नेपालको राजनीति रङ्गमञ्चमा बेला बेला हुने परिवर्तनका विषयहरूलाई फरक फरक दृष्टिकोणबाट व्याख्या र विश्लेषणहरू हुने गर्दछन् । नेपालमा सङ्घीयता आएको सबैभन्दा पछिल्लो र निकै धेरै उपलब्धिको रूपमा हेरिएको विषय पनि अहिले कता हो कता कुहिरोका कागझैँ हराउँदै गएको अवस्था छ । नेपालको संविधान २०७२ जारी भएसँगै हरेक नागरिकहरूले दुःखका दिन समाप्त भएको र अव सुखका दिनहरू आम नागरिकहरूले प्राप्त गर्ने आशा र भरोसा गरेका थिए ।
हरेक नागरिकहरू सँग जोडिएको उमङ्ग र उत्साहसँगै नेपालको समग्र विकासका लागि अझै प्रभावकारी मानिएको सङ्घीयताको विषय पनि झनै चर्चाको विषय बन्यो । सङ्घीयताको निर्वाचन भएको पनि करिब करिब दुई कार्यकाल पुरा हुन लागेको अवस्था छ भने नेपालको संविधान जारी भएको दश वर्ष पुग्न नपाउँदै नेपालमा यती धेरै असन्तुष्टिहरूको विषय बाहिर आयो कि जसले आम युवाहरूमा सकारात्मक भन्दा नकारात्मक कुराहरूले बजार ततायो ।
कतिपय नेताहरू अर्बौँको भ्रष्टाचारमा जोडिए, नेताका वरिपरिकाहरुले मात्र सेवा सुविधाहरू प्राप्त गरे, राज्यको ढुकुटी दोहन भयो । कुना कन्दराका नागरिकहरूको समग्र परिवर्तनका लागि नीति, नियम र कानुनहरू निर्माण हुन सकेनन् । यो वा त्यो बहानामा व्यक्तिगतदेखि संस्थागत भ्रष्टाचारका विषयहरू एकाएक बढ्दै गए, स्थायी सरकारको रूपमा रहेको कर्मचारीतन्त्रको शैली परिवर्तन हुनै सकेन । समग्रमा भन्दा देशमा व्यवस्था नयाँ आयो तर गरिब र विपन्नहरूको अवस्थामा परिवर्तन हुने नीति बनेनन् र कार्यान्वयन पनि प्रभावकारी हुन सकेन ।
हरेक सार्वजनिक पदमा रहेका व्यक्तिहरूले आफ्नो आचरण सुधार गरेर प्रभावकारी कामहरूको सुरुवात गर्नुपर्ने थियो ।
अनियमितता र भ्रष्टाचारलाई शून्य सहनशीलताका रूपमा अनुसरण गर्दै कुनै पनि काममा हुने भ्रष्टाचारलाई रोकेर आम नागरिकहरूको सबैभन्दा आवश्यकताको विषय जुन हुन्छ त्यसैमा लगानी गर्नुपर्ने थियो तर यी कामहरू प्रभावकारी हुन सकेनन् । यो वा त्यो बहानामा राजनीतिक दलहरूसँग आबद्धता हुनुपर्ने, पहुँच भएकाहरूले मात्र धेरै फाइदा लिने कामहरू भए । यस्ता धेरै कामहरूमा प्रभावकारिता नभएपछि जनतामा निराशा छाउँदै गएको थियो ।
पुराना तर बारम्बार सत्तामा बसेका दलहरू एक आपसमा सधैँ लडिरहने केवल कुर्चीका लागि तर समग्र नेपाल र नेपालीहरूको विकासका लागि भने ठोस नीति निर्माण गर्ने विषयमा एकमत नहुने भएकै कारण जनताले नयाँ बिचार, नयाँ चाहना खोजिरहेका थिए । पछिल्ला केही दिनहरूमा यस्ता विषयहरूको खोजी हुँदै गर्दा एकाएक परिवर्तनको शंखघोष मात्र भएन आन्दोलन भयो । दुई दिनमा सत्ता परिवर्तन भयो ।
अहिले चुनावको विषय बलियो गरी उठिरहेको छ । हिजोका सबै खाले कमी कमजोरी औँल्याउँदै ।
भ्रष्टाचार र बेतिथिको अन्त्य गर्ने विषय सँगै सबैभन्दा धेरै महत्वको विषय भनेको नेपालको राष्ट्रियता र यसको स्वाभिमान जोगाउँदै आम नागरिकहरूको सबैभन्दा महत्त्वपूर्ण विषय कसरी पुरा हुन सक्छ । स्वदेशमै रोजगारी कसरी सृजना हुन सक्छ । यस्ता विषयहरू सँगै अहिले चुनावमा होमिएका सबै राजनीतिक दलहरूले देश बचाउने विषयलाई पहिलो एजेन्डाका रूपमा अगाडी सार्नुपर्ने आवश्यकता देखिएको छ । देश पहिलो हो त्यसपछि विकास र समृद्धि भन्ने विषयको उठान नगर्नेहरूले पुनः धोका दिन सक्ने विषयमा आम नागरीकहरू सचेत हुनुपर्ने देखिन्छ ।





