विश्वका सम्पन्नशाली मुलुहरु पर्यटन क्षेत्रको विकासको माध्ययमबाट मुलुक समृद्धिको यात्रा गरेका छन् । त्यस्ता उदाहरणीय मुलुकहरु कयौन छन् । जहाँ देशको आर्थिक वृद्धि, राजस्व आम्दानी र पूर्वाधार विकास, मुलुकको प्रतिष्ठाको श्रीवृद्धि, विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जनाका लागि पर्यटन उद्योग महत्वपूर्ण बनेका छन् । विकसित देशहरूले पर्यटनमार्फत समृद्धिको यात्रा नै तय गरिरहेछन् । देशको आय र आकर्षण बढाइरहेछन् । बहुआयामिक लाभ लिइरहेछन् । विकसित मुलुकहरुले पर्यटन क्षेत्रको विकासको माध्ययमबाट जसरी मुलुकलाई सम्पन्नता बनाईरहेका छन् त्यस्तै सम्भावना नेपालमा पनि छ । नेपाल त्यसमा पनि कर्णाली प्रदेशमा प्रचुर पर्यटकीय सम्भावनाहरु छन् । कर्णालीमा के छैन् ? सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक र धार्मिक सम्पदामात्रै होइन् यहाँ प्राकृतिक रुपमा पनि सम्पन्नशाली छ । कर्णाली क्षेत्र अध्ययन तथा अनुसन्धानका हिसाब उत्तिकै महत्वपूर्ण छ । सुर्खेतको काँक्रेबिहार, बुलबुले ताल, दैलेखको पञ्चकोशी तिर्थस्थल, महाबुलेकदेखि मुगुको रारा ताल तथा शे–फोक्सुण्डो ताल लगाएत मुलुककै उत्तम गन्तव्य हुन् । यीमात्रै होइन कर्णालीका मूर्तअमूर्त सम्पदाहरु छन्, जो घुम्न लायक छन् । यहाँका भाषा, साहित्य, संस्कृति, कला, पुरातत्व, धर्म र इतिहास उत्तिकै महत्वपूर्ण रहेका छन् ।
कर्णाली जल जमिन र जडीबुटीको राम्रो सम्भावना छ । तर, त्यसको सदुपयोग हुन सकेको अवस्था छैन् । कर्णालीमा उद्योग स्थापना, विद्युत् उत्पादन, जडीबुटीको प्रशोधन र पर्यटन क्षेत्रको प्रचार प्रसार उत्तिकै जरुरी छ । गरिबको उपमा पाएको कर्णालीमा सम्भावनाका अथाह स्रोतहरु छन् । पर्यटन विकासको बाधा भनेकै ती सम्भावनाहरुको यथोचित पहिचान र विकास नहुनु नै हो । कर्णाली पर्यटकीय गन्तव्य बन्न नसक्नुमा पहुँचको कमी पनि एउटा कारण हो । कर्णालीमा रहेका पर्यटकीय स्थलसम्म पुग्ने उपयुक्त सडक नहुनु, सुविधायुक्त होटल नहुनुपनि कर्णालीको पर्यटन विकासमा सोचेको जसरी विकास नहुनुका कारणहरु हुन् । यी कारणले कर्णालीको पर्यटन विकास सधैँ पछि परिरहेको अवस्था छ । यी र यस्ता कारणहरुले कर्णालीका पर्यटकीय क्षेत्रमा अपेक्षाकृत पर्यटक आउन सकेका छैनन् । आएका विदेशी पर्यटकहरुको यकिन तथ्यांक राख्ने प्रणालीको विकास हुन नसकेको देखिन्छ ।
कर्णालीको समृद्धिको यात्रामा पर्यटन विकास प्रमुख माध्ययम बन्न सक्छ । त्यसका लागि पर्यटन क्षेत्रको प्रवद्र्धन जरुरी छ । पर्यटन क्षेत्रको प्रर्वद्धनमार्फत नै कर्णालीको समृद्धि सम्भव छ भन्ने विषय तीनै तहका सरकारले बुझ्न जरुरी छ । पर्यटकीय क्षेत्रको प्रवर्धन गरेर समृद्धि प्राप्त गर्न सकिन्छ भन्ने विषय सरकारको प्राथमिकतामा पर्नुपर्छ । सोहि अनुसारको पर्यटन क्षेत्रको विकासका लागि लगानि गर्नुपर्छ । लगानीको प्रभावकारीताबारे सरकारले यथोचित ध्यान दिनुपर्छ । अहिलेको सन्दर्भमा कर्णालीमा रहेको पर्यटन क्षेत्रमा सरकारले लगानी गरेअनुसार प्रतिफल प्राप्त सकेको देखिदैन् । पर्यटकलाई जबरजस्ती आउनेभन्दा पनि स्वस्फूर्त रूपमा आउने वातावरण सिर्जना गर्नेतर्फ सरकारले ध्यान दिन जरुरी छ । पर्यटन क्षेत्रको विकासका लागि बनेका नीतिहरुसँगै वार्षिक नीति कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयन अहिलेको आवश्यकता हो । अनीमात्र यहाँको पर्यटकीय क्षेत्रबाट कर्णालीको आय र आकर्षण बढ्नेछ भने बहुआयामिक लाभ लिनेछ ।





