दैलेखले दिएको आशामा झेल नहोस्

दैलेख धार्मिक, पुरातात्विक एवं सांस्कृतिक सम्पदाको हिसावले ऐतिहासिक जिल्ला हो । यहाँ रहेको पञ्चकोशी तिर्थस्थल क्षेत्रमा सदिऔँदेखि निरन्तर ज्वाला बलिरहेको छ । नेपालकै प्रसिद्ध पञ्चकोशी तिर्थस्थलमध्ये श्रीस्थान, नाविस्थान र पादुकामा ज्वाला बलिरहेको छ । त्यहाँ बग्ने खोलाको पानी माथीपनि आगो बल्छ । अधिकाँशले यसलाई दैवी शक्तिको कारण भन्छन् । स्थानीयले दैविशक्तिको कारण ज्वाला बलिरहेको विश्वासमा पुजापाठ गर्छन् । श्रीस्थान र नाविस्थान क्षेत्रमा अहिले पनि बाहिरी भागमै कच्चा पेट्रोलियम पदार्थ देखिने गरेको छ । कतिपयले ज्वाला बलिरहेकोले यस क्षेत्रमा पेट्रोलियम पदार्थ भएको अनुमान लगाउँथे । दैलेखका खोलामाथि पेट्रोलियम पदार्थ तैरिएको, मन्दिरमा ग्यास बलिरहेको लगायतबाट त्यहाँ पेट्रोलियम पदार्थ रहेको अनुमान गरिएको थियो । अहिले आएर त्यो अनुमान पुष्टि नै भएको छ । नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता बमोजिम चाइना–एड अन वेल एण्ड ग्यास रिसोर्स सर्भे प्रोजेक्ट अन्तर्गत खानी तथा भूगर्भ विभाग, चाइना जियोलोजिकल सर्भे (सिजीएस) तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीबाट अन्वेषणात्मक (वेल) ड्रिलिङ्गले यहाँ ठूलो परिणाममा मिथेन ग्यास रहेको पुष्टि भएको छ । चाइना जियोलोजिकल सर्भे (सिजीएस)ले नेपाल सरकारलाई दिएको प्रारम्भिक प्रतिवेदनले नेपाललाई ५० वर्षलाई पुग्ने मिथेन ग्याँस पुष्टि भएको छ । यो नेपालका लागि सुखद् समाचार हो ।
दैलेखको भैरबी गाउँपालिका–१ जलजलेमा २०८१ बैशाख २८ गतेबाट ड्रिलिङ्ग कार्य प्रारम्भ गरिएको थियो । पेट्रोलियम अन्वेषणको क्रममा मिथेन ग्याँस भेटिएको खबरले अहिले आम नेपालीसहित छिमेकी मुलुकहरुको पनि ध्यान तानेको छ । दैलेखमा मिथेन ग्यास रहेको पुष्टि हुनुले नेपालको सम्भावित ऊर्जा भविष्यको ढोका खोलेको छ । नेपालजस्तो ऊर्जा आयातमा निर्भर राष्ट्रका लागि यो समाचार कुनै चानचुने विषय होइन । यो अवसर हो । साँचो अर्थमा नेपाल आत्मनिर्भर बन्ने अवसर हो । आज हामी अरब राष्ट्रबाट तेल आयात गर्छौं । विदेशी मुद्रा सिधिन्छ । आर्थिक घाटा बढ्छ । यदि यो परियोजना यथार्थमा परिणत भयो भने हामीले त्यो झेल्नु नपर्ने दिन नजिक हुन सक्छ । तर यस्तै सम्भावना अघिल्ला दशकहरूमा पनि आएका थिए । ती योजनाहरु बनाइयो, ढोल बजाइयो, तर कार्यान्वयन अलपत्र प¥यो । त्यस्ता उदाहरणहरु कयौन छन् । यसपटक पनि यदि यस्तै भयो भने हामी फेरि एउटा ‘झेल’ को थप सिकार बन्ने निश्चित जस्तै छ ।
अहिलेको सवाल केवल प्रविधिको होइन, इच्छाशक्तिको हो । राजनैतिक इच्छाशक्ति, पारदर्शी नीति, प्राविधिक दक्षता र स्थानीय सहकार्य । यी सबै मिलेर मात्र यस्तो परियोजना सफल हुन सक्छ । चीनसँगको सहकार्यको पारदर्शिता, परीक्षणको निष्पक्षता र वातावरणीय प्रभावको समुचित मूल्यांकन अबको आवश्यकता हो । दैलेखको पवित्र धार्मिक स्थानहरूमा ग्याँसका ज्वालाहरू बलेका थिए । अहिले आएर त्यसको वैज्ञानिक पुष्टि प्राप्त भएको छ । यो परियोजना दैलेखमात्रै होइन सिंगो नेपाल र नेपालीका लागि विशेष छ, महत्वपूर्ण छ । अब यो केवल ग्याँस उत्खननको कुरामात्र होइन, यो नेपाल भविष्य निर्माण र आर्थिक समृद्धिको सवाल हो । यो विषय आत्मनिर्भर अर्थतन्त्रसँग गाँसिएको छ । दैलेखको जलजलेले देखाएको यो सम्भावनालाई केवल चर्चा र परिचर्चाको विषय मात्रै बन्नुुहुँदैन् । नेपालका राजनीतिक नेतृत्वले धेरै पटक सपना देखाएको छ, यसपटक निराश बनाउनुहुँदैन् । दैलेखले अब देशलाई ग्याँस दिनेछ । त्यसका लागि राजनीतिक नेतृत्व र सरकारको इच्क्षाशक्तिको जरुरी छ । अन्तराष्ट्रिय शक्ति राष्ट्रहरुको दवावमा परेर यो महत्वपूर्ण आयोजनालाई बिचैमा अलपत्र पार्ने र फेरी आम नेपालीको विकास, समृद्धि र आर्थिक विकासको सपनामा झेल गर्नु कदापी राम्रो हुनेछैन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार