‘सार्वजनिक जीवनमा महिला, महिलावादी स्मृतिको एक पहल’ प्रदर्शनी

सुर्खेत: नेपाल पिक्चर लाइब्रेरीले आयोजना गरेको फोटो प्रदर्शनी ‘सार्वजनिक जीवनमा महिला, महिलावादी स्मृतिको एक पहल’ को दोस्रो चरण सुर्खेतमा सुरु भएको छ।

महिलाको सार्वजनिक जीवनमा सहभागिता र संघर्षलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रदर्शनी फागुन २६, २७ र २८ गतेसम्म सुर्खेतको घण्टाघरको खुल्ला पार्कमा सञ्चालन हुनेछ।

यो प्रदर्शनी नेपालका विभिन्न समुदायका महिलाको ऐतिहासिक योगदान, राजनीतिक भूमिका, मौखिक इतिहास, सामाजिक आन्दोलन र महिला सशक्तीकरणका महत्वपूर्ण पक्षहरूलाई चित्रण गर्न केन्द्रित छ।

नेपाल पिक्चर लाइब्रेरीले सन् २०१८ देखि संकलन गरेका तस्बिरहरू समेटिएको यो प्रदर्शनी यसअघि काठमाडौं, दिल्ली ९भारत०, कोरिया, सिङ्गापुर र हेल्सिन्की ९फिनल्यान्ड० जस्ता अन्तर्राष्ट्रिय सहरहरूमा समेत प्रदर्शित भइसकेको छ।

स्थानीय तथा ऐतिहासिक महत्त्व नेपालका महिलाहरू सार्वजनिक जीवनमा कसरी अघि बढे भन्ने विषयमा अनुसन्धान गर्दै आएको नेपाल पिक्चर लाइब्रेरीले यो प्रदर्शनीमार्फत नेपालका महिला नेतृत्त्व, सामाजिक योगदान र संघर्षलाई सार्वजनिक रूपमा प्रस्तुत गरेको छ।

प्रदर्शनीको माध्यमबाट ग्रामीण र शहरी क्षेत्रमा रहेका महिलाहरूले सामाजिक परिवर्तनका लागि खेलेको भूमिकालाई उजागर गरिएको छ।

कार्यक्रमका अन्य चरणहरू सुर्खेतपछि यो प्रदर्शनी विभिन्न अन्य स्थानहरूमा पनि आयोजना गरिँदै छ। अगामी चरणहरूमा पोखरा, बाग्लुङ, पाल्पा, बिर्तामोड, विराटनगर, जनकपुर, नेपालगन्ज, भैरहवा, भरतपुर र हेटौंडामा प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ।

प्रदर्शनीमा सबैलाई निःशुल्क प्रवेश यो प्रदर्शनी आम सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ। साथै, प्रदर्शनी स्थलमै यससँग सम्बन्धित पुस्तक पनि खरिद गर्न सकिनेछ।

नेपाल पिक्चर लाइब्रेरीका अनुसार ‘सार्वजनिक जीवनमा महिला’ शीर्षकमा गरिएको यो परियोजना नेपाली महिलाहरूको इतिहासलाई संग्रह गर्ने तथा समाजमा लैंगिक समानताको विषयमा संवाद उत्पन्न गराउने उद्देश्यले अघि बढाइएको हो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार