
फागुन २५, दैलेख
जिल्लाको भगवतिमाई गाउँपालिकाले संचालन गरेको रोजगार बैकमा महिला र पुरुषवीच भेदभाव गरेको छैन् । समान काम अनुसार समान ज्यालाको नीति लिएपछि महिला कामदारहरु हौसिएका छन् । गाउँपालिकामा रहेका महिला र पुरुष कामदारको ज्यालामा समानता ल्याउन रोजगार कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले श्रम रोजगार बैक स्थापना पश्चात् युवा स्थापित र डोजर विस्थापित नीति अगाडी सारेर गाउँमै रहेका युवा युवतीलाई रोजगार दिएको छ । गाउँपालिकाले ज्यालामा समेत समानता ल्याएको बताएको छ । भगवतिमाई गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले गाउँपालिकाले आर्थिक वर्ष ०७६÷०७७ सुरु हुने श्रम रोजगार बैक मार्फत एक सय ४० जना युवालाई रोजगारी दिएको बताए । उनले गाउँपालिकाको विकास निर्माणमा युवा युवतीहरूलाई परिचालन गरेपछि एक सय ४० को ३३ प्रतिशत अधिकार सुनिश्चित गरेर ज्यालामा समेत समानता ल्याउने तयारी गरेको बताए ।
सात वडा रहेको गाउँपालिकामा सात वटा रोजगार सुमह निर्माण गर्दा एक समूहमा २० जना मध्ये ७ जना महिला अनिवार्य गरेर समूह निर्माण गरेको बताउँदै उहाँले विकास निर्माणमा समेत महिलाहरूको सहभागितालाई सुनिश्चितता गरेको बताए । भगवतिमाई गाउँपालिका वडा नः २ की विनीता शर्माले गाउँपालिकाले सुरु गरेको रोजगार बैकमा लागेपछि आफूहरू खुसी भएको बताइन। उनले विगतमा गाउँमा काम गर्दा महिला र पुरुषले समान ज्याला नपाइने अवस्था थियो अहिले रोजगार बैक बाट काम गर्दा समान ज्याला पाएकोमा महिलाहरू खुसी भएको सुनाइन ।
भगवतिमाई गाउँपालिका वडा नः ४ की सुनिता बिसीले गाउँमा हुने विकास निर्माणका काममा विगतमा समान ज्याला नपाएका महिलाले अहिले समान ज्याला पाउँदा विकास निर्माणका थप ऊर्जाले काम गरिरहेको बताइन । दैनिक ज्याला मजदुरी गरेर खाने महिलाहरू पनि गाउँमा हुनुहुन्छ । पहिला पुरुषले पाँच सय ज्याला पाउँदा महिलाले तीन सय पाउनुहुन्थ्यो बाध्यताका कारण काम गर्न बाध्य महिला अहिले रोजगार बैक मार्फत समान ज्याला पाएपछि खुसी छन् । जिल्ला मात्र होइन नेपाल अधिराज्यभर डोजर आँतक र उपभोक्ता समिति मार्फत कामहरू सञ्चालन गर्दा समेत कामहरू प्रभावकारी र गुणस्तर नभएको र निर्माण भएका उपभोक्ता समिति पनि कमिसनको लोभमा डोर हाजिर गरी भुक्तानी लिने परम्परालाई तोड्न श्रम रोजगार बैकले महत्त्वपूर्ण भूमिका हुने गाउँपालिकालेले लक्ष्य लिएको छ ।
नेपालको संविधानको धारा ३३ ले रोजगारीको हकलाई मौलिक हकका रूपमा समावेश गरेको र सोही मौलीकहकको कार्यान्वयन गर्न रोजगारी हक सम्बन्धी ऐन २०७५ अनुसार श्रम रोजगार बैक स्थापना गरी रोजगार दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखत खड्काले बताए ।
१० लाख भन्दा माथिका योजनाहरू टेन्डर प्रक्रिया बाट गर्ने प्रयास गरे पनि त्यसको प्रभावकारी हुन नसकेको कारण गाउँपालिकाहरूले सञ्चालन गरेको योजनाहरू प्रभावकारी बनाउन श्रम रोजगार बैक मार्फत यो आर्थिक वर्षमा २१ वटा योजनामा युवाहरूले काम गर्ने जानकारी दिए । आर्थिक वर्षमा १ सय ४० युवाहरूको रोजगारी बाट २१ वटा खाने पानी,सडक,सिचाईका योजनाहरूलाई तयारीका साथ श्रम रोजगार बैक मार्फत सूचीकृत भएका युवाहरूलाई तालीम प्रदान समेत गरेको छ । श्रम रोजगार बैक स्थापना पश्चात् गाउँपालिकामा रहेका बेरोजगार युवाहरूको पहिचान र सूचीकरण गर्ने रोजगार केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिहरूलाई न्यूनतम एक आर्थिक वर्षमा १ सय दिनको रोजगारी दिने व्यवस्था गाउँपालिकाले गरेको छ ।
रोजगार बैक मार्फत खटिएका कामदारहरूको स्वास्थ्य परीक्षण जाँच इपान भर्ने जीवन बिमा गर्ने जस्ता कार्यहरूले पूर्णता पाइसकेको र प्राविधिकहरूले गाउँपालिकाका योजनाहरूको प्राविधिक स्टमेट गरे पश्चात् रोजगार बैकमा आबद्ध युवाहरूले विकास निर्माणका काम सुरु गर्ने र उनीहरूको पारिश्रमिक नेपाल सरकारले तोकेको दक्ष कामदार र अदक्ष कामदारका आधारमा ज्याला पाउने छन् ।









