
लकडाउनको कारण काठमाडौँमा अलपत्र परेका दैलेखका ६ सय भन्दा बढी नागरिकहरुलाई उद्धार गरिएको छ । काठमाडौँ अध्ययन गर्ने विद्यार्थी, उपचारका लागि गएका नागरिकहरू र अन्य कामको सिलसिलामा गएका ११ वटै पालिकाका नागरिकहरुलाई उद्धार गरिएको नेकपाका केन्द्रीय सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् । कोठा भाडामा बसेका विद्यार्थीहरूलाई खाना समस्या सँगै अन्य कामको सिलसिलामा काठमाडौँ गएका मजदुरहरूको गुनासो तीव्र भएपछि नेकपाका नेताहरु, प्रदेश सांसद, सङ्घीय सांसदहरु र दैलेखी सेवा समाज काठमाडौंको पहलमा उद्धार कार्य सुरु गरिएको नेकपा दैलेखका पार्टी अध्यक्ष एवं सङ्घीय सांसद रविन्द्र शर्माले जानकारी दिएका छन् ।
दैलेखका ११ वटै स्थानीय तहका मानिसहरू काठमाडौँमा अलपत्र भएपछि यसको उद्धारका लागि विभिन्न व्यक्तिहरूलाई जिम्मेवारी प्रदान गरिएको थियो । सोही आधारमा उद्धार गर्दा लागेको खर्च सम्बन्धित स्थानीय निकायले तिर्नुपर्ने नीति अनुसार गाडीमा ६ सय बढी नागरिकहरू आइतवार सम्म दैलेख आइसकेका छन् ।
गुराँस गाउँपालिकाले देशभरी अलपत्र परेका १ सय ६० जना नागरिकलाई उद्धार गरेको बताएको छ । काठमाडौँ वाट ३८ जना र पर्वत मा ज्यालादारी काम गर्दै आएका १४ जना, सुर्खेतमा अलपत्र परेका ४३ जना र अन्य विभिन्न स्थानमा रहेका १ सय ६० जनालाई ल्याइएको गाउँपालिकाका अध्यक्ष खेमराज ओलील बताए ।
दुल्लू नगरपालिकामा १ सय जना बिभिन्न स्थानबाट आईसकेको बताइएको छ । ठाँटीकाँध गाउँपालिकामा ७० जना उद्धार गरेर ल्याइएको गाउँपालिका अध्यक्ष धिर बहादुर शाहीले जानकारी दिएका छन् । पालिकामा ७२ जनालाई क्वारेन्टाइनमा राखिएको शाहीले बताएका छन् ।
दैलेखी सेवा समाज काठमाडौंले यो लकडाउन समय अबधीभरी बिभिन्न काममा आएर समस्यामा परेकालाई स्वास्थ्य सामग्रीहरु लगायत राहत बितरण गर्दै आएको दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाहीले बताएका छन् । मनघरी फाउण्डेशनले पनि स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ ।
यात्रु ल्याएका बस चालक खाली हात फिर्ता ः
नारायण नगरपालिकाका ७३ जनालाई २ बस भरेर सङ्घीय समानुपातिक सांसद पार्वती बिशुन्के लगायतले दैलेख पठाए । यात्रुहरुको उद्धार भयो तर यात्रु ल्याएर आएका २ वटा सवारी साधनले भने रकम पाएनन् । उनिहरूले १ लाख ३० हजार पाउनुपर्ने अडान लिएका थिए । नारायण नगरपालिकाले खर्च तिर्नुपर्ने भनेर यात्रु ल्याइएको रहेछ । केही समय विवाद भयो, माननीयहरुले एक पटक पनि सहजीकरणका लागि फोन गर्नुभएन, कार्यपालिका बैठक पछि मात्र निर्णय गर्न सकिने नारायण नगरपालिका नगरप्रमुख रत्नबहादुर खड्काले जानकारी दिए । खर्च तिर्नुपर्ने जिम्मेवारी लिएको पालिकालाई जानकारी नगराएरै धमाधम घर पठाउने, सांसदहरुको कार्य मन परेन, एकपटक फोन गरिदिएको भए दैलेखमा अलपत्र भएकाहरुको लिस्ट तयार गरेर दुवै तर्फका जनताहरुलाई सहजिकरण गरे लिने ल्याउने काम गरौंला भन्दा भन्दै एकलौटी व्यवहार मन नपरेको खड्काको भनाई छ ।
सांसद पार्वती बिशुन्केले सवै पालिकाहरुले रकम तिर्ने सल्लाह अनुसार अलपत्र नागरिकहरुको उद्धार गरेर पठाएकोले नगरपालिकाले नै रकम तिर्नुपर्ने बताएकी छन् ।
काठमाडौँमा रहेका दैलेखका नागरिकहरुको उद्धारमा भैरवी गाउँपालिकाका लागि नेकपाका केन्द्रीय सदस्य विष्णु रिजाल, गुराँस गाउँपालिकाका लागि टोपबहादुर बिसी, भगवतीमाई र डुंगेश्वरका लागि धर्मराज रेग्मी र हिक्मत थापा रहनु भएको छ । यस्तै नारायण नगरपालिका लागि पार्वती विशुन्के, महाबुका लागि रवीन्द्रराज शर्मा र नन्द विष्ट, नौमुलेका लागि नरबहादुर हमाल र प्रताप शाही, दुल्लु गरपालिकाका लागि विनोदकुमार शाह, चामुण्डाका लागि शेरबहादुर रावत, ठाटिकाध र आठबिस नपाका लागि सुस्मिता सिंह, राजबहादुर बुढा, तर्कबहादुर शाही उद्धार टोलीमा रहनु भएको छ् ।
काठमाडौंबाट आएकाहरुलाई सांसद थापाले पानि र नास्ता खुवाए ।
प्रदेश सभा सदस्य अमर बहादुर थापाले काठमाडौंबाट दैलेख आएका यात्रुहरुलाई बाटोमा पानी, चिउरा, बिस्कुट सँगै मास्क र सेनिटाइजर समेत बितरण गरिएको छ ।
अम्मरबहादुर थापा सहित, भक्त बिसी, हिम शर्मा लगायतको टोलिले सहयोग गरेको हो ।
नौमूले गाउँपालिकाले काठमाडौं लगायत बिभिन्न स्थानहरुमा अलपत्र रहेका आफ्ना यात्रुहरु लिनका लागि दुईवटा बसहरु काठमाण्डौं तर्फ पठाउने काम गरेको छ । बिभिन्न स्थानमा अलपत्र यात्रुहरुलाई उद्धारका लागि पालिकाबाटै २ वटा बस पठाईएको गाउँपालिका अध्यक्ष भदे बुढामगरले जानकारी दिएका छन् ।










