नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयलाई लिएर विभिन्न समयमा विभिन्न खाले कठिनाइहरू हुँदै आएका छन् । समय क्रमसँगै प्रेसले गर्नुपर्ने न्यूनतम मापदण्डभित्रका विषयहरू समेत बढ्दो सामाजिक सञ्जालले कता कता कुहिरोको कागझैँ हराइदिएको अवस्था छ । हरेक विषयहरूका आ आफ्ना लिमिटेशनहरु हुने गर्दछन् । आफ्नो परिधिभित्रको कुरा कसरी आफूले प्रभावकारी बनाउने भन्ने जिम्मा स्वयं संस्थाको र संस्थामा आबद्ध व्यक्तिहरूको हुने गर्दछ ।
समाज भित्र लुकेका विषयहरू पत्रकार र सञ्चारमाध्यमहरूले खोजी गरेर सत्य बाहिर ल्याउने आँट सँगै विभिन्न खाले अनियमितता र भ्रष्टाचारका विषयहरू समेत सञ्चारमाध्यमहरूले नै खोजी गरेर पस्कने विषयहरू हुन । अझ पछिल्ला दिनहरूमा त झनै यस्ता विषयहरूको महत्त्व बढ्दै जानुपर्ने आवश्यकता औल्याईएको छ । मिथ्या सूचनालाई चिर्न र समाजमा सत्य स्थापिन गर्न पनि पत्रकारिताले अव अँझै गहिरो खोज, अध्ययन र अनुसन्धानको दायरा बढाउनुपर्ने देखिन्छ ।
विकास क्रम सँगै देखिएका धेरै चुनौती भित्रको अर्को एउटा चुनौती हो प्रेस भित्र पनि असन्तुष्टि बढ्दै जानु, प्रेस जगतमा मात्र हैन राजनीतिमा लामो समय बिताएका दलका केही प्रतिनिधिहरूभित्र असन्तुष्टि, न्यायालयभित्र असन्तुष्टि, कर्मचारीतन्त्र भित्र असन्तुष्टि, नागरिक समाजभित्र असन्तुष्टि यस्ता धेरै विषयहरू भित्र असन्तुष्टिहरू चुलिँदै गएका छन् । सबै कुरा ठिकठाक गर्ने कानुन र कानुनको पालना गर्ने निकायहरूबाट भएका विभिन्न खाले त्रुटिहरूका कारण पनि असन्तुष्टि भनेपछि सबै क्षेत्र तह र तप्काभित्र र बाहिर असन्तुष्टिका स्वरहरू किन एकाएक बाहिर आउन थाले त । यसभित्र धेरै विषयहरूको खोजी गर्नुपर्ने आवश्यकता छ ।
सबैभन्दा गम्भीर विषय भनेको हाम्रो नीति, नियम र कार्यान्वयनको पाटो सबैभन्दा कमजोर भएकै कारण यस्तो समस्या आएको हो । कर्मचारीहरूले देश र जनताका लागि भनेर काम गर्नुपर्नेमा दिन कसरी काट्ने भन्ने विषयले प्राथमिकता पाउनु, नेताहरूले जनता जहिले पनि हामिलेनै भनेको मानिहाल्छन् हामीले जे गरी पनि हुन्छ भन्ने भावना पलाउनु, पहुँचका भरमा विभिन्न खाले कामहरू भित्रभित्र हुनु यस्ता धेरै विषयहरूले समस्या बढ्दै गएको हो ।
जुन विषयलाई कोही न कोहीले उठाउनुपर्ने थियो उठाइयो, आन्दोलन भयो, आन्दोलनभित्र केही घुसपैठ भयो यसभित्र पनि प्रेस स्वतन्त्रताको विषय झनै गम्भीर सङ्कटमा देखियो पत्रकारले समेत ज्यान गुमाउनुपर्ने बाध्यता पर्र्यो, कतिपय पत्रकारहरू घाइते हुनुपर्ने अवस्था आयो । राज्यको सबैभन्दा निष्पक्ष मानिएको पत्रकारिता भित्र देखिएका केही व्यक्तिवादी चरित्रका कारण समग्रमा सबै क्षेत्रमा समस्या भएको भन्दै गरिएका विश्लेषणहरू र भ्रमलाई चिर्नका लागि पनि व्यावसायिक पत्रकारहरूले आचारसंहिताको पूर्ण पालना गर्दै सामाजिक सञ्जालमा आउने मिथ्या सूचनाको पूर्ण बन्देज गर्नेबारेमा नीति र नियमलाई कडाइकासाथ लागु गर्ने विषयमा गम्भीर हुनुपर्ने आवश्यकता देखिएको छ ।





