हिमपातले विकासमा बाधा

सुर्खेत  : कर्णाली प्रदेशका हिमाली जिल्लामा रहेका स्थानीय तहहरूमा विकास निर्माणका कामहरू ठप्प भएका छन् । हिमपात तथा चिसोका कारण कात्तिकदेखि चैत हिमाली जिल्लाहरूमा विकास निर्माणका कामहरू ठप्प हुँदै आएका हुन् । यस आर्थिक वर्षमा कात्तिकमा हिमपात भएका कारण विकास निर्माणका कामहरू अवरुद्ध भएका डोल्पाको शे फोक्सुन्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले जनाए ।

उनले भने, ‘अहिले कात्तिकमै धेरै हिमपात भएपछि काम गर्न गाह्रो भयो । चैतसम्म काम रोकिन्छ होला । सबै हिमाली जिल्लाको समस्या यही छ । पालिका भित्र रहेका बालबालिकाहरूलाई नियमित दिनुपर्ने खोप समेत प्रभावित हुँदै आएको छ । फोक्सुन्डो स्वास्थ्य चौकी बाहेक अन्य ठाउँको खोप सेवा ठप्प भएको छ ।,’

डोल्पोबुद्ध गाउँपालिकामा पनि विकास निर्माणका कामहरू ठप्प भएका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर थापाले जानकारी दिए । चिसो तथा हिमपातका कारण काम नहुने भएपछि कर्मचारी समेत कार्यक्षेत्रमा खटिएका छैनन् । यहाँ आंशिक रूपमा खोप सेवा अवरुद्ध भएको छ । कर्मचारीहरू समेत कार्यक्षेत्रमा हिउँ भएका कारण समस्या भएको अधिकृत थापाले बताए । गाउँपालिकाका उपाध्यक्ष पेम्मा पेम्मा धोर्चे गुरुङले अहिले सबै काम ठप्प भएको बताए ।

खोप देखि विकास निर्माणका कामहरू सबै ठप्प भएको उनले जानकारी दिए । चैत सम्मा सबै काम ठप्प हुने उनले जानकारी दिए । छार्काताङसोङ गाउँपालिका पनि सबै काम ठप्प भएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत विशाल पौडेलले चिसो तथा हिमपातका कारण काम गर्न समस्या भएको बताए । कर्मचारी कार्यक्षेत्रमा खटिए पनि काम गर्न मुस्किल हुने उनको भनाई रहेको छ । खोप सेवा समेत प्रभावित हुने गरेको उनको भनाई रहेको छ ।

हुम्लाको नाम्खा गाउँपालिकामा हिमपातका कारण आवतजावत समेत ठप्प भएको छ । चिनियाँ सीमास्थित हिल्सा तथा सदरमुकाम सिमकोटबाट झन्डै पाँच हजार मिटर उचाइमा रहेका नारा र न्यालु लेकमा तीन फिट हिउँ जमेपछि यातायात सेवा ठप्प भएको हो । गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले विकास निर्माण अन्य कामहरू समेत ठप्प भएको बताए ।

चिसोका कारण सङ्घीय सरकारको बजेटबाट निर्माण भइरहेको कर्णाली कोरिडोरअन्तर्गत च्याछरा–याल्वाङ गौडा सडक खण्डको काम पनि बन्द भएको छ । त्यस्तै, प्रदेश सरकारको बजेटबाट सञ्चालन भइरहेको सिमकोट–खार्पु (मानसरोवर–कैलाश गेटवे) एकीकृत पूर्वाधार विकास कार्यक्रम अन्तर्गतका छ वटा योजनाको कामसमेत रोकिएको छ । यसका साथै पाँच वटा विद्यालय भवन, दुई वटा सडक तथा केही मन्दिर निर्माणका काम पनि अवरुद्ध भएको अध्यक्ष लामाले जानकारी दिए । यी योजनाहरूको कुल बजेट झन्डै १० करोड रुपैयाँ रहेको छ ।

सिमकोट गाउँपालिकामा निर्माणाधीन झन्डै दुई दर्जन योजनाहरू अत्यधिक चिसोका कारण बन्द गर्नुपरेको गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए । स्थानीयको मौसमी बसाइँ सराइका कारण विकासमा ठुलो असर परेको मुगुको मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए । उनका अनुसार सडक सुविधा नहुँदा यहाँ काम गर्न समेत समस्या हुँदै आएको छ । हिमाली जिल्लाहरूमा चिसो तथा हिमपातका कारण माननीय क्रियाकलाप समेत ठप्प भएका छन् ।

प्राकृतिक रूपमा नाकाबन्दी भएपछि काममा समस्या परेको हो । चिसोका कारण ज्यान जोगाउनु मुख्य कुरा भएको जनप्रतिनिधिहरु बताउँछन् । कर्मचारीहरू विकास निर्माण अन्य काम नहुँदा कार्यक्षेत्र बाहिर हुनुपरेको छ । ६ महिना विकास निर्माणको काम ठप्प हुँदा हिमाली क्षेत्रमा भारी नोक्सान हुने गरेको छ । आर्थिक वर्ष असारमा सकिने भएकाले तीन महिना भित्र सबै काम गर्न समस्या हुने गरेको छ ।

वैशाख, जेठ तीर यार्सागुम्बा लगायतका जडीबुटीको सङ्कलनको काम हुने भएकाले विकास निर्माणको काम थप प्रभावित हुने गरेको छ । हिमाली जिल्लाका लागि आर्थिक वर्ष समेत बदल्नु पर्ने मागहरू बढिरहेका छन् । साउनदेखि कात्तिकसम्म चाडपर्व हुने त्यसपछि चिसो तथा हिमपातका कारण वैशाखसम्म प्रभावित हुने भएकाले हिमाली जिल्लामा विकास निर्माणको कामहरू बर्सेनि प्रभावित हुनुका साथै ठुलो मात्रामा विकास बजेट फ्रिज हुने गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार