
बिश्वभर कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै दैलेखमा पनि छिमेकी मुलुक भारतबाट दैलेख फर्कनेहरुको संख्या अत्याधिक मात्रामा बढेको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लाभर भारतबाट आएका नागरिकहरुको बिवरण संकलन कार्यलाई तीब्र बनाएको छ । पछिल्लो प्राप्त जानकारी अनुसार संक्रमण बढेसँगै भारतबाट दैलेख जिल्लामा आउनेहरुको संख्या ९ सय ४ पुगेको छ । बताईएको छ । केही पालिकाहरुमा अझै त्यसको आधिकारीक तत्थ्याङ्क आउन सकेको छैन् । पहिचान भएका व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने हो तर वास्था गरिएको छैन् । उनीहरु घरमै बसेका छन् । कुनै एक व्यक्तिलाई संक्रमण फैलिएमा परिवार र टोल नै असुरक्षित हुने भन्दै स्थानीयहरुले चिन्ता व्यक्त गरेका छन् ।
दैलेखको आठविस नगरपालिकाका नगरप्रमुख खड्गराज उपाध्यायले पछिल्लो जानकारी अनुसार नगरपालिकामा ४ सय ५० जना भारतबट आएको जानकारी प्राप्त भएको बताए । संख्या अझै बढ्न सक्ने उनको भनाई छ । ज्वारोका बिरामीहरुको संख्या बढेसँगै सर्तकता पनि बढाईएको उपाध्यायले जानकारी दिएका छन् ।
पालिकाका सवै वडाहरुमा किटनासक औषधि छर्कने, वडा अध्यक्षहरुमार्फत स्वास्थ्य अवस्थाको जानकारी लिने, माक्स लगाउने , घरबाट बाहिर नजाने भन्दै जनचेतना फैलाउने काम तीब्र पारिएको बताए ।
भारतबाट आफ्ना पालिकाहरुमा आएका मध्ये नारायण नगरपालिका दैलेखमा १ सय ३० जना, डुङ्गेश्वर गाउँपालिकामा ४७ जना, भगवतीमाई गाउँपालिकामा ३५ जना, चामुण्डा बिन्द्रासैनीमा ४९ जना, गुराँस गाउँपालिकामा २७ जना, ठाँटीकाँधमा १ सय ५६ जना, महावुमा ९ जना गरेर ९ सय बढी व्यक्तिहरु दैलेख आएका छन् । अन्य पालिकाहरुको बिवरण भने अँझै आउन बाँकी छ । दैलेखमा ४ नगरपालिका र ७ गाउँपालिका रहेका छन् ।
भारतमा रोजगारी गर्नेहरु दैलेखमा धेरै भित्रिएका कारण दैलेखमा सुरक्षा तयारी तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी युवराज कटटेलले जानकारी दिएका छन् ।
एकै परिवारका १६ जना बिशेष निगरानीमा
दैलेखको आठविस नगरपालिकाका एकै परिवारका १६ जनालाई क्वारेन्टाइन र आइसुलेसनमा राखिएको छ । परिवारका २ जनालाई आईसुलेसन र १४ जनालाई क्वारेन्टाइनमा राखिएको हो । दैलेखको पश्चिम क्षेत्रमा पर्ने आठविस नगरपालिकामा कामको खोजीमा भारत गएकाहरु गाउँमा पर्कने क्रम बढेसँगै भारतबाटै आएका परिवारका दुईजनालाई निरन्तर ज्वरो आएपछि २ जनालाई आईसुलेसनमा राखिएको छ । परिवारका अन्य १४ जनालाई क्वारेन्टाइनमा राखिएको हो । २ जनाको कारोना जाँचका लागि नमूना पाठाइएको छ । दुल्लू नगरपालिकाकाे भानेश्वर मा.वि.मा २० जना क्वाेरेन्टाइनमा छन् ।
जिल्लाका बिभिन्न स्थानहमा १ सय ३८ वेडको क्वारेन्टाईन निर्माण गरिएको छ । ३३ वटा आईसोलेसन बेड तयार भएका छन् ३ वटा हाईकियर यूनिट तयार भएको सहायक प्रमुख जिल्ला अधिकारी ईन्द्रबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।

भारतबाट पर्कनेहरुको संख्या ९ सय पुगिसकेको भएपनि क्वारेन्टाइनमा बस्नेहरुको संख्या भने अहिले सम्म ३६ जना मात्र रहेको छ । अन्य सवैलाई पालिका स्तरमा रहेका जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरुको निगरानीमा राख्ने निर्देशन जिल्ला प्रशासन कार्यालय दैलेखले दिएको भएपनि चुनौती बढ्न सक्ने भन्दै स्थानीयहरु त्रसित बनेका छन् ।











