बाँझो बारी प्रयोगमा ल्याउँदै कृषि कार्यालय बिदेश गएका युवाको समूह बेसार खेती गर्दै

सजिलै कमाई हुने र हातहातमै पैसा चाहिने जमाना आएपछि दैलेखका धेरैजसो खेत वारी बाँझै छन् । बाली लगाएर ६ महिना सम्म कुर्नुपर्ने , दुःख धेरै हुने भन्दै खेतबारी बाँझो छोडेर छिमेकी मुलुक भारत वा अन्य स्थानमा कामको खोजीमा जाने प्रचलन यो वर्षबाट धेरै मात्रामा कमि आउने देखिएको छ ।
कोरोना संक्रमण सँगै लकडाउनमा घर बसेका व्यक्तिहरु र अन्य विदेश गएका युवाहरु अव विदेश नजाने भन्दै गाउँमै बाँझा बारीमा उत्पादन सुरु गर्ने अभियानमा छन् ।
करिव ५ वर्ष अघिदेखि बाँझो रहेको जमिनमा अहिले दैलेखको नारायण नगरपालिका वडा नं. ९ का युवा र युवतीहरु सामुहिक रुपमा बेसार खेतीको तयारीमा छन् । बाँझो जमिन जोत्न गोरु सँगै हाते ट्याक्टरको समेत प्रयोग गरिएको छ ।
लक डाउनको समयमा समेत सामुहिक रुपमा बारी मिलाउने, मल छर्कने र बेसार लगाउने काममा युवा र युवतीहरु जुटेका छन् । कतिपय बिदेश बसेर नेपाल फर्केका युवाहरु समेत सामुहिक खेतीमा लागेका छन् ।
३ वर्षसम्म साउदी अरवमा बसेर घर फर्केका नारायण नगरपालिका ९ का रबि थापा समेत बाँझो खेत जोत्दै बेसार लगाउने तयारीमा छन् । उनकै अध्यक्षतामा समूह निर्माण गरिएको छ । अब विदेश जाने सवै युवाहरुले आफ्नै गाउँको आर्थिक अवस्था सुधार गर्नका लागि बाँझो जमिनको सदुपयोगमा लाग्नुपर्ने बताए ।
अहिले नारायण नगरपालिका वडा नं. ९ को साँडुमा करिव १ सय रोपनी जग्गामा बेसार र अदुवा खेतीका लागि ३ वटा समूह निर्माण गरिएको छ । कुल ५२ जना सदस्यहरुले सामुहिक बेसार र अदुवा खेती सुरु गरेका छन् । कर्णाली प्रदेश सरकार अन्तरगत सांसदहरुले खर्च गर्ने रकम मध्येबाट ४० लाख रकम यो अभियानका लागि बिनियोजन गरिएको छ । अति बिपन्न, गरिव, दलित र जनजाती समुदायहरुको आर्थिक अवस्था सुधार गर्न र बाँझो जमिनको सदुपयोग गर्न यस्तो अभियान थालिएको कर्णाली प्रदेश सभा सदस्य मिनासिंह रखालले जानकारी दिएकी छन् ।


नारायण नगरपालिका दैलेखले किसानहरुले उत्पादन गरेका बस्तुहरु बिक्रि बितरण वा बजारको समस्या भएमा आफैले खरिद गरिदिएर किसानको मूल्य दिने भएकोले युवा किसानहरु बाँझो बारीको सदुपयोग गर्दै उत्पादनमा लाग्न नगर प्रमुख रत्नबहादुर खड्काले सुझाव दिएका छन् ।
लकडाउनको अवधिमा समेत अहिले स्थानीय युवाहरु समूहमा आवद्ध भएर कृषि खेतीतर्फ लाग्नु र बाँझो बारीको सदुपयोग गर्नु निकै राम्रो काम भएकोले अब कृषि गर्नेहरुलाई सरकारले पेन्सन उपलब्ध गराउने कुरालाई प्राथमिकता दिनुपर्ने जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले सुझाव दिएका छन् ।
दैलेखमा कुल ४३ हजार १ सय २१ हेक्टर कृषि उत्पादन योग्य जमिन रहेको मध्ये ३४ हजार ९ सय १३ हेक्टर जमिनमा खेती भएको छ । ८ हजार २ सय ८ हेक्टर जमिन अहिलेपनि बाँझो रहेको कृषि बिकास कार्यालय दैलेखका कार्यालय प्रमुख तीलक पाण्डेले जानकारी दिएका छन् ।
कर्णाली प्रदेश सरकारले कोरोना भाइरस कोभिड १९ को सुरक्षाका लागि गरिएको लक डाउन सँगै उत्पन्न हुने खाद्यान्न संकट समाधानका लागि बाँझो जग्गा सदुपयोग गर्ने अभियानलाई प्रभावकारी बनाउँदै लग्ने बताएसँगै दैलेखमा पनि यो अभियानलाई तीब्र पारिदै गएको पाण्डले जानकारी दिएका छन् ।
दैलेखका बाँझो जग्गामा अहिले बेसार, अदुवा, कफि र टिमुर खेतीमा आर्कषण बढाउनुपर्ने देखिएको छ । बिदेश गएर घर फर्केकाहरु पनि अव बिदेश नजाने र घरमै पौरख गर्ने भन्दै जमिन सदुपयोग गर्ने अभियानमा लागेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार