विद्यालयमा पुग्यो खानेपानी सुविधा, बने बालमैत्री धारा

सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिका वडा नंं २ मोहटीस्थित सामुदायिक माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन् । घरबाट करिब आधा घण्टाको पैदल दूरीमा छ विद्यालय । तरपनि बिनितालाई स्कुल जानै मन लाग्दैन्थ्यो । विद्यालय जानका लागि बिनिताका अभिभावकले दैनिक कर गर्नुपथ्र्यो । किनभने, उनलाई विद्यालय आउन आधा घण्टा लाग्थ्यो तर, विद्यालय आइसकेपछि पानी खान करिब ४५ मिनेट पैदल हिडेर फेरि गाउँ जानुपथ्र्यो । तर, अहिले उनी उत्साहित भएर विद्यालय जाने गरेकी छिन् ।

उनले भनिन्, ‘मलाई पहिले खानेपानीको समस्याकै कारण विद्यालय जान मन लाग्दैन थियो । विद्यालयमा बोतलमा भरेर ल्याएको पानी केहीबेरमा नै सकिहाल्थ्यो । फेरि पानी लिन जान र आउन करिब डेड घण्टाको पैदल हिड्नु पथ्र्यो । पानी पिउन जाँदा थकाई लाग्यो । विद्यालयमा पढ्न मन पनि लाग्दैन थियो । कहिले काँही त पानी खान जाँदा आधा पढाई नै छुट्थ्यो । तर, अहिले हाम्रो विद्यालयमा बालमैत्री धारा बनेको छ । हामीले जति बेला पनि शुद्ध पिउने पानी विद्यालयमै कल कल पिउन पाएका छौँ ।’

सामुदायिक विद्यालय मोहटीमा कक्षा ९ मै अध्यायनरत अर्का छात्र नवीन मिजारको पनि पीडा उस्तै थियो । उनले भने, ‘गाँउमा पानी भर्ने बोतलहरु पनि नपाइने, प्लाष्टिकको बट्टामा पानी भरेर विद्यालय ल्याउनु पथ्र्यो । त्यो पनि दिनभरलाई पुग्दैन थियो । कहिले त साथिहरुले पनि खाइदिन्थे । फेरि पानी लिन जाँदा पढाई नै छुट्थ्यो । त्यसैले विद्यालय आउन मन पनि लाग्दैन थियो । तर, अहिले हाम्रो गाँउमा भन्दा विद्यालयमा पानीको राम्रो व्यवस्था छ । महिला पुरुष शौचालयको पनि उस्तै राम्रो व्यवस्था छ । त्यसैले अहिले खुसी भएर विद्यालय जान मन लाग्छ ।’

बिनिता र नवीन जस्तै आजभोली मोहटीको विद्यालयमा पढ्ने सबै विद्यार्थीहरु खुसी भएर विद्यालय जान थालेका छन् । विद्यालयमा व्यवस्था गरिएको बालमैत्री स्वच्छ खानेपानी धारा र छात्र छात्रा शौचालयले गर्दा यहाँका विद्यार्थीको मुहारमा खुसी ल्याएको छ । उनीहरु सबै दंग छन् । सामुदायिक विद्यालय मोहटीमा कक्षा ६ मा अध्ययनरत उमेश विकले भने, ‘स्कुलमा बालमैत्री धारा छ । सधैं पानी आउछ । शौचालय पनि सफा र सुरक्षित छ । त्यसैले आजकल त स्कुल जान मन लाग्छ ।’

सुन्दा सामान्य जस्तो लाग्न सक्छ, तर मोहटीका विद्यार्थीले वर्षौँदेखि भोगेको पीडा र विद्यालयमा नै खानेपानी उपलब्ध भएपछि उनीहरुमा देखिएको सकारात्मक परिवर्तन उल्लेखनीय छ । दुई महिना पहिले त्यस विद्यालयमा विद्यार्थीको नियमितता थिएन । तर, अहिले निकै परिवर्तन भएको छ । विद्यालयका प्रधानाध्यापक भीमबहादुर राउवतले भने, विद्यालयमा खानेपानी र शौचालयको समस्याले विद्यार्थी नियमित थिएनन् । विद्यालय आएका विद्यार्थीले धेरै समस्या भोगिरहेका थिए । तर, अहिले भेरीगंगा नगरपालिकाको समन्वयमा केएनएफआईडी नेपालले बालमैत्री धारा र बालमैत्री शौचालय निर्माण गरिदिए पछि विद्यालयमा विद्यार्थीको नियमितता ह्वात्तै बढेको छ ।’

उनका अनुसार मोहटी विद्यालयका झण्डै ५ सय विद्यार्थीलाई पानी पिउनकै लागि दिनहुँ समस्या हुन्थ्यो । विद्यालयको सय मिटर तल भेरी बगिरहेको थियो । तर त्यहाँ जान सहज थिएन । विद्यालयको मुनी भीर भएकाले विद्यालय जालीले घेरबार गरिएको थियो । तर केएनएफआईडीको सहयोगमा ७५ मिटर गहिरो डिपबोरिङ खनेर ल्याव टेष्ट गरी १३ लाख लागतमा नियमित शुद्ध पानी निकालिदिएपछि अहिले निकै सहज भएको छ । केएनएफआईडीले नौं लाख रकमको लागतमा बालमैत्री शौचालय पनि बनाइदिएपछि त झन सुविधायुक्त विद्यालय बनेको छ । जसमा भेरीगंगा नगरपालिका, विद्यालय व्यवस्थापन समिति र केएनएफआईडीको उल्लेखनीय भूमिका रहेको छ ।

भेरीगंगा वडा नं. २ को सामुदायिक माविमा मात्र होइन, वडा नं. ४ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा पनि २२ लाखको लागतमा बालमैत्री धारा र बालमैत्री शौचालय निर्माण गरिएको छ । भेरीगंगा वडा नं. २ को सामुदायिक माविमा निर्माण भएको बालमैत्री धारा र शौचालय सोमबार उद्घाटन गर्दै भेरीगंगा नगरपालिका प्रमुख यज्ञप्रसाद ढकालले भने, ‘सहयोगी हातहरुले हाम्रो नगरपालिकाको दुई वटा विद्यालयमा सुविधायुक्त बालमैत्री धारा र शौचालय निर्माण गरिदिए । यो हाम्रालागि र विद्यार्थीका लागि निकै खुसीको कुरा हो । अब नगरका अन्य वडामा रहेका विद्यालयमा पनि सहयोग गर्नका लागि हामीले केएनएफआईडीलाई आग्रह गरेका छौँ ।’

केएनएफआईडीका निर्देशक नारायण गिरीले भेरिगंगा नगरपालिकाका दुईवटा विद्यालय मात्र नभई कर्णालीका विभिन्न जिल्लामा बालमैत्री धारा, शौचालय निर्माणका साथै अन्य सरसफाईका कामहरु पनि भइरहेको बताए । उनले भने, ‘विद्यार्थीहरुको सुविधालाई मध्यनजर गरी हामीले हरेक विद्यालयलाई सुविधा सम्पन्न बनाउने अभियान चलाइरहेका छौँ । तर बनेका यी संरचनाहरुको दिगोपनाका लागि नगरपालिका र विद्यालयले ध्यान दिनुपर्छ ।’

कार्यक्रममा भेरीगंगा नगरपालिका उपप्रमुख धनसरा बोहोराले भेरिगंगा नगरपालिकाले विभिन्न दातृ निकायसँग समन्वय गरी सबै विद्यालयहरुलाई सुविधायुक्त बनाउँदै जाने बताइन् । उनले भनिन्, ‘हामी जनताका समस्याहरु समाधानका लागि अभियानमै छौँ । जसका लागि सहयोगी नियकाहरुसँग समन्वय गरिरहेका छौँ । कार्यक्रममा ओल्डसरी कोरियाकी प्रतिनिधि हेलिम जङले विद्यालयमा बनेका धारा र शौचालयलाई आफ्नै घरको जसरी संरक्षण गर्नुपर्ने बताईन् । उनले भनिन्, ‘विद्यालय हाम्रो हो । विद्यालयमा बनेका संरचनाहरु पनि हाम्रा हुन् । हामीले नै यसको संरक्षण र सरसफाईमा ध्यान दिनुपर्छ भन्ने भावना सबैको हुनुपर्छ ।’ कार्यक्रममा भेरीगंगा नगरपालिका प्रमुख ढकालले बालमैत्री धारा र शौचालय निर्माणको काम समयमै सम्पन्न गर्ने निर्माण व्यवसायी अमर शाही र सहयोगी निकायहरुलाई सम्म्मान पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार