युवाहरू देशको भविष्य हुन भन्ने विषयमा कसैको पनि विमति देखिँदैन किनकि आजका युवाहरू नै भोलिको भविष्य थाम्ने महत्त्वपूर्ण खम्बाहरू हुन । युवाहरू बिग्रँदै जाँदा समाज र देश कुनै अवस्थामा अनावश्यक रूपमा फस्न सक्ने हुनसक्छ । अर्कोतर्फ भिजन भएका युवाहरूलाई आवश्यक परेको खण्डमा अवसर प्रदान गर्न नसक्नुले पनि समस्या बढ्दै गएको अवस्था छ । नेपालमा लामो समयसम्म शासन सत्ता सञ्चालन गरेका पुराना दलहरूले युवाहरूलाई पर्याप्त मात्रामा अवसर दिन नसकेको गुनासो सँगै देशमा अराजकता धेरै बढेको र बिचौलियाहरूकै वरिपरि देश सञ्चालन भएको भन्दै चर्को आलोचना भएका बेलामा भ्रष्टाचार अन्त्य गर्दै देशमा दिगो शान्ति र ठुला विकास निर्माणको अपेक्षा सँगै नेपालमा भर्खरै सम्पन्न भएको आम निर्वाचनमा भने नयाँ दल र नयाँ अनुहारहरूको प्रतिनिधि सभामा प्रतिनिधित्व भएको छ ।
कम बोल्ने तर धेरै काम गर्ने इच्छा भएका बालेन साह प्रधानमन्त्री भएको एक महिनाको अवधिमा देखिएका शासकीय सुधार, भ्रष्टाचार अन्त्य, सुकुम्वासीका समस्या समाधान र अन्य विभिन्न जनजीविकाका विषयहरूमा जसरी प्रभावकारी कामको थालनी गरिएको छ । यसको प्रशंसा र आलोचना पनि सँगसँगै बढी रहेको छ । आलोचना यस मानेमा देखिएको छ कि प्रतिपक्षी दलहरूको अधिकारकै विषय भएकोले पनि प्रतिपक्षी दलहरूले आलोचना गर्नु स्वाभाविकै मानिन्छ अर्कोतर्फ कतिपय भ्रष्टाचारमा संलग्न भएकाहरू र विधिको शासन भन्दा पदको दुरुपयोग गरेर गरिबको नाममा शासन सत्ता चलाउनेहरूबाट यसको आलोचना भएको अवस्था छ ।
देशको पछिल्ला परिघटनासँगै अव युवाहरूको भविष्य जोगाउने विषयमा पनि तीन तहका सरकारहरू गम्भीर हुनुपर्ने आवश्यकता देखिएको छ । बेरोजगारी, सामाजिक रूपमा वितृष्ण, साथीभाइहरूको लहलहै जस्ता विषयबाट कुलतमा फस्दै गरेका र फसिसकेका युवाहरूको भविष्य जोगाउने विषयमा कसरी प्रभावकारी काम गर्न सकिन्छ यसबारेमा सबैले सचेत भएका समाजको खम्बाका रूपमा रहेका युवाहरूलाई जोगाउने अभियानको थालनी गर्नु अहिलेको आवश्यकता हो ।








