काठमाडौं : पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा ‘नेपो किड’, ‘नेपो बेबिज’ ट्रेन्ड चलेको थियो । सरकारले सामाजिक सञ्जालका केही प्लाटफर्म बन्द गर्ने निर्णय गरेसँगै यो ट्रेन्डले झन् धेरै गति लिएको थियो । ‘टिकटक’, ‘रेडिट’ जस्ता सामाजिक सञ्जालबाट फैलिएको यो ट्रेन्ड सडक प्रदर्शनमै परिणत गर्न आह्वान नै भयो ।
भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध जेन–जी पुस्ताको विरोध डिजिटल हुँदै अन्ततः सडकसम्म पुग्यो । जेन–जीले सोमबार काठमाडौंको माइतीघर र बानेश्वर क्षेत्रमा तथा देशका विभिन्न जिल्लाहरुमा प्रदर्शन गर्ने तय ग¥यो ।
काठमाडौंमा जेन–जी समूहले आयोजना गरेको प्रदर्शनका लागि सोमबार बिहान बिहानै युवा र विद्यार्थीहरू माइतीघरमा जुट्न थालेका थिए । विस्तारै यस्ता विद्यार्थीको संख्या बढ्दै गयो । बिहान ११ बजेसम्ममा विद्यार्थीको समूह बबरमहल हुँदै बिजुलीबजारको पुलसम्म ढाकिने गरी बढ्यो । भिड बढ्दै गएपछि प्रदर्शनकारीहरू नयाँ बानेश्वरतर्फ अघि बढे । नयाँ बानेश्वरको संसद भवन आसपास सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी खटाएको थियो ।
जेन–जीको प्रदर्शनकारी करिब १२ बजे आसपास नयाँ बानेश्वरमा रहेको संसद भवनमा प्रवेश गर्नुअघि प्रहरीको ब्यारिकेड तोडे । ब्यारिकेड तोडे पनि प्रहरीले लाठी चार्ज गरेन । प्रहरीले पानीको फोहोरा हान्यो । तर ठूलो संख्यामा जम्मा भएका प्रदर्शनकारीलाई पानीको फोहोराले मात्र तितरबितर पार्न सकेन ।
सवा १२ बजे आसपास प्रदर्शनकारीहरू संसद भवनको गेट हल्लाउन थाले । सुरक्षाकर्मी बस्ने गेटको भवनमा चढे । प्रहरीले त्यतिबेलासम्म अश्रु ग्यास प्रहार गरेको थिएन । तर आन्दोलनकारीहरू संसद भवनभित्रै प्रवेश गरेपछि प्रहरीले अश्रु ग्यास प्रहार ग¥यो । त्यसपछि रबरको गोली चलाउन थाल्यो । भीड नियन्त्रण गर्न असफल भएपछि प्रहरीले गोली चलाउन सुरु गरेको थियो । यो आन्दोलन काठमाडौं उपत्यकामात्रै सिमित रहेन् । झापा, इटहरी, नेपालगंज, झापाको दकम, सुर्खेत, दैलेख, कालीकोट लगायतका स्थानमा प्रर्दशन गरेका छन् ।
१९ जनाको मृत्यु, चार सयभन्दा बढी घाइते
जेनजी पुस्ताको प्रदर्शनमा घाइते भएकामध्ये १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो समाचार तयार पार्दासम्म (सोमबार राती १० बजे) हालसम्म चार सय बढी घाइते भएको जनाएको छ । मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ भने एक सय जनाको उपचार भइरहेको छ । यस्तै वीर अस्पतालमा ६ जनाको उपचार भइरहेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा ५९ जना उपचाररत छन् भने उपचारका क्रममा ८ जनाको मृत्यु भएको छ ।
यसैगरी बानेश्वरस्थित एभरेष्ट अस्पतालमा एक सय दुई जना घाइतेको उपचार भइरहेको छ भने तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै ८ जनालाई अन्यत्र रेफर गरिएको छ । यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जनाको उपचार भइरहेको छ । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा ३७ जनाको उपचार भइरहेको छ भने उपचाररत दुई जनाको मृत्यु भएको छ । घाइतेमध्ये ६ जनाको शल्यक्रिया गर्नुपर्ने अस्पतालले जनाएको मन्त्रालयले उल्लेख गरेको छ । यसैगरी, नर्भिक अस्पतालमा तीन जनाको उपचार भइरहेको छ ।
मन्त्रालयले त्रिवि शिक्षण अस्पतालमा १८ जनाको उपचार भइरहेको र एक जनाको मृत्यु भइसकेको जनाएको छ ।
काठमाडौं उपत्यकाबाहिर गण्डकी मेडिकल कलेजमा एक जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना, विराट मेडिकल कलेजमा चार जना, दमक अस्पतालमा सात जनाको उपचार भइरहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसैगरी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जनाको मृत्यु भएको छ ।









