राज्यबाट उपेक्षित ‘उपल्लो डोल्पा’

सुर्खेत  : देश सङ्घीयतामा गएसँगै विकासले गति लिएको छ । त्यही गति अनुसार उपल्लो डोल्पामा रहेका पालिकाहरूमा पनि विकासको लयमा आउँदै गरेको देखिन्छ । फरक भाषा, संस्कार तथा चालचलन भए पनि यहाँका स्थानीयवासीले विकासको अनुभूति गर्न थालेका छन् । विकासको पहिलो आधारको रूपमा रहेको सडक भने अझै उपल्लो डोल्पासम्म पुग्न सकेको छैन ।

सडक पूर्वाधार निर्माण नभएका कारण उपल्लो डोल्पामा अहिले पनि घोडा, खच्चड तथा चौँरीको सहायताले दैनिक उपभोग्य सामग्रीहरू ढुवानी हुँदै आएको छ । यहाँका स्थानीयवासीले चौँरी तथा भेडाहरू मुख्य रूपमा पालन गर्दै आएका छन् । अग्ला हिमालको काखमा रहेका गाउँहरूमा चौँरी तथा भेडाहरूद्वारा दैनिक ढुवानीका अधिकांश कामहरू हुँदै आएका छन् ।

स्थानीय रूपमा निर्माण हुने घरहरूमा स्थानीयवासीले काठ बोकेर घर निर्माण गरिरहेका छन् । प्राकृतिक रूपमा फोक्सुन्डो ताल लगायत थुप्रै पौराणिक संरचना भए पनि सडकको सहज पहुँच नहुँदा प्रचार प्रसार अझैँ हुन सकेको छैन । उपल्लो डोल्पाका केही भाग शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जले ओगटेको छ । जहाँ हिउँ चितुवादेखि अन्य जङ्गली जनावरहरूको वासस्थान समेत रहेको छ ।

माथिल्लो भेग भएकाले चीनको सिमानासँगै भाषागत समस्याले गर्दा पनि उपल्लो डोल्पाका हरेक संस्कारहरू सबैसँग मिल्ने अवस्था छैन । भूगोल अत्यन्तै कठिन छ । सदरमुकामबाट पालिका केन्द्र पुग्ने सडक सञ्जाल छैन । पैदल हिँड्नुपर्ने बाध्यता छ । पालिका केन्द्र पुग्न सदरमुकामबाट चारदेखि पाँच दिनको पैदल यात्रा गर्नुपरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन ढकालले बताए । टाढाका बस्तीहरू भएका कारण सबै ठाउँमा सेवा प्रवाहमा समस्या हुँदै आएको उनले बताए ।

कतिपय वडाहरूमा एक वडा बाट अर्को वडासम्म पुग्न दुई दिन सम्म पनि लाग्ने अवस्था छ । कठिन, भिरालो भूगोल तथा अप्ठ्यारा भीरहरूले गर्दा सडक निर्माणमा, खानेपानी तथा सिँचाइ पूर्वाधार निर्माणमा समस्या छ । ठुलो मात्रामा लगानी लाग्ने र गाउँपालिकासँग आन्तरिक स्रोत कमजोर भएकाले त्यस्ता ठुला विकास निर्माणका कार्यहरू गर्न सकिएको छैन ।

गाउँपालिकाको ८ र ९ बाहेक अन्य वडाका भूभागहरू ३८००÷४००० मिटरभन्दा माथिको रहेका कारण भारी मात्रामा चिसो हुने गर्दछ । प्रायजसो कार्तिक महिनाको अन्तिम तिरबाट हिमपात सुरु हुन्छ । हिमपातको क्रम फागुन महिनाको अन्तिमसम्म जारी रहने हुँदा काम गर्न मुस्किल हुने गरेको हो । भौगोलिक विकटताले फिल्डमा ओहोरदोहोर गर्न भने साह्रै सकस हुने गरेका कर्मचारीहरू बताउँछन् । एक वडा बाट अर्को वडासम्म जान दुई÷तीन दिनसम्म लाग्ने ठाउँहरू रहेको बताएको छ ।

गाउँपालिकाको सबै वडाहरूमा स्वास्थ्य संस्था (अस्पताल÷प्राथमिक स्वास्थ्य केन्द्र÷स्वास्थ्य चौकी÷इकाई÷सेवा केन्द्र) हरूको विकास नहुँदा समस्या भएको छ । हाल भूगोल र जनसङ्ख्यालाई मध्यनजर गर्दै विभिन्न समुदायहरूको पायक पर्ने स्थानमा ३ वडा स्वास्थ्य चौकी सञ्चालित छन् । अन्य स्वास्थ्य संस्थाहरू निर्माणका क्रममा छन् ।

पालिकाको चालु आर्थिक वर्षको कुल बजेट अनुमान करिब ३५ करोड रहेको छ । सडक सञ्जालको लागि पालिकाको यो बजेट सामान्य केही अंश मात्र रहेको छ । भौगोलिक विकटताले गर्दा साना साना विकासका योजनाहरूमा पनि ठुलो धनराशि खर्च हुने गरेको बताएको छ । विकास गर्नुपर्ने क्षेत्रहरू बहु आयामिक भए पनि स्रोतको अभावले सबै काम गर्न नसकिएको अधिकृत ढकालले बताए ।

सडक, भवन, कृषि तथा पशु क्षेत्र विकासका कार्यक्रम, सामाजिक सुरक्षा, विपद् व्यवस्थापन, उद्योग, पर्यटन पूर्वाधार, क्षमता विकासका कार्यक्रम, स्वास्थ्य, पोषण लगायतका सम्पूर्ण बहु आयामिक क्षेत्रहरूको विकासका लागि हाल विनियोजित हुने गरेको बजेट धेरै नै अपर्याप्त रहेको उनेको भनाई छ । अहिले सबै शीर्षकमा सानो सानो बजेट अङ्क वितरण हुने गरेको छ । पालिकाको आन्तरिक स्रोत कमजोर रहेकोले केन्द्र तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान रकमसमेत अत्यन्तै न्यून हुँदा काम गर्न गाह्रो हुने गरेको उनेको भनाई छ ।

केन्द्र र प्रदेश सरकारले बजेट विनियोजन गर्दा सुगम र दुर्गमको ख्याल नगरी सबै क्षेत्रलाई समान रूपमा हेरी बजेट विनियोजन हुँदा डोल्पामा मारमा परेको छ । सुगममा १ करोडमा लागत इस्टिमेट भएको कार्यको यहाँको लागत स्टिमेट ३÷४ करोडसम्म हुने गर्दछ । यहाँको मुख्य सम्भावनाको केन्द्रबिन्दु भनेको प्रसिद्ध फोक्सुन्डो ताल रहेको छ । ताललाई कर्णालीको मुख्य पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकियो भने यसले राम्रो बेनिफिट हुने देखिन्छ ।

एकातिर ठुलो सङ्ख्यामा पर्यटकहरू भित्रन्छन् अर्को तिर त्यस फोक्सुन्डो क्षेत्रका होटेल व्यवसायहरू फस्टाउँछन्, रोजगारी बढ्छ, सँग सँगै स्थानीय उत्पादनले बजार समेत पाउँछ अधिकृत ढकालको भनाइ छ । अर्को पर्यटनको गन्तव्य भनेको शे गुम्बा हो । प्रत्येक १२ वर्षमा शे–मेला लाग्छ । धार्मिक पर्यटनको हिसाबले यो उच्च सम्भावना बोकेको सम्पदा हो । त्यस्तै थासुङ छोलुङ गुम्बा, चार ताल, सुलिगाड झरना लगायत थुप्रै प्राकृतिक तथा धार्मिक सम्पदाहरू समेतले पर्यटकीय सम्भावना बोकेका स्थलहरू रहेका छन् ।

यहाँको अर्को सम्भावनाको क्षेत्र भनेको पशुपालन हो। यो क्षेत्र भेडा, च्याङ्ग्रा र चौरीको लागि उपयुक्त छ । पशुहरूको पालनलाई व्यवसायीक बनाउने, छुट्टा छुट्टै पकेट क्षेत्र निर्धारण गरी सरकारी तथा गैरसरकारी क्षेत्रसमेतबाट लगानी केन्द्रित गरेर स्थानीयलाई पशुपालनमा प्रोत्साहन दिने हो भने ठुलो मात्रामा अर्थोपार्जन गर्ने माध्यम बन्ने कुरामा शङ्का नरहेको जानकारहरू बताउँछन् ।

त्यस्तै जडीबुटी लाई अर्को मुख्य सम्भावनाको क्षेत्र रहेको छ । यार्सागुम्बा सङ्कलन र बिक्री वितरण यहाँका जनताको मुख्य आयस्रोत रहेको गाउँपालिकाले जनाएको छ । यार्सागुम्बाको घरेलु खेतीको समेत सम्भाव्यतालाई अगाडी बढाएर आधुनिक उन्नत प्रविधि र उत्पादन विधिको विकासबाट घरेलु रूपमा खेती गरियो भने आर्थिक लाभ हुने सम्भावना रहेको छ ।

गाउँपालिका प्रवेश गर्दा ४००० मिटरभन्दा माथिका धेरै जसो हिमालहरू पार गर्दै पैदल यात्रा गर्नुपर्ने यहाँको बाध्यता रहेको छ । हाइ अल्टिच्यूड सिकनेसको जोखिम रहेको छ । सङ्घ र प्रदेशबाट प्राप्त हुने सशर्त, विशेष र समानिकरण अनुदान बाट धेरै काम हुने गर्दछ । चिसो हिमपातका कारण चैत्रको अन्ततिर गएर मात्रै पुनः विकासका कार्यहरू सुचारु हुने भएकाले समयावधि ५ महिनाको हुने गरेको छ । सङ्घ र प्रदेशबाट प्राप्त भएको सशर्त÷विशेष÷समपूरक अनुदान असार मसान्त सम्म खर्च गर्न समेत मुस्किल हुँदै आएको उनेको भनाई छ ।

शे–फोक्सुन्डो गाउँपालिका जस्ता उच्च हिमाली क्षेत्रका स्थानीय तहहरूको लागि आर्थिक वर्ष पुसदेखि मङ्सिर मसान्तसम्मको अवधिलाई निर्धारण गरिनुपर्नेमा यहाँका जनप्रतिनिधिको जोड रहँदै आएको छ । उपल्लो डोल्पाको डोल्पोबुद्ध, छार्काताङसुङ गाउँपालिका समेत यही समस्या रहेको छ ।

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज भित्र पर्ने यस डोल्पो बुद्ध गाउँपालिकाको भूभाग समुन्द्री सतहबाट झन्डै २८०० मिटर देखि ७०५० मिटरसम्मको उचाइमा रहेको छ । गाउँपालिकाको सम्पूर्ण भूभाग उच्च हिमाली क्षेत्रले ओगटेको छ । यहाँ अधिकांश जमिन कडा चट्टान र उच्च पहाडी भागले ओगटेको छ । कडा चट्टान र नाङ्गो पाखो रहेकाले सिँचाई सुविधाको अभाव रहेको पालिकाले जनाएको छ ।

झन्डै ९० प्रतिशत भन्दा बढी जमिन ४५ डिग्री भन्दा बढी भिरालो रहेको छ । हाल पालिका भित्र सबै वडाहरूमा सडक निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर थापाले बताए । २०३२ सालमा साटा स्वीस मिसन तिब्बती शरणार्थीलाई सहयोग गर्ने संस्थाका इन्जिनियर उइडर पिटरले तिन्जेमा सानो जहाजलाई उडान भर्नका लागि डिजाइन तयार गरेका थिए ।

उक्त डिजाइन गृह पञ्चायत मन्त्रालयमा पेस भएपछि स्वीकृतसँगै विमानस्थल निर्माण भए पनि जहाज सञ्चालन हुन नपाएको थियो । तत्कालीन श्री ५ को सरकारले सम्भावित तिब्बती शरणार्थीबाट हुन सक्ने खतरालाई मध्यनजर राखी जहाज उडान प्रतिबन्ध लगाइएकोले त्यहाँ उडान हुन सकेन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार