केही दिन यता राजा देशमा चाहिन्छ भन्नेहरूले आन्दोलन गरिरहेका छन् । आन्दोलनका क्रममा देखिएका गतिविधिहरू, राजनीतिक गतिविधिहरू नभएर केवल अराजकताको निकृष्ट रूप भएको बुझिएको छ । आन्दोलनका दृश्यहरूलाई हेर्ने हो भने राजनीतिक विषय भन्दा पनि लुट्ने प्रवृत्तितर्फ युवाहरूको सक्रियता भएको देखिन्छ । यसबाट के कुरा स्पष्ट हुन्छ भने, देशमा अराजकता सृजना गरेर नेपालको शान्ति सुरक्षा खलल पार्न सकिन्छ भन्नेहरूको एउटा जमातले यस्तै अराजक गतिविधिहरूका लागि मानिसहरू परिचालन गरेको स्पष्ट देखिन्छ ।
के गर्दा आन्दोलनको धेरै चर्चा हुन्छ भन्ने हेतुले मात्र आन्दोलन चलाइएको स्पष्ट देखिएको छ । सत्ता परिवर्तनको विषय फरक हो । जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र,जुन गणतन्त्रमा राजालाई फालिएको थियो । अहिले उनै राजा पुनः आउन सक्लान् त ?यस्तो अवस्थाभित्रपक्कै पनि गणतन्त्रवादीहरुका केही न केही कमजोरी होलान् । तर, पुनः निरङ्कुश तन्त्र चाहियो भनेर जनताहरू अराजक शैलीमा किन र कसका कारणले प्रदर्शनमा उर्लिएका छन् । यो विषयमा सरकारले गहन रूपमा अध्ययन गरेर दोषीलाई तत्कालै कारवाहीको प्रक्रियामा ल्याउनुपर्ने आवश्यकता देखिएको छ ।
आन्दोलन के का लागि ? शान्तिका लागि, विकासका लागि, सुशासनका लागि वा आन्दोलन चाउचाउ लुट्नका लागि ?अनि पत्रकारलाई ज्यूँदै जलाउनका लागि ? यस्तै अराजक आन्दोलनले स्थान पाउने हो भने एक हजार जनाको समूह निर्माण गरेर आन्दोलन गरेर कसैको घर लुटिदिने, कसैको व्यापार फोडिदिने कसैको गरगहना लुटि दिने यही प्रवृत्ति अरू एक हजार जना साथमा भएकाहरूले गर्न थाले भने देशको समग्र विकासको अवस्था कहाँ पुग्छ ? यसै पनि दुई वटा शक्ति राष्ट्रहरूको चपेटामा परेको नेपालमा केही गर्छु भन्नेहरूलाई भन्दा कसरी नेपालको बरबादी बनाउने भन्नेहरूकै हाली मुहाली हुँदै आएको छ । अहिलेसम्म कसैले पनिदुई तिहाइ बहुमतको सरकार बनाउन नसक्नु, राजनीतिकदलहरू बीच पनि सत्ता प्राप्तिकै नाममा यो वा त्यो बहानामा एक आपसमा अनावश्यक दोषारोपण गर्नु, सुशासन प्राप्ति, दिगो विकासमा ध्यान दिन नसक्नु यस्ता धेरै समस्याहरूले जनतामा निराशा छाएको छ ।
किन एउटा नागरिक एक पोका चाउचाउ र चार दाना स्याउ लुट्न गयो, कसले के भनेर परिचालन गर्र्यो यो विषय गम्भीर हो । यही अनुसार नेपालका राजनीतिकदलहरूले आफ्ना गतिविधिहरू सुधार गर्नुपर्ने देखिन्छ ।





