अब बहाना गर्ने ठाउँ छैन ?

नेपालको राजनीतिमा निकै धेरै आशा र भरोसा गरेर जनमत प्राप्त गरेको यो विषय अहिले सबैभन्दा धेरै चर्चामा छ । रास्वपाले जसरी जनताको मत जितेर स्पष्ट बहुमत र करिब दुई तिहाइको सरकार चलाउने निकै महत्त्वपूर्ण अवसर प्राप्त गरेको छ । यसअघि नेपालमा लोकतन्त्रको प्राप्तिसँगै करिब चार पटक सम्म यस्ता अवसरहरू जनताले प्रदान गरेको देखिन्छ । नेपाली काँग्रेसलाई दुई पटक र अन्य दलहरूको गठबन्धनपछिको मत हेर्दा र एकपटक स्पष्ट बहुमतको सरकार बनाउन दिएका विगतका उदाहरणहरूलाई केलाउने हो भने पनि जति वेला स्पष्ट बहुमत सहितको म्यान्डेट जनताले प्रदान गरेका थिए उक्त समयमा देशमा केही न केही नयाँ कामको सुरुवात हुन्छ भन्ने आशा पनि जनतामा थियो । स्वाभाविक पनि हो कि जसरी जनताले जनमत दिएका हुन्छन् सोही अनुसारको विकास, सुशासन, ठुला ठुला उद्योग कलकारखानाको निर्माण होस भन्ने कुराको चाहना गर्नु जनताको अधिकार क्षेत्र भित्र पर्ने विषय पनि हो ।

नेपालका विगतका राजनीतिक दलहरूले प्राप्त गरेको जनमतलाई कसरी काम गरे भनेर विश्लेषण गर्दा केवल सत्ता प्राप्तिका लागि स्पष्ट बहुमत प्राप्त गरेका दलहरूबिच तिक्तता सृजना भयो र पार्टी विभाजनको अवस्थामा पुग्यो यसले गर्दा जनताले चाहना गरेको भन्दा नेताहरूले चाहना गरेको सत्ताको विषयमा मात्रै धेरै दिनहरू केन्द्रित भए त्यसो भएपछि जसरी नीति परिवर्तन गरेर विकासका विषयहरू र आम नागरिकहरूको विभिन्न आवश्यकताहरू मध्ये प्राथमिकिकरण गरेर प्रभावकारी कामहरू गर्नुपर्ने थियो त्यस्ता कामहरू हुन सकेनन् । सत्ता जोगाउनका लागि सांसदहरूको खरिदबिक्रीदेखि, विकास निर्माण लगायतका कामहरूमा बिचौलियाका हाबी हुँदै गयो । बिचौलियाहरू दिनप्रतिदिन आफ्ना अनुकूलका कामहरूमा व्यस्त भए जनताका साझा समस्या र समाधानका साझा विषयहरू सँधैजसो ओझेलमा परे ।

केही केही सरकारहरूले ल्याएका विभिन्न राम्रा कामहरूमा समेत विभिन्न अवरोधहरू सृजना गरेर व्यक्तिगत स्वार्थ हाबी हुँदै गयो । दिगो विकासमा समस्या देखियो, भ्रष्टाचार एकाएक बढ्दै गायो । आफ्नो मान्छे, आफ्नो पार्टी भनेपछि जसले गल्ती गरे पनि जोगाउने कामहरू धेरै भए । सांसद लड्दा टिकका लागि हुने करोडौँ रकमको चलखेलको विषय पनि एकाएक बाहिर आयो जसका कारण नेपालमा प्रजातन्त्र प्राप्तिपछिका दलहरूले जसरी जनतालाई विकासको डेलिभरी दिनुपर्ने थियो सोही अनुसारका प्रभावकारी कामहरू हुन सकेनन् जनतामा निराशा बढ्दै गयो ।

पुराना, नीति, पद्धति, पार्टी र संरचनाबाट आजित भएका धेरै जनताहरूको आक्रोशको मत अहिले रास्वपा लाई गएको छ । अव बन्ने सरकार र निर्वाचित सांसदहरूले कानुन निर्माणमा बहुमत पुगेन, वा नीति फेर बदलमा बहुमत पुगेन, समस्या भयो भन्ने उम्कने कुनै पनि ठाउँ छैन । अव केवल प्रभावकारी कामहरूको धमाधम थालनी गर्नुपर्ने देखिएको छ । केही दिनभित्र मन्त्रीपरिषद् समेत निर्माण हुने र त्यसपछिका करिब ६ महिनाभित्र सयौँ विद्याका कानुनहरू धमाधम संशोधन गरेर विकास, सुशासन र समृद्धिका लागि धमाधम काम गर्नुपर्ने छ । कुनै बहाना बनाउन पाइने अवस्था छैन किनकि स्पष्ट रूपमा पाँच वर्षसम्म काम गर्न जनताले जनमत दिएका छन् । कामना गरौँ यो जनमत पाँच वर्षसम्म कायम रहोस् बिचैमा विभाजनको सिकार भएर पुनः हिजोका पुराना दलहरुझै ओझेलमा नपरोस् शुभकामना ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार