नेपालको राजनीतिक परिस्थिति पछिल्लो पुस्ताले मात्र हैन करिब ६० देखि ७०को दशक पुगेका व्यक्तिहरूले आफ्नो उमेर १५ वर्ष पुरा गरिसकेपछि वा बुझ्ने भएपछिको दिनहरूको बारेमा सामान्य जानकारी लिने हो भने पनि निकै गज्जब छ तर हिजो के थियो आज कसरी परिवर्तन भयो यी र यस्ता विषयहरूमा पछिल्लो १८ देखि २० को पुस्तालाई धेरै विषयहरू थाहा छैनन् ।
हिजोको ४० वर्ष अघिको अवस्था बुझेकाहरूले अहिले बलियो तर्क गर्नेहरूमा निकै कम मानिसहरू पर्दछन् । राणा काल, पंचायतकाल भन्दा पछिका मात्रै केही राजनीतिक उथल पुथलहरुलाई हेर्ने हो भने पनि आन्दोलन, विद्रोह अनि पुनः सहमति अनि सहकार्य र पुनः एक आपसमा संवादहीनता अनि पुनः मिलन र बिछोडहरू दलहरूबिच एक आपसमा भइरहेको अवस्था छ । देशको विशिष्ट अवस्थामा एकसाथ भएका नेपालका पुराना दलहरू जब सत्तामा पुगे केही समय सत्ता सहकार्य गरे जब सत्ता ढल्यो अनि एकले अर्कोलाई सत्तोसराप लागि मात्र गरेनन् पहिलेको सरकारले पारेका राम्रो योजना आयोजनाहरू पनि धमाधम कटौती गरेर आफ्नाको पालन पोषण सुरु गरे । ती विषयहरूको जानकारी मात्र पछिल्ला पुस्ताहरूले धेरै पाए नेपालका दलहरू त सत्ताका लागि मात्रै लडिरहँदा रहेछन् यस्तो प्रवृत्तिले नेपालको विकास सम्भव छैन भन्ने उनीहरूको मस्तिष्कमा पर्र्यो तर हिजोको पुस्ताले पाएको दुःख र पछिल्ला विकास गतिविधिपछि आफ्ना बुवा र बाजेहरूले पाएको सुविधाको बारेमा उनीहरूले त्यति धेरै जानकारी पाउन सकेनन् ।
पछिल्ला पुस्तालाई नीति नियम, कानुन भन्दा पनि छिटो भन्दा छिटो प्रतिफल मात्र चाहिएको छैन उनीहरूको नजरमा नराम्रो देखिएको व्यक्तिलाई तत्कालै कारबाही चाहिएको छ तर नेपाल जस्ता प्रजातान्त्रिक मुलुकहरू विधि, नीति, नियम कानुन र संविधान अनुसार चलेका छन् भन्ने विषयलाई पछिल्लो आन्दोलनपछि केही मात्रमा बुझेपछि अहिले जेनजी सरकार र नेपालका राजनीतिक दलहरूबिचको संवादहीनता करिब करिब अन्त्य भएको छ ।
अझैँ पनि धेरै विषयहरू असहमतिका हुन सक्छन् । भित्री र बाहिरी विभिन्न खाले चाहनाहरू हुन सक्छन् सबै विषयहरूलाई थाँती राखेर देश पहिलो विषय हो, देशको सवाल पहिलो हो र देश जोगाउनका लागि अपनाउनुपर्ने पर्ने परराष्ट्र मामिला पहिलो हो । समृद्धि र सुशासन पनि सँगसँगै लिनुपर्ने विषय हो भनेर सबैले साझा धारणा निर्माण गरेर जनमतको कदर गर्ने गरी अघि बढ्नुपर्ने अहिलेको आवश्यकता हो ।





