धमाका संवाददाता
दैलेख २३ साउन ।
दैलेख सदरमुकामको निकै रमणिय स्थान महाबुलेकमा आज भब्य मेला लाग्ने भएको छ ।
दैलेख र कालिकोटको सिमानामा पर्ने महावुमा ढुंगाबाट उत्पती भएको शिवलिङ्ग अवस्थित छ । परम्परागत रुपमा महादेव शिव र पार्वतीको उत्पती भएको कैलाश स्थानका रुपमा महाबुधाम प्रख्यात छ ।
दैलेख भुर्तीका बोल्न नसक्ने आचार्य ब्रामणका छोरा पाटनमा गाई भैसी चराउन गएका बेला ढुंगामा सुतेको अवस्थामा शिवको दर्शन पाएपछि । ढुंगामा दिनहुँ दुध चढाउनुपर्ने र उक्त कुरा कसैलाई नभन्ने शर्त भएबमोजिम उनलाई बोल्न र वेद पढ्न समेत आएको पुर्खाहरुले अहिलेपनि बताउने गर्दछन् ।
दिनहुँ दुध चढाउने उक्त ढुंगाबाटै फुटेर शिव लिङ्ग बनेको अहिलेपनि जस्ताको तस्तै देख्न सकिन्छ ।
दैलेखको भुर्तीका आचार्य ब्रामणहरु र कालिकोट र दैलेखका काफ्लेहरुले नै अहिलेसम्म शिव देवताको पहिलो पुजा गर्ने गर्दछन् ।
जो कोहीलेपनि एउटामात्र बर मागे तत्काल पुरा हुने देवताका रुपमा दैलेख, सुर्खेत, कालिकोट, जुम्ला, हुम्ला,नेपालगंज, काठमाण्डौं मात्र नभई भारत सम्मका भक्तजनहरुले महावु धाममा पुजाआजा गर्न घुँईचो लाग्ने गर्दछ ।
आज पुजापाठ हुने उक्त धाममा बिहीवार देखिनै भक्तजनहरुको घुँईचो लागेको छ ।
दैलेख सदरमुकामको समुन्द्री सतहदेखि ४ हजार २ सय मिटर उचाई रहेको निकै रमणीय पाटन स्थानमा रहेको चारवटा ढुंगाहरु मध्ये बिचको ढुंगामा शिवको शिला प्रकट भएको छ ।
मनले चाहेको कुरा सजिलै पुरा हुने विश्वासका साथ विगत सयौं बर्षदेखि अहिलेसम्म पनि उक्त महाबुधाममा बर्षेनी भक्तजनहरु पुजापाठका लागि जाने भएपनि बिशेष गरेर पुर्णिमाको अवसरमा महत्वपुर्ण पुजापाठ हुने गर्दछ ।
महावु क्षेत्र धार्मिक पर्यटनका हिसावले निकै महत्वपुर्ण क्षेत्र मानिएको भएपनि अहिलेसम्म उक्त स्थानमा सहज यातायात पुग्न नसकेका कारण यसको प्रचार प्रसार हुन सकेको छैन् ।
दैलेख महावु स्थानसम्म सडक यातायात पुर्याउनका लागि जिल्ला विकास समिति दैलेख अन्तरगत सुरु गरिएको निर्माणलाई अँझै सक्रिया बनाउनुपर्ने देखिन्छ महाबुलाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गरिनु पर्दछ ।












