
दैलेखमा भारतबाट आएका व्यक्तिहरूको तत्थ्याँक हेर्ने हो भने १५ सय बढी छ । अहिले सरकारले थालेको ¥यापिड टेस्ट अन्तरगत भारत वा अन्य देशबाट दैलेख आएकाहरुलाई चेक जाँच तीव्र पारिएको छ ।
आइतबार सम्म ३ सय ३ जनाको परीक्षण सम्पन्न भएको र सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दैलेखले जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालय दैलेखका सूचना अधिकारी थीरप्रसाद रेग्मीले पालिका पालिकामा ¥यापिड टेस्टका लागि टोलिनै खटिएको बताएका छन् । जिल्ला सदरमुकाम दैलेखमा पनि शङ्का लागेका बिरामीहरुलाई चेक गरिएको छ । विशेष गरेर तेस्रो मुलुक र भारतबाट आएकाहरुमा निगरानी बढाएको रेग्मीले जानकारी दिएका छन् ।
दैलेखबाट पटाइएका ८९ वटा स्वाब संकलनको रिपोर्ट नेगेटिभ आएको र ¥यापिड टेस्ट अन्तरगत दैलेखमा आइतबार २ सय १४ जनाको चेक जाँच गरिएको हो ।
कोरोना संक्रमण बढ्दै जान थालेपछि सुरक्षाका लागि निर्माण गरिएका दैलेखका ९ सय ५० बेड क्वारेन्टाइन आइतबार देखि खाली हुने अवस्थामा छन् । दुल्लूमा ५ र नारायण क्याम्पसमा २ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको छ ।
सामान्य संक्रमणको लक्षण देखिएका र विदेशबाट दैलेख जिल्लामा आएका व्यक्तिहरूलाई कम्तीमा १४ दिन सम्म राख्नका लागि विभिन्न ३७ स्थानमा निर्माण गरिएका क्वारेन्टाइनहरू दैलेखमा लगभग खाली हुने अवस्थामा रहेका हुन् ।
लक डाउनमा पनि भारतबाट चोरी मार्ग प्रवेश गर्नेहरु घटेनन्
सवारी साधनहरु सञ्चालन नहुँदा नेपालगन्जदेखि नुन बोकेर ल्याउने चलन दैलेखमा धेरै थियो । तत्कालीन समयमा हाट जाने चलन झैँ गरेर भारतका विभिन्न नाकाहरुबाट चोरी मार्ग प्रयोग गर्दै आएकाहरु नेपालगन्जबाट हिँडेर दैलेख सम्म आउने गरेका छन् । करिब ४ दिन देखि ५ दिन सम्म पैदल यात्रा गरेर दैलेख आउनेहरुको क्रम नरोकिएकोले जोखिम उत्तिकै रहेको भन्दै सबैलाई सुरक्षित रहन र विदेशबाट आएका व्यक्तिहरू भए तत्काल स्थानीय सरकारसँग समन्वय गर्न जिल्ला स्वास्थ्य कार्यालय दैलेखले आग्रह गरेको छ ।









