अगुवा किसान ‘वडाध्यक्ष’

‘राजनीतिक व्यक्ति आत्मनिर्भर हुनुपर्छ भन्ने हेतुले उत्पादनमा होमिएको थापाको मूल पेसा कृषि हो । बिहानको झिसमिसेदेखि तरकारी बारीमा व्यस्त रहँदै आएका उनले वार्षिक तरकारी बिक्रीबाट आठ लाख बढी आम्दानी गर्दै आएका छन् । गाउँका अरूलाई कृषि उत्पादनमा लाग्न प्रेरणा प्रदान गर्ने ‘वडाध्यक्ष’ थापा गाउँका अगुवा किसान हुन् ।’

दैलेख : मूलधारको राजनीतिमा लागेकाहरूले खासै आत्मनिर्भरताको पाटो अँगालेको पाइँदैन । तर, राजनीति पेसा होइन सेवा हो भन्ने भावनाबाट प्रेरित दैलेखको नारायण नगरपालिका–२ का ‘वडाध्यक्ष’ रेसमबहादुर थापा कृषि पेसामा आत्मनिर्भर जनप्रतिनिधि हुन् । तरकारी खेतीबाट वार्षिक मनग्य आम्दानी गर्दै आएका उनले अगुवा किसानका रूपमा परिचय बनाएका छन् ।

उमेरले चार दशक नाघेका थापालाई राजनीति पेसा हो लाग्दैन । बिहानको झिसमिसेदेखि तरकारी बारीमा व्यस्त रहँदै आएका उनले हालका वर्षहरूमा करिब पचास रोपनी जमिनमा कृषि खेती गर्दै आएका छन् । सिजन अनुसारको कृषि कर्ममा होमिएका उनी गाउँका अरूलाई उत्पादनमा लाग्न प्रेरणा प्रदान गर्दै आएका छन् । उनले आफ्नो बारीबाट उत्पादित तरकारी निर्यातबाट वार्षिक आठ लाख बढी आम्दानी गर्दै आएका हुन् ।

कार्यालय समयसम्म वडा कार्यालयमा व्यस्त रहने थापाको ध्यान जनताको सेवा र कृषि कर्ममा बाहेक अनेत्र छैन । बिदा र साँझ÷बिहान बचेको समयको भरपुर सदुपयोग गर्दै थापाले सफल जनप्रतिनिधिसँगै असल किसानको परिचय बनाएका छन् । उनी भन्छन्, ‘सेवा भावले राजनीतिमा जोडिएको हुँ । जनप्रतिनिधि र नेता आत्मनिर्भर हुनुपर्छ भन्ने हेतुले विगत दुई दशकदेखि कृषि कर्ममा होमिएको छु । कर्मले सन्तुष्टिसँगै सफलतातर्फ लैजान्छ ।,’

उनको बारीमा अहिले विभिन्न जातका तरकारी प्रशस्त पाइन्छन् । बाझो परेको जमिनको सदुपयोगले परनिर्भरता हट्ने भएकाले व्यक्तिगत लगानीमा २०६० सालदेखि तरकारी खेती सुरु गरेको उनले बताए । ‘करिब पचास रोपनी जमिनमा सिजन अनुसारको तरकारी खेती गर्दै आएको छु । वर्षमा करिब आठ लाख बढी रुपैयाँको तरकारी बारीबाट निर्यात हुँदै आएको छ । गाउँका अन्य स्थानीय समेत कृषि कर्ममा होमिएका छन्,’ उनले भने ।

आगामी वर्ष कृषि खेतीको दायरा वृद्धि गर्ने स्वच्चमा रहेका ‘वडाध्यक्ष’ थापाले हाल कृषि खेतीका माध्यमबाट पाँच जनालाई रोजगारी प्रदान गरेका छन् । जनताको सेवामा बढी समय व्याप्त गर्नुपर्ने कारणले उनले पाँच जनालाई मासिक तलबी रोजगारी प्रदान गरेका हुन् । उनले भने, ‘जनशक्ति थपेर उत्पादनलाई बढवा दिँदै आएको छु । काम खोज्न बाहिर जानुपर्ने बाध्यतामा रहेका पाँच जनाले स्थानीय स्तरमा रोजगारी पाउनुभएको छ ।,’

कृषि गाउँका रूपमा परिचित नारायण नगरपालिका–२ जाहारकोटमा वर्षमा करिब एक करोड बराबर रुपैयाँको तरकारी उत्पादन हुने गरेको छ । ‘वडाध्यक्ष’ थापाको मात्र नभई गाउँका अन्य स्थानीयको मूल पेसा पछिल्ला वर्षहरूमा कृषि हो । दैलेख सदरमुकाम नजिकै पर्ने जाहारकोट गाउँमा उत्पादन भएको तरकारी यहाँको आवश्यकता धानेर मागका आधारमा सुर्खेत, नेपालगन्ज लगायतका अन्य बाहिरी जिल्लाहरूमा निर्यात हुँदै आएको छ ।

बजारीकरणको छैन झन्झट
पछिल्ला वर्षहरूमा तरकारी बिक्रीका लागि डोकोमा डुलाउनुपर्ने जाहारकोटका किसानको बाध्यता हटेको छ । गाउँमा सञ्चालनमा आएको सहकारीले किसानको उत्पादन खरिद गरेर बिक्री गर्न थालेपछि सहकारीमा आबद्ध गाउँका किसानले डोकोमा तरकारी डुलाउनुपर्ने बाध्यता हटेको हो । गाउँमा सञ्चालनमा रहेको कृतिदेवल सहकारी संस्थाले उत्पादित तरकारी गाउँमै खरिद गर्न थालेसँगै बिक्रीमा सहजता भएको स्थानीय कृषक कल्पना भण्डारीको भनाई छ ।

सहकारीले तरकारी खरिद गर्न थालेपछि उत्पादन खेर जाने किसानको झन्झट हटेको छ । स्थानीय किसान वीरबहादुर थापा भन्छन्, ‘सहकारीले उत्पादनलाई बारीमा आएर लैजान्छ । पहिलेको जस्तो बिक्रीका लागि डोकोमा बजार डुलाउनुपर्ने बाध्यता छैन । सहकारीलाई तरकारी दिएर हातमै पैसा बुझ्दै आएका छौँ । गाउँको उत्पादनले गाउँमै पैसा भित्राएको छ । पछिल्ला वर्षहरूमा गाउँका सबै उत्पादनमा होमिएका छौँ । सहकारीमा आबद्ध हुने किसानको संख्या समेत वृद्धि भइरहेको छ ।,’

हाल सहकारीमा कृषि कर्ममा होमिएका चार सय ६२ जना कृषक आबद्ध छन् । किसानले उत्पादन गरेको तरकारी सहकारीले सोझै खरिद गर्ने गरेकाले पछिल्ला वर्षहरूमा सहकारीमा आबद्ध हुने किसानको संख्या वृद्धि हुँदै गएको सहकारीका व्यवस्थापक रोहित भण्डारीले बताए । सहकारीमा आबद्ध किसानबाट आर्थिक वर्ष २०८०÷०८१ को एक वर्षको अवधिमा ६१ लाख ३२ हजार ८ सय ७० रुपैयाँको तरकारी खरिद गरिएको उनले बताए ।

खरिद गरिएको तरकारी दैलेख लगायतका अन्य बाहिरी बजारमा बिक्री गर्दा एक वर्षको अवधिमा सहकारीले ७९ लाख ५१ हजार आम्दानी गरेको व्यवस्थापक भण्डारीको भनाई छ । किसानले राज्यका निकायबाट पाउने अनुदानका लागि सहकारीले सहजीकरण गर्दै आएको भण्डारीले बताए । ‘राज्यका निकायसँगको समन्वयमा किसानलाई बिउँ, कृषि टनेल, प्राविधिक ज्ञान लगायतका तरकारी खेती सम्बन्धी कुरा सहकारी मार्फत उपलब्ध गराउँदै आएका छौँ । एकद्धार प्रणालीबाट काम हुँदा किसानलाई सहज भएको छ ।,’ व्यवस्थापक भण्डारीले भने ।

दैलेखमा पछिल्ला वर्षहरूमा कृषि पेसामा आबद्ध हुने नागरिकको संख्या वृद्धि हुँदै गएको कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख दशरथ पाण्डेको भनाई छ । ‘केही वर्ष यता व्यावसायिक कृषि खेतीतर्फ नागरिकको आकर्षण बढ्दो छ । व्यावसायिक उत्पादनमा जोडिएकालाई राज्यको नीति अनुसार सहयोग गर्दै आएका छौँ ।,’ कार्यालय प्रमुख पाण्डेले भने । दैलेखमा कुल ४३ हजार १ सय २१ हेक्टर जमिन खेतीयोग्य रहेको छ भने त्यसको तीन हजार ८ सय हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिन्छ ।

आर्थिक वर्ष २०८०÷०८१ मा कृषि विकास कार्यालय दैलेखले व्यावसायिक कृषि पेसामा संलग्न दुई सय ४६ कृषि समूह÷कृषि सहकारी संस्था÷कृषि फर्म र कृषि उद्यम सेवाग्राहीलाई आवश्यक कृषि उपकरण सहित अन्य अनुदान प्रदान गरेको छ । सहकारीमार्फत कृषि कर्ममा होमिएका किसानलाई अनुदानमा एकरूपता ल्याउने उद्देश्यले कृतिदेवल सहकारीका माध्यमबाट आवश्यकताका आधारमा कृषि उपकरण सहित अन्य अनुदान उपलब्ध गराउँदै आएको कार्यालय प्रमुख पाण्डेले बताए ।

स्थानीय स्तरमा व्यावसायिक कृषि क्षेत्रमा होमिएका निसानलाई स्थानीय सरकारले समेत माग र आवश्यकताका आधारमा सहयोग गर्दै आएका छन् । जाहारकोटका किसानले उत्पादन गरेको तरकारीलाई सहज रूपमा बजारीकरण गर्ने उद्देश्यले त्यहाँका किसानको हितमा काम गर्दै आएको र कृतिदेवल सहकारीलाई अनुदानमा कृषि एम्बुलेन्स लगायतका सवारी साधन उपलब्ध गराइएको नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माले बताए ।

नगरपालिकाले युवालाई स्थानीय स्तरमा रोक्न एक टोल एक उत्पादन कार्यक्रमलाई अघि सारेको नगर प्रमुख शर्माको भनाई छ । एक टोल एक उत्पादन कार्यक्रम ४० वर्ष मुनिका युवा समेटिने छन् । ‘व्यावसायिक कृषि खेतीमा लाग्न चाहना भएका युवा÷युवतिका निम्ति हामीले आर्थिक वर्ष २०८१÷०८२ बाट एक टोल एक उत्पादन कार्यक्रमको थालनी गरेका छौँ । यसको मूल उद्देश्य युवालाई स्थानीय स्तरमा स्वरोजगार बनाउनु हो ।,’

दशरथ पाण्डे, कार्यालय प्रमुख
कृषि विकास कार्यालय, दैलेख
‘जम्मा खेतीयोग्य जमिनको तीन हजार ८ सय हेक्टर क्षेत्रफलमा कृषि खेती गरिन्छ । व्यावसायिक उत्पादनमा लागेकालाई राज्यको नीति अनुसार सहयोग गर्दै आएका छौँ । आर्थिक वर्ष २०८०÷०८१ मा कार्यालयले व्यावसायिक कृषि पेसामा लागेका दुई सय ४६ कृषि समूह÷कृषि सहकारी संस्था÷कृषि फर्म र कृषि उद्यम सेवाग्राहीलाई आवश्यक कृषि उपकरण सहित अन्य अनुदान प्रदान गरेका छौँ ।’

रोहित भण्डारी, व्यवस्थापक
कृतिदेवल सहकारी संस्था, दैलेख
‘कृषि कर्ममा होमिएका चार सय ६२ जना कृषक सहकारीमा आबद्ध छन् । किसानले उत्पादन गरेको तरकारी सहकारीले सोझै खरिद गर्दै आएको छ । पछिल्ला वर्षहरूमा सहकारीमा आबद्ध हुने किसानको संख्या वृद्धि हुँदै गएको छ । सहकारीमा आबद्ध किसानबाट आर्थिक वर्ष २०८०÷०८१ का ६१ लाख ३२ हजार ८ सय ७० रुपैयाँको तरकारी खरिद गरी सहकारीले ७९ लाख ५१ हजार आम्दानी गरेका छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार