विश्व मानचित्रमा विभिन्न देशहरू विभिन्न खाले समस्याहरूबाट ग्रज्रिरहेकै छन् । विकासको चरम चुलीमा पुगेका देशहरू पनि विश्व महाशक्ति राष्ट्रको चुलीमा कसरी पुग्ने भन्ने होडबाजी चलिरहेको छ । कम विकसित मुलुकहरू विकासोन्मुख मुलुकमा कसरी उक्लने भन्ने होडबाजी चलिरहेको छ । सबै देशका आ आफ्ना साझा समस्याहरू छन् कतिपय भौगोलिक समस्याहरू छन् त कतिपय छिमेकीका विभिन्न इच्छाअनुसार चल्न नसकेर ध्वस्त हुनुपरेका समस्याहरू छन् । अल्पविकसित मुलुकबाट विकसित मुलुकमा उक्लनका लागि धेरै ठुलो मूल्य चुकाएर मात्र देशको अर्थतन्त्रमा प्रभावकारी काम भएको पनि कतिपय देशहरूका उदाहरणहरू छन् ।
हिरोसिमा र नकाशाकीमा भएका विनास पछि उदायको अर्थतन्त्र लगायत बलियो शक्ति राष्ट्रका रूपमा उदाउँदै गरेको चीनको बिषयपनि उत्तिकै रोचक छ । हरेक देशहरुले समग्र मुलुकको परिवर्तनका लागि केही न केही विषयमा ठोस नीति अवलम्बन गरेका कारण मात्र सम्पन्न मुलुकको सूचिमा उक्लन सफल भएका छन् । त्यसका लागि जनतामा पनि प्रभावकारी सचेतनाका विकास र देश प्रेम पहिलो हुनुपर्ने मुख्य कुरा मानिएको छ ।
नेपाल यस्तो देश हो जुन देशमा अथाह स्रोत र साधनहरूले भरिएको छ । हिजो छिमेकी मुलुक भारत उपनिवेश हुँदा नेपालका उति वेलाका शासक प्रशासकहरूले नालापानी युद्धमा आफ्नो ज्यान गुमाए तर देशको अस्तित्व कायम राखे यस्तो महत्त्वपूर्ण वीर गाथा बोकेको नेपालले पञ्चायत कालपछिका विभिन्न आरोह अवरोह खेप्दै जाँदा र देशमा प्रजातन्त्र हुँदै लोकतन्त्र र सङ्घीयतामा मुलुक जाँदा पनि सबैभन्दा बढी गर्न नसकेको काममा रूपमा नीतिमा परिवर्तन हो भन्ने विषय सबैले बुझेका छन् ।
नेपालको समग्र विकासका लागि ठोस नीति सबैभन्दा महत्त्वपूर्ण विषय हो । नेपालको संविधान २०७२ निर्माण भई सक्दा पनि उति बेलै परिवर्तन गर्नुपर्ने केही पुराना नीति र नियमहरू अहिलेसम्म परिवर्तन गर्न नसक्नुले नेपालको विकासमा धेरै समस्या भएको छ । यो विषय अहिलेसम्म प्रधानमन्त्री चलाई सकेका व्यक्तिहरू र विभिन्न समयमा सत्तामा पुगेका र मन्त्री भएका व्यक्तिहरूलाई पूर्ण रूपमा थाहा छ तर किन व्यवहारतः कार्यान्वयन गर्न नसकेका हुन यो विषय भने गौण नै छ । यसको सबैभन्दा मुख्य विषय भनेको नै नेपालमा स्थायी रूपमा राजनीतिले लय समात्न नसक्नु र निर्वाचनका बेलामा स्पष्ट रूपमा बहुमत आउन नसक्नु सबैभन्दा ठुलो विषय हो भनेर अहिलेसम्म सरकार चलाएका विभिन्न दलका नेताहरूले भन्दै पनि आएका छन् ।
जसरी यस्ता विषयहरू सत्ता बाहिर हुँदा आउने गर्दछन् तर सत्तामा पुग्ने बेलामा भने एउटा पनि नीति परिवर्तनका विषयहरूमा चासो नदिने प्रचलनले देश परिवर्तनमा निकै ठुलो समस्या परेको छ । नेपालमा अर्बौँ रकमका सालका काठहरू जङ्गलमै सडेका छन्, अवैध चोरी निकासी भएका छन्, विकास निर्माणको जिम्मेवारी लिएकाहरूले १५ औँ वर्षसम्म काम गर्दैनन्, जङ्गली जनावरहरूले मानव बस्ती सखाप पारिरहेका छन् तर उचित कानुन अभावमा मानिसहरूको ज्यान भन्दा जनावहरुको संरक्षण किन बढी महत्वको छ ।
आन्तरिक स्रोत परिचालन ऐन, खानी उत्खनन र प्रशोधन ऐन, शिक्षा ऐन, वन ऐन, निर्माण ऐन, मुलुकी ऐन, खरिद ऐन, मिडिया ऐन जस्ता धेरै महत्वका ऐनहरू अहिले पनि पुरानै शैलीका हुनु र मुलुकले नयाँ परिवेशको खोजी गर्नु भनेको केवल जनता झुक्काउने काम बाहेक अरू केही पनि हुँदैन देशको आवश्यकता अनुसार धमाधम ऐन, नीति र नियम परिवर्तन गरेर देश विकासमा लाग्ने साझा प्रतिबद्धता नै अहिलेको आवश्यकता हो ।





