कर्णाली चिनाउने अभियान बढाउँदै लैजानुपर्दछ

कर्णाली नेपालको मात्र नभई विश्व समुदायको नयाँ पर्यटकीय गन्तव्य हो । यसका लागि धेरै कुराहरू अभाव छन् नै तापनि विभिन्न विषयहरूमा विभिन्न समयमा कर्णाली प्रदेशमा गरिएका गतिविधिहरूले कर्णाली प्रदेशको पर्यटन विकासमा कहीँ न कहीँ टेवा पुगेको अवस्था छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायत विभिन्न विषयहरूमा कर्णाली पछाडि छ । त्यसका लागि विभिन्न पहलहरू सुरु भई रहेका छन् ती पहलका कारण विगत भन्दा अहिले कर्णालीका धेरै सूचकहरूमा वृद्धि हुँदै पनि गएको छ । यस्ता अन्य धेरै विषयहरू सँगै कर्णाली एक्कासि आर्थिक वृद्धिदरमा प्रभावकारी हुन सक्ने प्रशस्त आधारहरू पनि उतिकै छन् ।

कर्णाली प्रदेश भएर बग्ने कर्णाली नदिमा हजारौँ मेगावाटको विद्युत् उत्पादन गर्न सकिन्छ । कर्णाली प्रदेशको दैलेखमा रहेको मिथेन ग्याँसको प्रशोधन गर्न सकेको खण्डमा यसबाट देशकै आर्थिक अवस्था सुधार गर्न सकिने अवस्था छ । यसका लागि केन्द्र सरकारले ठोस कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ ।

अझै धेरै महत्वको विषय भनेको कर्णालीको पर्यटन नै हो यहाँ अथाह पर्यटनका सम्भावनाहरू रहेका छन् ती सम्भावनाहरूलाई क्रमागत रूपमा विकास गर्दै जाने हो भने कर्णालीको पर्यटनमा विश्व आकर्षित हुन सक्ने अवस्था देखिन्छ । विगत लामो समयदेखि सरकारमा मुख्य नेतृत्वदायी भूमिका निर्वाह गर्न नपाएका कारण पनि कर्णालीले धेरै विषयहरूमा पीडा भोग्दै आएको अवस्था छ ।

अथाह सम्भावनाहरूलाई हेर्न आउने पर्यटकहरूका लागि सहज यातायात मात्र हुन सकेमा बर्षैनी लाखौँ पर्यटकहरूले कर्णालीका विभिन्न क्षेत्रको अध्ययन र अवलोकन गर्न सक्नेछन् । यसका लागि कर्णाली प्रदेश सरकार र स्थानीय सरकारहरूले भने कुनै ठोस योजनाहरू ल्याउन नसक्नु विडम्बनाको कुरा हो । पर्यटन विकासका नाममा कुल देवताका मन्दिर निर्माण गर्ने सोचलाई परिवर्तन गर्दै समग्र कर्णालीको पर्यटन विकासको कामहरू गर्नुपर्ने अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार