सूचना मानव जीवनका लागि निकै महत्त्वपूर्ण विषय हो । परम्परागत शैलीमा सूचनाका स्रोतहरू आधिकारिक थिए, धुवाँ बालेको विषय, बजा बजाउने विषय, शङ्ख फुक्ने शैलीअनुसार मानिसहरूले सूचनाको आङ्कलन गर्ने गर्दथे । उति वेलाको समाज र अहिलेको समाज धेरै परिवर्तन भएको छ । विकसित हुँदै गएको समाजमा केही समय रेडियो, टेलिभिजन र पत्रपत्रिकाले निकै ठुलो सूचनाको स्रोतको रूपमा काम गरे र अहिले पनि त्यो क्रम जारी नै छ । खोज, अनुसन्धान गरेर सत्य विषय बाहिर ल्याउने विषयमा नेपाल सरकारसँग आधिकारिक दर्ता भएका सञ्चारमाध्यमहरूले हिजो पनि उत्तिकै काम गरेका थिए अहिले पनि गरिरहेका छन् ।
केही परिवेश र परिस्थितिहरूले कुनै कुनै सञ्चारमाध्यमहरू आस्थागत रूपमा अलि बढी र अलि कम विषयहरूमा वकालत र पैरवी गरेहोलान तर जसरी सञ्चार संस्थाहरूको सबलीकरण हुनुपर्ने थियो, सुशासन र पारदर्शी ताको विषयमा धेरै वकालत र पैरवी गर्नुपर्ने थियो यो विषय सबै क्षेत्रमा कमजोर हुँदै गयो । राजनीतिमा पनि आफन्तवादको दबदबा भयो, कर्मचारी तन्त्रमा पनि त्यस्तै भयो, अन्य सार्वजनिक निकायहरू र केही सञ्चार संस्थाहरूका सञ्चालकहरूमा पनि सत्यताभित्र आस्थागत परिस्थितिले हाबी भएपछि समग्रमा सबैमाथिनै चुनौती बन्यो ।
अधिकांश निकायहरूले आफ्नो मर्यादा कायम गर्नुपर्ने ठाउँमा पद वा संस्थाको दुरुपयोग गरेर कमाऊ धन्दामा बढी भन्दा बढी सक्रिय भएको अवस्था देखियो, केही सिमित व्यक्तिहरुको पहुँचमा रहेका केही मात्र सञ्चारमाध्यमहरूले देश आफुलेनै चलाएको झैँ गरेर मिसन पत्रकारिताको नाममा समेत कहीँ न कहीँ पदको दुरुपयोग गरियो । सार्वजनिक निकायहरू जनताको पक्षमा र सत्यभन्दापनि स्वार्थमा बढी केन्द्रित भएपछि सबैमा निराशा पलायो ।
केही निश्चित स्वार्थकेन्द्रीत मानिसहरू, संस्थाहरूले लोकतन्त्रको नाममा धेरै खाले अराजक गतिविधिहरू गरेको तितो यथार्थता अहिले बाहिर आएको छ । समाजको विकास क्रम सँगै सुचना र प्रविधिले यती धेरै फड्को मार्र्यो कि जसका कारण नीतिभन्दा बाहिर रहेर काम गरेकाहरू अहिले समस्यामा छन् । जुन व्यक्ति, संस्थाहरू र निकायहरू नीतिभित्र रहेर काम गरिरहेका थिए ती निकायहरू अहिले पनि आफ्नो अस्तित्व जोगाउने विषयमा सङ्कटमा परिरहेका छन् । सामाजिक सञ्जालमा एकाएक गलत गर्नेहरूका विषयमा कुराहरू बाहिर आउन थालेपछि धेरैले कमजोरी लुकाउन नसक्ने अवस्था देखियो ।
सामाजिक सञ्जालले केही विषयहरूमा निकै प्रभावकारी काम गर्र्यो भनेर विश्लेषण गरिरहँदा धेरै भन्दा धेरै गलत सूचनाको प्रवाहले भने समाजमा पुन सकारात्मक भन्दा नकारात्मक द्वन्द्व बढाएको अवस्था छ । यस्तो नकारात्मकता सिकार भएको समाजलाई पुनः पनि सत्य र तथ्यलाई आधार मानेर हिजोदेखि आजसम्म लडिरहेका आधिकारिक सञ्चारमाध्यमहरूले समाजमा सत्य स्थापित गर्नका लागि पनि पुनः अर्को लडाई लड्नुपर्ने अवस्था देखिएको छ ।
हिजोका दिनहरूमा सूचनाको हक खोसिएको थियो तर अहिले सूचनाको हकको गलत प्रयोग धेरै मात्रामा भएको छ यसका लागि पनि सत्य सुचना स्थापित गरेर भद्रगोल हुन थालेको हाम्रो समाजलाई सत्य के हो भनेर स्थापित गर्नका लागि सबै सञ्चार संस्थाहरूले हिजोका दिनमा भएका कमी कमजोरीहरू आगामी दिनहरूमा दोहोरिन नदिने गरी सभ्य समाजको निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने देखिन्छ ।





