काठमाडौं : गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् । बैठकमा सहभागी एक मन्त्रीका अनुसार गृहमन्त्री नैतिकताका आधारमा राजीनामा दिएका हुन् । सोमबार जेन–जीको प्रदर्शनमा काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु र ४ सयभन्दा बढी घाइते भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका हुन् ।
कांग्रेस पदाधिकारी बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका थिए । कांग्रेस सभापति देउवा त्यसमा मौन रहे भने गृहमन्त्री लेखकले राजीनामा दिने जानकारी गराएर त्यहीँबाट मन्त्रिपरिषद् बैठकमा गएका थिए । लेखक २०८१ साल असार ३१ मा गृहमन्त्री बनेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी प्रदर्शनमा भएको हिंसात्मक घटनाका विषयमा ब्रिफिङ गरेका छन् । बालुवाटारमा सोमबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले जेनजी प्रदर्शनमा घुसपैठ भएको निष्कर्ष सुनाएका थिए । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले जेनजी प्रदर्शन घुसपैठ हुँदा अप्रिय घटना घट्न पुगेको हो। प्रधानमन्त्री ओलीले जेनजी पुस्तालाई दुरुपयोग गरेर हिंसा भड्काएको बताएका थिए ।
यसैबिच जेनजीहरूले सोमबार गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि घटेको घटनाबारे सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ । समितिले १५ दिनभित्र घटनाको छानबिन गरे सरकारलाई प्रतिवेदन बुझाउने टिओआर तय भएको छ ।









