नारायण नगरपालिका दैलेखका १ सय ५० जना युवाहरुलाई गाउँमै रोजगारी दिने तयारी भएको छ । कोरोना संक्रमणको जोखिममा परेका मध्ये सबैभन्दा बढी गरिव, बिपन्न र स्यवं कोरोना संक्रमित भएर पनि कोरोना जितेका १ सय ५० जनाको खोजी गरेर गाउँमै रोजगारी दिने अभियान सुरु भएको हो । नारायण नगरपालिका दैलेख जिल्ला लघुउद्यमी समूह संघ डि मेगा दैलेखको संयुक्त आयोजनामा नारायण नगरपालिका भित्रका ६ वटा वडाहरुमा पहिलोपटक यो कार्यक्रम लागु गरिएको हो ।
कार्यक्रम अन्र्तगत सिस्नो प्रशोधन, अल्लो प्रशोधन, व्यवासायिक तरकारी खेती, स्थानीय जातको कुखुरापालन, लगायतका कामहरुको बारेमा अवस्था बिश्लेषण गरेर सोही अनुसारको काममा लगाउने तयारी सुरु गरिने लघुउद्यमी समूह संघ डि मेगा दैलेखका अध्यक्ष कविराज खत्रीले जानकारी दिएका छन् । कोभिड १९ बाट प्रभावित अति कमजोर वर्गको आयआर्जन सुरक्षित गर्न लागि संयुक्त राष्ट्रसंघ यूएनडिपिको आर्थिक सहयोगमा सिघ्र पहल कार्यक्रम अन्तरगत यो अभियानको सुरुवात गरिएको हो । मंगलवार नारायण नगरपालिका दैलेखमा निर्वाचित जनप्रतिनिधिहरुको रोहवरमा कार्यक्रमको जानकारी गराईएको छ ।
आगामी तीन महिनाभित्र प्रतिफल देखिने गरि दैलेखमा काम गर्ने तयारी सुरु भएको जिल्ला लघुउद्यमी समूह संघ डिमेगा दैलेखका अध्यक्ष एवं उद्यमी कविराज खत्रीले जानकारी दिएका छन् । हामिले नेपालमै नमूनाको रुपमा दैलेखको नारायण नगरपालिकामा प्रशोधन केन्द्र स्थापना गर्ने तयारी गरेका छौं । यसले सयौं युवाहरुलाई भोलिका दिनमा रोजगारी सृजना हुने छ । यो अभियानमा जिल्लाका युवा उद्यमी, स्थानीय सरकार सबैले सहयोग गर्नुपर्ने खत्रीको भनााई छ ।
कोरोना संक्रमणबाट प्रभावित मध्ये नारायण नगरपालिका वडा नं. १ मा औधोगिक ग्राम निर्माण गर्ने तयारी थालिएको छ । यो सँगै वडा नं. ३, १०,११,७ र ८ का कोरोना प्रभावित व्यक्तिहरु मध्ये सवैभन्दा गरिव र बिपन्न व्यक्तिहरुको छनौट गरेर पहिलो चरणमा १ सय ५० जना युवाहरुलाई उद्यमी सँगै रोजगारी प्रदान गर्ने तयारी भएको छ भने बाँकी रहेका ५ वटा वडाका अन्य युवाहरुलाई पनि नयाँ कार्यक्रम यसै बर्षबाट सुरु गरेर उद्यमी बनाउने तयारी भएको नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्नबहादुर खड्काले जानकारी दिएका छन् ।
कर्णाली प्रदेश पर्यटन मन्त्रालय अन्र्तगत यूएनडिपि प्रादेशिक लघुउद्यम विकास बिशेषज्ञ दिपक गर्तोलाले कोभिड १९ को समस्यामा परेका युवाहरुलाई तत्कालै उद्यमी निर्माण गरेर उनिहरुको जिवीकोपार्जन गर्ने कार्यक्रम दैलेखमा लागु गर्न लागिएको बताएका छन् । यो कार्यक्रमले स्थानीय स्तरमै रहेका कच्चा पदार्थहरुको प्रशोधन, उत्पादन र व्यवस्थापनमा युवाहरुलाई सक्रिय बनाउँदै बजारसँगको समन्वय बिस्तार गरिदिने काम सुरु गरिने छ । स्थानीय उद्यमीहरुको संस्था डिमेगा र नारायण नगरपालिकाले समेत यो अभियानलाई प्रभावकारी बनाउन सके राम्रो प्रतिफल प्राप्त हुने गर्तौलाको भनाई छ ।
बिशेष गरेर दैलेखका बिभिन्न भू–भागहरुमा प्रसस्त उत्पादन हुने सिस्नो र अल्लो प्रशोधनका कार्यक्रमहरु पहिलो चरणमा लागु गरिने र सवैले आ आफ्नो क्षेत्रबाट रोजगारी प्राप्त गर्न सक्ने वातावरण तयारी गर्ने परियोजनाको लक्ष्य रहेको छ । दैलेखको नारायण नगरपालिकामा करिव २ हजार बढी युवाहरु अहिले भारतबाट जिल्लामा आएका छन् भने २ सय ८ जना कोरोना संक्रमित भएपनि कोरोना जितेर घर फर्किएका छन् ।









