कृषि क्षेत्रमा नयाँपनको सुरुवात र सामूहिक अभियान जरुरी

कृषि क्षेत्रको विकास नभएसम्म विकसित र अल्पविकसित सबै देशहरूको आर्थिक अवस्थाको सुधारमा निकै ठुलो चुनौती खडा हुन्छ । कृषि उत्पादन भनेको मानव जीवनको दैनिक जीवनयापनको महत्त्वपूर्ण विषय हो । ठुला ठुला उद्योग र कलकारखानाहरूको सुरुवात र स्थापनाले रोजगारी र आर्थिक अवस्था सुधारका विषयहरूलाई प्राथमिकतामा राख्छ तर जुन देश कृषिमा आत्मनिर्भर हुन्छ त्यो देशमा जस्तोसुकै अन्य समस्याहरू आए पनि देशका नागरिकहरू भोगभोकै बस्नुपर्ने अवस्था आउँदैन । जीवन यापनका लागि दैनिक रूपमा खाना नभएसम्म अन्य जस्तोसुकै विकासले पनि केही समयका लागि प्रभाव जमाउन सक्ला तर दरिलो अर्थतन्त्रको सुरुवाती बिन्दु भनेको नै कृषि र उत्पादन नै हो ।

विकसित समाजको परिवेशअनुसार पछिल्ला दिनहरूमा नेपालका विभिन्न उत्पादनहरू विश्व बजारमा निकै आवश्यकताका विषयहरू बनेका छन् । जसरी समाज परिवर्तन हुँदै गयो सोही अनुसार विभिन्न रोगहरूको सङ्क्रमणहरू बढ्दै गए । विज्ञान र प्रविधीले कतिपय विषयहरूको उपचार सम्भव भएको भए पनि दैनिक जीवन यापनका लागि पुनः आवश्यक पर्ने खाना नै हो कतिपय रोगहरू लागेका व्यक्तिहरूले उपभोग गर्ने खाद्य बस्तुहरूको उत्पादन नेपालका पहाडी र हिमाली जिल्लाहरूमा हुने गर्दछ ।

ती क्षेत्रको उत्पादनलाई सामूहिक उत्पादन अभियान अन्तर्गत जोडेर नेपालमै त्यस्ता खाद्य बस्तुहरूको प्रशोधन गरेर खाद्यान्न बिक्री गर्न सकेको खण्डमा लाखौँ मूल्य नेपालकै किसानहरू प्राप्त गर्न सक्ने अवस्था देखिएको छ । यो सँगै नेपालमा भएका विभिन्न जडीबुटीहरूको उत्पादनलाई वन क्षेत्रमा सामूहिक उत्पादन अभियानसँग जोडेर हरेक बन क्षेत्रका उपभोक्ताहरूको राम्रो आम्दानीका रूपमा विकास गरेर देश र जनताको अर्थतन्त्र उकास्न सकिने प्रशस्त सम्भावनाहरू देखिएका छन् ।

नेपालको सन्दर्भलाई हेर्ने हो भने नेपालमा हुने महत्वपूर्ण उत्पादनको देश र विदेशमा कति उत्पादन बिक्री हुन सक्छ सोही अनुसार बजारिकणको ज्ञारेन्टी गरेर तीनै तहका सरकारहरूको संयुक्त आयोजनामा सामूहिक कृषि उत्पादन अभियानको सुरुवात गर्नुपर्ने देखिन्छ । पहिलो चरणमा हरेक प्रदेशमा एउटा गरेर सात वटा प्रदेशमा सात वटा र केही जिल्ला स्तरमा सम्भावनाका आधारमा सामूहिक उत्पादन अभियान सुरु गर्नुपर्ने अहिलेको आवश्यकता हो । भूगोल सुहाउँदो कृषि, फलफूल र पशुपालनका क्षेत्रमा सामूहिक उत्पादन अभियान थालनी गरेर रोजगारी स्थापना सँगै आर्थिक अवस्था सुधारका कामहरू गर्न सकिन्छ ।

अहिलेसम्म नेपालको कृषि लगायतका अन्य विभिन्न क्षेत्रहरूमा भएका लगानीहरूको प्रतिफल पूरै शून्य भएको पक्कै हैन तर समय, सन्दर्भ र आवश्यकताअनुसार जसरी हरेक क्षेत्रमा नीति, नियम परिवर्तन हुँदै पछिल्लो आवश्यकता अनुसारका विकासको मोडल परिवर्तन गर्नुपर्ने थियो सोही अनुसार काम हुन नसकेको भने पक्कै हो । कायम रहेका स्थानीय र प्रदेश सरकारहरूले रणनीति परिवर्तन गर्ने सोच निर्माण सँगै नयाँ बन्ने सरकारले प्रभावकारी रणनीति अवलम्बन गरेर काम गर्न सकेमा अझैँ नेपालको आर्थिक अवस्था बलियो बनाउने धेरै आधारहरूमध्ये कृषि क्षेत्र पनि एउटा महत्वपूर्ण आधार हुनसक्ने देखिन्छ । जसले बाँझो जमिनको सदुपयोग सँगै सामूहिक उत्पादन अभियान पनि प्रभावकारी हुनसक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार