लागु पदार्थ विरुद्ध कठोर बनौँ

युवाहरू भविष्यका कर्णधारहरू हुन, युवाहरूको भविष्य जोगाउने विषयमा विभिन्न बहसहरू सुरु नभएका पनि होइनन् तर लागु औषधको ओसार पसार र प्रयोगको तत्थ्याँकलाई हेर्ने हो भने नेपालका युवा पंतीहरु यसको निकै मारमा परेको अवस्था छ । विभिन्न निकायहरूले सार्वजनिक गरेको तत्थ्याँकलाई आधार मान्ने हो भने नेपालमा आगामी तीस वर्षपछि युवापंतीमा निकै ठुलो समस्या आउन सक्ने देखिएको छ । युवा युवतीहरूमा देखिएको कुलतका कारण त्यसले अझै ठुलो खतरा निम्ताउने सम्भावना देखिएको छ ।
एउटा पुस्ता नै कुलतमा फस्ने बचेखुचेको पुस्ता विदेश पलायन हुने, जसका कारण जनसङ्ख्यामा प्रत्यक्ष असर गर्ने विषयलाई नेपाल सरकारले अहिले देखिनै प्रभावकारी कामको सुरुवात गर्नुपर्ने देखिएको छ । अर्कोतर्फ छिट्टै धनी बन्ने होडबाजी, सामाजिक सञ्जालले ल्याएका विभिन्न विकृतिहरूका विषयमा सरकारले विशेष योजना ल्याएर त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने देखिएको छ ।
दश वर्ष अघि गाउँमा सडक नभएका कारण समस्या भोगेका युवा देखि वृद्धहरू अहिले सडक पुगिसकेपछि सुविधायुक्त स्थानमा बसाई सरेका छन्, दश वर्ष अघि भारतलाई गन्तव्य बनाएका धेरै युवाहरू अहिले सात समुन्द्र पारीका देशहरूलाई आफ्नो गन्तव्य बनाएका छन् । कतिपयले राम्रो आम्दानी गरेको भए पनि कतिपय विभिन्न समस्यामा परेर अकालमै ज्यान गुमाउन बाध्य भएका छन् । सन्तान जन्माउने विषय कम हुँदै जानु र कतिपय युवाहरू कुलतमा फस्नुले पनि नेपालमा युवा युवतीहरूको भविष्य समस्यामा पर्न सक्ने देखिएको छ । जो आगामी दिनमा देशका सबै क्षेत्रको प्रतिनिधित्व गर्नेहरु हुन तिनीहरुनै अहिले बिग्रेभने समाज कसरी राम्रो होला ?
विशेष गरेर घर परिवारबाट माया नपाएर, कतिपय धनी परिवारका युवाहरू मातिएर, कतिपय बाध्यताले र कतिपय साथीभाइको लहलहैमा फसेर लागु पदार्थ सेवन र ओसार पसा रमा लागेको देखिन्छ । अहिले नेपालका मुख्य सहरहरू मात्र हैनन् ७ सय ५३ स्थानीय पालिका मुख्य केन्द्रहरू, सबै जिल्ला सदरमुकामहरूमा लागु औषधको सञ्जाल विस्तार भएको अवस्था छ । एउटा युवा लागु औषधमा फसे लगत्तै उसको घर परिवार, टोल र वडा समेत तनावमा परेको अवस्था छ । यस्ता विषयहरूलाई तीनै तहका सरकारहरूले गम्भीरताका साथ लिँदै कुलतमा फसेका युवाहरूलाई समाजमा सम्मानपूर्वक बाँच्न सक्ने आधार तयार गर्नुपर्ने देखिन्छ । कतिपय जानीजानी कानुन उलङ्घन गर्नेहरूलाई कडा भन्दा कडा कानुनी सजाएको व्यवस्था गर्दै युवा युवतीहरूलाई क’लतबाट जोगाउनु अहिलेको आवश्यकता हो ।
आफ्नो गाउँ समाजमा त्यस्तो अवस्था देखिएको सङ्केत पाउने बित्तिकै पहिलो चरणमा घर परिवारलाई खबर गर्ने, घर परिवारले पनि वास्ता नगरेको खण्डमा टोल समाजका विशेष व्यक्तिहरूले सम्झाउने र यती गर्दा पनि अटेर गरेको खण्डमा कानुन अनुसार कारबाहीका लागि सम्बन्धित निकायमा तत्कालै खबर गरेर सभ्य समाज निर्माणका महत्वपूर्ण मानिएका युवाहरूको भविष्य जोगाउनुपर्ने देखिएको छ । लागु औषध समाजको क्यान्सर हो त्यसैले यो विरुद्ध कठोर भएर अभियान थाल्नु अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार