अब सबै पार्टीको नीति र नेतृत्वको कार्यशैलीमा आमुल परिवर्तन हुनुपर्छ

पछिल्ला दिनहरूमा राजनीतिक घटनाक्रमहरू एकाएक परिवर्तन भएका छन् । देशमा सोच्दै नसोचेको विध्वंस भएको छ । जेनजी आन्दोलनका नेता, नेतृत्वहरूले विध्वंसमा आफूहरूको कुनै पनि हात नभएको र नरहेको बताइरहेका छन् । अर्कोतर्फ विभिन्न क्षेत्रमा विभिन्न खाले असन्तुष्टिहरू बढ्दै गएका छन् । पछिल्लो परिवर्तित राजनीतिक कोर्स सँगै अहिले एमाले पार्टी अध्यक्ष र अन्य पदाधिकारीको चयनको अन्तिम तयारीमा रहेको छ भने नेपाली काँग्रेस पनि उम्मेदवार छनौट लगायतका पार्टीको आन्तरिक निर्वाचनको तयारीमा जुटेको छ । यसै सन्दर्भमा हामीले युवा बहस अभियानको समेत सञ्चालन गरेका छौँ । पार्टीमा पछिल्लो पुस्ताले जिम्मेवारी पाउनुपर्ने, प्रभावशाली र स्वच्छ छविको व्यक्तिहरूको खोजी गर्नुपर्ने विषय पेचिलो बन्दै गएको छ ।

नेपाली धेरैलाई देश छोड्न पायो कि मुक्ति पाइन्छ जस्तो लागिरहेको बेला दैलेख नारायण नगरपालिका १ का पूर्ण कोइराला अमेरिका, कोरियाको सुख भोग छोडेर दैलेखबाट राजनीति यात्रा सुरु गर्ने सोच बोकेर आफ्नो भूमिमा बस्ने निधो गरेर जिल्ला फर्केका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गरेका कोइराला २०७८ को स्थानीय चुनावमा वडादेखि जिल्ला स्तरका सबै नेताहरूलाई जिताउन अहम् भूमिका खेलेको दाबी गर्छन् ।

नेपाली काँग्रेसको आसन्न १५ औँ महाधिवेशनमा नारायण नगरपालिका वडा न. १ निवासी पूर्ण प्रसाद कोइरालाले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने बताएका छन् । १४ औँ महाधिवेशनमा पनि उनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गरेका थिए ।

हाल उनी नेपाली काँग्रेसको पूर्व आप्रवासी समन्वय विभागको केन्द्रीय सदस्य र नेपाली काँग्रेस दैलेखको जिल्ला कार्य समिति सदस्यका रूपमा कार्यरत छन् ।

कोइरालाले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र दक्षिण कोरियाको आजु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका छन् । अध्ययनमा रुचि भएका कोइराला कानुन र शिक्षामा पनि स्नातक गरेका प्राज्ञ व्यक्तित्वका रूपमा चिनिन्छन्।

अध्ययन र भ्रमणमा रुचि राख्ने कोइरालाले संयुक्त राज्य अमेरिका, जापान, दक्षिण कोरिया, फिलिपिन्स, थाइल्यान्ड, अस्ट्रेलिया, चाइना, पलाऊ जस्ता देशहरू भ्रमण गरी विश्व परिवेशको पनि धेरै अनुभव सँगालेका छन्।

कोइराला कोरियन भाषा विज्ञ पनि हुन् उनले दक्षिण कोरियाबाट कोरियन भाषामा डिप्लोमा गरी विश्व भाषा क्याम्पसबाट कोरियन शिक्षकको लाइसेन्स प्राप्त गरी आफैले कोरियन भाषा अध्यापन गराउने इन्स्टिच्युट पनि काठमाडौँमा सञ्चालन गरेका छन्। उनी कोरियन भाषा मात्र हैन अङ्ग्रेजी, हिन्दी, थाई र फिलिपिन्स भाषामा पनि राम्रो दक्खल राख्दछन्। सात समुन्द्रपारि फिलिपिन्सबाट विवाह गरेका कोइरालाका दुई सन्तान एक छोरा र एक छोरी छन् ।

राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेका कोइरालाको परिवारले नि काँग्रेसमा ठुलो त्याग र बलिदान गरेको छ । उनको सिङ्गो परिवार अटुट रूपमा काङ्ग्रेसप्रति समर्पित छ । उनका जेठा दाजु डन्ड प्रसाद कोइराला (डी. पी.) विगतमा ३० वर्ष काँग्रेसको राजनीतिमा योगदान गरे पनि अहिले काँग्रेसको नेतृत्वसँग असन्तुष्टि भएर माओवादीमा लागेका छन्। तत्कालीन माओवादीले हत्या गरेका नारायण नगरपालिका वडा नम्बर ३ निवासी श्याम प्रसाद कोइराला यिनका काका हुन । त्यो समयमा तत्कालीन माओवादीले श्याम प्रसाद कोइरालालाई सुराकीको आरोप लगाइ पाच ज्ञानेन्द्रिय (आँखा, नाक,कान,छाला र लिङ्ग) काटी क्रूर र अमानवीय तरिकाले काँग्रेसी परिवार भएकै निहुँमा हत्या गरेको विषय पूर्ण प्रसाद कोइरालाले सधैँ भन्ने विषय बनेको छ ।

राजनीतिलाई कसरी लिनुहुन्छ ?

पेशाले कानुन व्यवसायी र कोरियन भाषा प्रशिक्षक पनि हुँ त्यसैले मैले राजनीतिलाई असल र उत्कृष्ट समाज बनाउने माध्यमको रूपमा लिन्छु । अहिले राजनीतिलाई कमाऊ धन्दा नबनाउने, जीविकोपार्जनको माध्यम नबनाउने गरेको आरोप लाग्दै आएको छ । राजनीति सेवा भावले गर्ने विषय हो । समाजको हितको लागि केही गर्छु भन्ने हुटहुटी भएका निष्ठावान्, इमानदार र क्षमता भएका व्यक्तिहरूको राजनीतिमा सक्रियताको खाँचो भएकोले म यस क्षेत्रमा आएको हु ।

पुराना पार्टीको शैलीमा परिवर्तन गर्नुपर्ने विषयलाई यहाँले कसरी लिनुहुन्छ ?

जेनजी विद्रोहको स्पष्ट सन्देश भनेको पार्टी सञ्चालन र देश विकासको गति र मति ठिक भएन भन्ने हो । कुशासन र भ्रष्टाचार हामीलाई स्वीकार्य छैन भन्ने हो । त्यसैले यस पटकको आन्दोलन सबै पार्टीको विरुद्ध भयो । त्यसैले अब सबै पार्टीको नीति र नेतृत्वको कार्यशैलीमा आमूल परिवर्तन हुनुपर्छ । गर्नुपर्छ, लामो समयदेखि राजनीतिमा आबद्ध भएका स्वच्छ छवि भएका व्यक्तिहरूलाई सबै राजनीतिक दलहरूले अग्र भागमा राखेर सबै क्षेत्रमा जिम्मेवारी दिने विषयलाई गम्भीरताका साथ लिनुपर्दछ ।

युवाहरूको भावना कसरी समावेश गर्न सकिएला ?

पछिल्ला दिनहरूमा भएका आन्दोलनहरू र आन्दोलनकै क्रममा घुसपैठ भएर गरिएका कतिपय अराजक गतिविधिहरूको विषयले भने गम्भीर चिन्ता उत्पन्न गरेको छ । सबै नेपालीहरूले सबैभन्दा पहिला देश भनेर एक पटक गम्भीर रूपमा सोच्नुपर्ने देखिन्छ । युवाहरू नै हामी देश चलाउँछौ भनेर आइसकेको अवस्था र डिस्कर्डबाट नै प्रधानमन्त्री छान्ने परिस्थिति सृजना हुनु भनेको युवाहरू राज्य सञ्चालनमा हामी आउँछौ भन्ने सन्देश हो । यस्ता विषयहरूलाई सबै राजनीतिक दलहरूले बुझेको र भित्रबाटै महसुस गरेको अवस्था देखिन्छ तर लोकतन्त्र, संविधान, विधि, नियम र कानुन अनुसार नै सबैले आफ्नो मत प्रकट गरेर विधिभित्रै टेकेर प्रतिस्पर्धामार्फत विजयी हुने कुरालाई बिर्सन हुँदैन । त्यसैले नेपालका सबै पार्टी नेतृत्व परिवर्तन नहुने र जमेको पोखरी भएर बस्ने हैन कि लामो समय पार्टीमा रजगज गरेका सिनियरहरु बिदा हुने र युवाहरूको समुचित प्रतिनिधित्व सुनिश्चित गरिनुपर्छ भन्ने मेरो धारणा छ ।

दैलेखको समग्र विकास सँगै, बाकी रहेका महावु सडक, कर्णाली सडक, मिथेन ग्यास, कर्णाली जलविद्युत आयोजना जस्ता आयोजनाले मूर्तरूप पाउन के गर्नुपर्ला ?

दैलेखमा भइरहेका विकासका योजनाहरूले मूर्तरूप नपाउनुमा दैलेखको राजनीतिक नेतृत्वले पहलकदमीमा कहीँ न कहीँ कमजोरी भयो कि भन्ने हो । यस्ता विषयहरू सबै राजनीतिक दल, नागरिक समाज, युवा, विद्यार्थी, उद्योगी सबैको एकमत हुनुपर्ने विषय हो । यो बहस मात्र हैन निष्कर्षमा पुग्ने कसरी भनेर गहिरो छलफल पछि स्पष्ट खाका सहित प्रदेश र सङ्घ सरकारलाई संयुक्त माग पेस गर्नुपर्ने बेला आएको छ ।

राजनीतिक दलहरू विकासको सन्दर्भमा सर्वदलीय बैठक गरी निर्णयमा गरेर व्यापक दबाब दिनुपर्ने जरुरी छ । अर्कोतर्फ पेट्रोलियम पदार्थ दैलेखमा देखा परेपछि देशी विदेशी शक्ति केन्द्रहरूको चासो बढेको छ । सो कुराको पुष्टि दैलेखको इतिहासमै चाइनिज र अमेरिकन एम्बेस्डरहरुको दैलेख भिजिटले पनि पुष्टि गर्दछ । यसले दैलेख भू राजनीतिको पनि चासोको केन्द्र बिन्दु बनिरहेको छ । निकै सुझबुझका साथ यस्ता विषयहरू केन्द्र सरकारले समाधान गर्दै नेपालको समृद्धिको खाका दैलेखबाटै कोर्ने विषयमा गम्भीर हुनुपर्दछ ।

सुशासन हराउँदै गएका बेलामा जनतालाई कसरी प्रभावकारी सेवा प्रवाह गर्नुपर्ला ?

जनतालाई सुशासन दिन राजनीतिक र प्रशासनिक सोचको आमूल परिवर्तन हुन आवश्यक छ। प्रशासनिक काम सरल बनाउन सेवा प्रवाहलाई कोठा कोठा चहार्दै हिँड्न पर्ने अवस्था हटाउन एकै ढोकाबाट सेवा विस्तारको अभियान लागू गर्नुपर्छ । सेवा प्रवाह छोटो र समय निर्धारण गरेर प्रदान गर्ने, प्रशासनिक संरचना पनि सुधार गर्दै ब्युरोक्रेसिको मानसिकता पनि परिवर्तन गर्न आवश्यक छ ।

प्रस्तुती विष्णु शर्मा ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार