जुम्ला : कर्णाली रामजमार्गअन्तर्गत जुम्ला खण्डमा गरिएको कालोपत्रे गुणस्तरहीन देखिएको छ । चन्दननाथ नगरपालिका–७ स्थित ट्राफिक कार्यालय नजिक कालोपत्रे उक्किएपछि गुणस्तरहीन भएको पाईएको हो ।
सडक डिभिजन जुम्लामार्फत उज्ज्वल सानदार जेभी निर्माण कम्पन्नीले गरेको कालोपत्रे गरेको हो । ठेकेदारले गुणस्तरहीन कालोपत्रे गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।
रोलर लगाएर गरिएको कालोपत्रे (पिच) स्थानीयले हातले नै उक्काएका छन् । सडकमा गुणस्तरहीन कालोपत्रे गरिएको भन्ने विषयमा चौतर्फी विरोध भएको छ । उक्किएको कालोपत्रे घटनाका विषयमा जुम्लाका राजनीतिक दलहरूले चासो देखाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक मक्करबहादुर भण्डारीले गुणस्तरहीन कालोपत्रे सडकका विषयमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गरिएको बताएका छन् । ‘सबैको नजर पर्ने ठाउँमै गुणस्तरहीन सडक निर्माण गरिएको छ, अन्य ठाउँमा कस्तो होला, यो चासोको विषय बनेको छ,’ उनले भने ।
नेकपा माओवादी केन्द्र चन्दननाथ नगर अध्यक्ष सुरेन्द्र महतका अनुसार विकास निर्माणका काममा गुणस्तरहीनदेखि आर्थिक अनियमितताका काम भएका छन् । तर, अख्तियारप्राप्त निकाय जिल्ला प्रशासन कार्यालयले चासो नदेखाएको पाईएको छ ।
प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले गुणस्तरहीन कालोपत्र उक्किएको विषय सामाजिक सञ्जालमा देखिएपछि सडक डिभिजनका कर्मचारीलाई प्रशासनमै बोलाएको बताएका छन् । गुणस्तरहीन पिचका विषयमा आवश्यक कारबाही हुने प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।










