कम्युनिष्टहरु कमाउनिष्टमा लागेपछि जनमतको कदर भएनः पौडेल


फागुन ३, दैलेख
नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिष्टहरु कमाउनिष्टमा लागेपछि जनमतको कदर नभएको बताएका छन् । जनताबाट पुरापुर बहुमत पाएका कम्यूनिष्टका नेताहरु पद र पैसाका लागि लडेका छन । जनताका लागि भन्दा कमाउनिष्ट धन्दा बढी भएको छ । आफ्नो पक्षमा सत्ता कुर्ची, पद र भागबन्डा नभएको भन्दै आपसमा विवाद गरेका छन् । कम्युनिष्टहरुको यो विवादले जनताले दिएको जनमतको खिल्ली उडाएको नेता पौडेलले बताए । सोमबार नेपाली काँग्रेस दैलेखले जिल्लामा गरेको बृहत् प्रदर्शन सँगैको विरोध सभामा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् । पौडेलले भने “संविधान र गणतान्त्रिक लोकतन्त्रको रक्षा कम्युनिष्टबाट कहिल्यै हुन सक्दैन हिजोदेखि नै जनता र लोकतन्त्रको रक्षा गर्ने पार्टी एउटामा मात्र पार्टी नेपाली काँग्रेस हो ।”
नेकपाले चुनावताका नेपाली जनतालाई झा आश्वासन दिएर भोट लियो, घर घरमा ग्याँस पु¥याउने भन्यो, पानी जहाजका सपना बाँड्यो, जनमत पाउँदा पनि केही नेताहरु दलाल प्रवृत्तिमा लागे, केही प्रतिगमनमा लागे जनताले धोका पाए यसैको विरुद्ध नेपाली काँग्रेस सडकमा आउनुपरेको पौडेलको भनाई छ ।
कम्यूनिष्टहरुले जनमतको कदर गर्ने नै थिए भने नेपाली जनताले दिएको दुईतिहाई बहुमतको कदर नगरी प्रतिनिधि सभा विघटन किन भयो, एक आपसमा कुर्ची, पैसा, पदमा पुग्न किन नेताहरु दलाल बने पौडेलले प्रश्न गरेका छन् । बाँदरलाई मकै गोठाला बनाएर सुली तयार नहुने रहेछ जनताले बुझिसकेका छन् । यसको जवाफ आगामी दिनहरूमा जनताले दिने नै छन् ।
संविधानका कुनै धारामा पनि प्रतिनिधि सभा विघटन गर्ने उल्लेख गरिएको छैन । तर प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरी जनमत र संविधानको खिल्ली उडाएको पौडेलको भनाई छ ।
विरोध सभामा बोल्दै नेपाली काँग्रेस कर्णाली प्रदेशका सचेतक एवं प्रदेश सभा सदस्य हिमबहादुर शाहीले कम्यूनिष्ट पार्टी भनेर सडकमा बुरुक्क बुरुक्क गर्ने ओली र प्रचण्ड माधव समूह दुईवटै कुखुरा चोर शैलीमा उत्रिएको बताएका छन् । “अहिले प्रचण्ड माधव नेपाल समूहले ओलीको कदम असंवैधानिक र प्रतिगमन भनेर सडक तताएका छन् तर दुईवटै कुखुरा चोर हुन् । फ्याउरो र स्याल दुवैको काम कुखुरा चार्ने हो आवाज मात्र फरक हो शाहीले भने ।”
नेविसंघका महामन्त्री बलदीप तिमिल्सेनाले अहिलेको सरकार जनताको अधिकार रक्षाका लागि नलागेको आरोप लगाएका छन् उनले भ्रष्टाचार, बलात्कार जस्ता अपराधमा संलग्नलाई कारबाही हुन नसकेको बताए, कम्युनिष्ट सरकार आए, जनताले अधिकतम सेवा पाउने आशा गरेको भएपनि कमाउनिष्टमा लागेर पद र पैसामा अल्झेर जनमतको कदर नभएको आरोप लगाएका छन् ।
जिल्लाका ११ वटै स्थानीय तहबाट नेपाली काँग्रेसका नेता कार्यकर्ता विरोध सभामा सहभागी भएका थिए । सभालाई जिल्ला स्तरका अधिकांश नेताहरुले सम्बोधन गरेका थिए, सदरमुकामको गणेश चोकबाट निकालिएको असंवैधानिक कदम विरुद्धको जुलुस लोकतान्त्रिक चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार