‘युवा पुस्तासहितको नागरिकको भरोसा बढाउनुपर्ने वास्तविकतालाई स्वीकार गर्नैपर्छ’

सुर्खेत : कर्णाली प्रदेश सरकारको सत्ता साझेदार दल नेकपा एमाले र नेपाली काँग्रेसका प्रदेशसभा संसदीय दल नेताहरुरुले युवा पुस्तासहितको नागरिकको भरोसा बढाउनुपर्ने वास्तविकतालाई स्वीकार गर्नुपर्ने बताएका छन् ।

मुख्यमन्त्री एवं एमाले दल नेता यामलाल कँडेल र पूर्व मुख्यमन्त्री एवं काँग्रेस संसदीय दल नेता जीवनवहादुर शाहीले संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् ।

‘आम नागरिक र खास गरि युवा पुस्ताको बीचमा उत्पन्न निराशालाई बुझ्ने र समस्या समाधान गर्न भइरहेका पहलहरु प्रर्याप्त नहुँदा राज्य संयन्त्रप्रति वितृष्णा बढ्नुलाई अन्थया मान्नु हुँदैन, विगतमा देखिएका यस्ता कमजोरीहरुलाई सच्याउनु र आत्म समीक्षा र आ–आफ्नो ठाँउवाट सुधार गर्दै युवा पुस्तासहित नागरिकमा भरोसा बढाउदै जानुपर्ने वास्तविक यर्थाथतालाई हामी सबैले स्वीकार्नै पर्दछ,’ विज्ञप्तीमा भनिएको छ ।

अहिले देखिएको विषम परिस्थितिमा प्राप्त उपलब्धीको रक्षा गर्दै सम्हालिनु, थप एकतावद्ध हुनु र दृढ विश्वासका साथ अगाडि वढ्नु नै समयको माग भएको संसदीय दल नेताद्धयको भनाई छ ।

राष्ट्र, राष्ट्रियता र संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था सामु गम्भीर चुनौती उत्पन्न भएको र प्रतिकूल अवस्थामा हामी सबैबाट सुदृढ र रचनात्मक भूमिकाको माग गरिरहेको विज्ञप्तीमा उल्लेख छ । वर्तमान विषम परिस्थितिमा सम्पूर्ण राजनितिक दलहरु, नागरिक समाज, युवा पुस्तालगायत सबैमा धैर्य रही संवैधानिक तथा लोकतान्त्रिक मूल्य मान्यता अनुसार थप एकतावद्ध हुन हामी अपिल गरेका छन् ।

उनीहरुले जेन–जी पुस्ताका प्रदर्शन शान्तिपूर्ण रहने आयोजकहरुको पूर्व घोषणा विपरित सार्वजनिक, निजि तथा व्यापारिक संरचना लगायत सयौं संरचनामाथि आगजनी, तोडफोड तथा विध्वंसात्मक र विनाशकारी घटनाको निष्पक्ष छानविन गरि दोषीमाथि कानुन बमोजिम कारवाही गर्न माग गरेका छन् । भ्रष्टाचार नियन्त्रण, सुशासन तथा स्थिर सरकार जस्ता मागहरु लिएर सडकमा आएको जेन–जी पुस्ताको प्रदर्शनपछि भएको तोडफोड र आगजनीका घटनामा मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् भने घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार