लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेको नै बहुमतको कदर गर्नु हो । हो हिजोका दिनमा लोकतन्त्रको हिमायती मानिएका पुराना दलहरूले करिब ३५ वर्षसम्म जनतालाई धेरै खाले विषयहरूमा काम पनि गरेका हुन् । जसरी समाज परिवर्तनको हिजोको अवस्था जस्तै आजसम्म विकास, सुशासन र समृद्धिका विषयहरू आउनुपर्ने थियो सोही अनुसार काम भने नभएकै हो । विभिन्न ठुला ठुला काण्डहरू हिजोका दिनमा जनताले त्यति धेरै चासो र चिन्ता गरेनन् ।
जब समाज परिवर्तन हुँदै गयो समयको परिवर्तनसँगै विभिन्न काण्डहरू जनमानसमा एकाएक मोबाइलमार्फत आउन थाले त्यसपछि लामो समयसम्म पुराना दलहरूबाट यो वा त्यो बहानामा पेलिएका थिए उनीहरू भित्र भित्र भुसको आगोझैँ विरोधी बनिरहेकै थिए । नयाँ शक्तिको खोजीमा जनताहरू देखिएको विषयलाई नेताहरू बुझ्नुपर्ने थियो किनकि जति वेला अहिलेका प्रधानमन्त्री बालेन साह लगायत कतिपय स्थानहरूमा स्वतन्त्र उम्मेदवारहरूले विजय प्राप्त गरेका थिए । सबैभन्दा महत्त्वपूर्ण अर्थात् देशको मुटु मानिएको काठमाडौँमा समेत स्वतन्त्र उम्मेदवारले विजयी हासिल गरेको विषयलाई नेपालका पुराना दलहरूले बुझ्नै सकेनन् ।
पुराना दलहरूले जनताहरूलाई हिजोका जस्तै आफूले भनेकै ठाउँमा र भनेकै पार्टीमा मतदान गर्छन् भन्ने पुरानो सोच नै सबैभन्दा ठुलो समस्या थियो । किनकि सबै हामी लेनै भनेको मान्छन् भन्ने भ्रम पालेका पुराना दलहरूले यसपालिको निर्वाचनमा यसरी खुम्चिएका छन् कि ? सबै प्रतिपक्षी दलहरू एउटै लाइनमा मात्र सीमित देखिए । बिहीबार भएको सांसदहरूको शपथ ग्रहण गर्दै गर्दा देखिएको दृश्य पछि पुराना दलहरूले हिजोका दिनमा गरेका कमी कमजोरीको मनन गरे होलान् कि नाइँ भन्ने विषय पनि अहिले चर्चाको विषय बनेको छ ।
हिजोका चुनावहरूमा जसरी स्पष्ट बहुमत ल्याउँदा, कानुन संशोधन गर्ने विषयहरू, सुशासन कायम गर्ने विषयहरू, जनताको भावनाअनुसारको काम गर्ने कुरा उनीहरूले सोचेनन्, बरु यतीसम्म जनतालाई अलमल्याउने कामहरू गरे भने चुनाव अघि नै दुई वा तीन दलहरू मिलेर इमानदार जनता र कार्यकर्ताहरूलाई आफ्नो पार्टी भनेर बसेका जनतालाई अर्को पार्टीको चुनाव चिन्हमा मतदान गर्न बाध्य पारियो । बहुमत ल्याएको दललाई सरकार चलाउन दिएनन्, कहिले कोही सँग मिलेर प्रधानमन्त्री भए त कहिले कोहीसँग मिलेर केवल प्रधानमन्त्री र मन्त्री कसरी बन्ने भन्ने बाहेकका अन्य कामहरू गर्न सकेनन् । जनतालाई प्रदान गर्नुपर्ने शिक्षा, स्वास्थ्य, ठुला विकास र देशको समृद्धिका विषयहरू ओझेलमा पार्दै गए ।
जनताहरू नेतालाई जिताएर विदेश जानुपर्ने बाध्यता भयो । पुनः चुनाव भयो भने जनताहरू देश विदेशबाट आएर मतदान गरे तापनि भनेजस्तो विकास हुन सकेन । यसमा सबैभन्दा धेरै कमजोरी नेपालमा ३५ वर्षसम्म विभिन्न समयमा सत्ता चलाउने दलहरूको नै हो । एकले अर्कोलाई सत्तोसराप हुने गरी गाली गलौच गर्दै हिँड्ने सबै दलहरू यसपालि भने एउटै रोमा बसेर शपथ खाँदै गर्दा हिजो गरेका गल्तीहरूलाई मनन गरे होलान् र मनमनै सोचेहोलान हामिलेनै गल्ती गरेको फल मिलेको छ भनेर ।
अहिले यो विषय पनि निकै चर्चामा रहेको छ । सुध्रने र सुधार्ने बेलामा कानमा तेल हालेझैँ दलहरूलाई जनताले यसरी सबक सिकाएका छन् कि अव कहिल्यै कसैलाई गाली गर्ने छैनन् । नयाँ दलले पनि पुरानै दलजस्तो गरी काम गर्न सकेनन् भने अगामी पाँच देखि दश वर्षपछि पुनः अर्को नयाँ दलले यस्तै गरी अहिलेको दुई तिहाइको सरकारलाई पनि खुम्चाउने छ ।





