्ने परिपाटी बढ्दै गएको उनको भनाई छ ।

जिल्लामा सञ्चालनमा रहेका विकास योजनाको अवस्था र देखिएका समस्याको समाधानका लागि जिल्ला प्रशासन कार्यालय दैलेखको अगुवाइमा विभिन्न चरणमा बैठक हुने गरेको उनको भनाई छ । मुख्य समस्या निर्माण कम्पनीले काम ओगट्ने तर नगर्ने हो । जिम्मा लिएको कामप्रति सबैले दायित्व बोध गर्नुपर्छ । निर्माण कम्पनी बहाना बनाउँदै काम लम्ब्याउँछन् ।,’ अध्यक्ष बिसीले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार