एसइईको पहिलो दिन : समग्रमा शान्तिपूर्ण

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारबाट सुरु भएको छ । देशभरका दुई हजार ७९ केन्द्रहरूमार्फत पाँच लाख १४ हजार विद्यार्थी परीक्षामा सहभागी छन् । नेपाल बाहिर जापानमा रहेको एउटा केन्द्रमार्फत पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले छिटपुट केही घटनाबाहेक समग्रमा शान्तिपूर्ण रूपमा पहिलो दिनको परीक्षा सम्पन्न भएको बताए । समग्रमा एकदमै राम्रो रहेको प्रतिक्रिया दिए । केही परीक्षा केन्द्रहरूमा प्रश्न पत्र आउट भएको विषय, प्रश्न पत्र ढिला पुगेको विषय, चिट चोरेको विषय, परीक्षा हलभित्र मोबाइल फोन लगेको विषय आएको उनको भनाइ छ ।

रौतहटबाट परीक्षा हलमा लगिएका ७६ वटा मोबाइल फोन जफत गरिएको छ । त्यस्तै सिराहामा एक जना निरीक्षकलाई निष्कासन गरिएको उनको भनाइ छ । सिराहामा परीक्षा सुरु भएको २० मिनेटमा नै प्रश्न पत्र बाहिरिएको थियो । लहान नगरपालिका १९ सोनमती गाढास्थित जनता बनवाली माध्यमिक विद्यालय वर्छवा, कल्याणपुर परीक्षा केन्द्रबाट प्रश्न पत्र बाहिरिएको थियो । निजी विद्यालयहरूको सेटिङमा केन्द्राध्यक्ष र प्रहरी प्रशासनको सहयोगमा मोबाइल प्रयोग गरी प्रश्न पत्र बाहिरिएको हो ।

जिल्ला परीक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले भने एसइई परीक्षा मर्यादित बनाउन ५० जना डेडिकेटेड मानिसहरू खटाएका बताए । ‘पात समेत हल्लिन दिइएको छैन, प्रश्न पत्र कसरी बाहिरियो भन्ने विषयमा अनुसन्धान हुँदैछ । कहाँबाट प्रश्न पत्र बाहिरिएको पत्ता लागे कारबाही हुन्छ,’ उनले भने । परीक्षा मर्यादित बनाउन यस वर्ष परीक्षा केन्द्रहरूमा मोबाइल तथा अन्य चिटिङ गर्ने समानमा प्रतिबन्ध लगाइएको छ ।

त्यस्तै जुम्लामा समेत एक परीक्षा केन्द्रमा निर्धारित समयभन्दा केही ढिला प्रश्न पत्र बाँडिएको थियो । ग्रेड वृद्धिका लागि नयाँ र पुराना परीक्षार्थी एउटै ठाउँमा राखिँदा पुराना तर्फका विद्यार्थी केही ढिलागरी प्रश्न पत्र बाँडिएको शर्माले बताए । पहिलो दिन देखिएका कमीकमजोरीलाई सुधार गर्दै दोस्रो दिनको परीक्षालाई थप व्यवस्थित गरिने उनको भनाइ छ । त्यसका लागि जिल्लास्थित परीक्षा समन्वय समिति इकाइ प्रमुखहरू लगायतसँग छलफल गरेर आगामी दिनमा कमजोरीबारे सचेत रहन आग्रह गरिएको अध्यक्ष शर्माले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार